कोरोनाको दोस्रो लहरले अहिले बिश्वका विभिन्न क्षेत्रहरू अस्तब्यस्त भइरहेको अवस्थामा शिक्षा क्षेत्र पनि अछुतो रहन सकेन । विश्व स्वास्थ्य संगठनले घोषणा गरे अनुरुप कोभिड नियन्त्रण हुन अझै २ बर्ष लाग्न सक्छ । त्यसमा पनि अहिले कोरोनाकोका नयाँ- नयाँ प्रजाति देखापरिरहेकाछन र तिनीहरुको सङ्क्रमण पहिले भन्दा आक्रामक देखिएको छ । विज्ञहरुले तेस्रो र चौथो लहर पनि आउन सक्ने सम्भावना रहेको बताउदै आइरहेका छन । यस विषम परिस्थितिमा मानव जिबनको रक्षा गर्नु सबैभन्दा महत्त्वपूर्ण कुरा हो । कोभिडको कारण गत बर्ष लगभग ८ देखी ९ महिनासम्म बिद्यालय र बिश्वबिद्धालयहरु भौतिक रूपमा बन्द रहे । यो बर्ष पनि यसको प्रभाव कति सम्म रहने हो एकिन गर्न सकिने अवस्था छैन् । अहिलेको अवस्थामा शहरका निजि बिद्यालयले अनलाईन सिकाइ पद्धतिलाइ अवलम्बन गरेका छन भने केहि सामुदायिक बिद्यालयले पनि सिमित श्रोत र साधनका बावजुत विद्यार्थीको सिकाइ प्रक्रियालाइ निरन्तरता दिने प्रयास गरिरहेका छन् । विश्वका विभिन्न कोरोनाले प्रभावित रास्ट्रहरु जस्तैः इट्लि , जर्मनी , अस्ट्रेलिया ,बेलायत र अमेरिकाले दुर सिकाइका माध्यमद्वारा सिकाइ सुनिस्चित गरिरहेका छन । भारतले विभित्र भाषामा हजारौं अनलाइन कोर्सहरु प्रदान गर्दै आइरहेको छ । चिनले सम्पुर्ण प्रान्तीय र रास्टिय इन्टरनेट सेवा प्रदायक संस्थाको क्षमता वृद्धि गरि शतप्रतिशत अनलाइन सिकाइलाइ शुनिस्चितता गरेको छ । त्यसैलाईगरि इन्डोनेसिया र मलेसियाले विद्यार्थीलाइ शिक्षा सम्बन्धि विषयबस्तु प्रसारण गर्ने छुट्टै टेलिभिजन च्यानलको शुरूवात गरेको छ । तर हाम्रो जस्तो पुर्बाधारको अभाव , भौगोलिक विकटता र प्रबिधिको ज्ञानको अभावका कारण देशको सबै ठाउँमा प्रबिधिको प्रयोग गरि अनलाइन शिक्षण सिकाइ क्रियाकलाप संचालन गर्न सहज छैन ।
बहुसंख्यक बिधालयहरुले अहिले पनि पुर्ण रुपमा बन्द छन र शिक्षक बिधार्थिहरु घरमा त्यत्तिकै बसिरहेको अवस्था छ । यस्तो परिस्थितिमा शैक्षिक संस्थाहरु बन्द भएपनि सिकाइ बन्द हुनुहुदैन भन्ने मान्यता सम्पुर्ण सरोकारवालाहरुमा हुन जरुरी छ । यस्तो अवस्थामा यसरी पनि सिकाइलाइ पनि निरन्तरता दिन सकिन्छ ।
१) प्रायः शिक्षकहरु सोसल मिडियाको रुपमा फेसबुक चलाउनुहुन्छ र विधार्थि तथा अभिभावक मध्य घरमा एक न एक जना फेसबुक नचालाउने कमै हुन्छन् । फेसबुकमा समुह सिर्जाना गरेर शिक्षकले प्रश्न अथवा परियोजना कार्यहरु त्यो समुहमा पठाउने र विधार्थिले त्यसको उत्तर अथवा परियोजना कार्य तयार गरेर त्यसै समुहमा पठाउने , शिक्षकले आवश्यक पृष्ठपोषण प्रदान गरेर सिकाइ गर्न सकिन्छ । यस्ता कार्यहरू हरेक दिन गर्न सम्भव नभएपनि एउटा विषयको हप्तामा १/२ पटक सम्भव हुन्छ ।
२) शिक्षा बिज्ञान तथा प्रबिधि मन्त्रालयले learning Portal को माध्यद्वारा सिकाइका विभिन्न सामाग्रीहरु जस्तैः अडियो, गेम र इ-पुस्तकको व्यवस्था गरेको छ । यस्ता सामाग्रीहरु डाउनलोड पनि गर्न सकिने भएकाले विद्यार्थीलेलाइ स्व: सिकाइका लागि प्रेरित गर्ने र आवश्यक परेमा सम्बन्धित विषयका शिक्षकसंग फोनमा सम्पर्क गरेर समस्याको समाधान गर्ने व्यवस्थाको बारेमा पालिकाले अगुवाइ गरेर विद्यालय मार्फत संचालन गर्न सकिन्छ ।
३. अहिले विभिन्न स्थानीय रेडियो स्टेशनहरुले विभिन्न दुर सिकाइ कार्यक्रम संचालन गरिरहेको र नगरेको ठाउँमा संचालन गरेर, यसबारे विद्यार्थी र अभिभावकलाइ जानकारी गराइ सिकाइलाइ निरन्तरता दिन सकिन्छ । अहिले रेडियोबाट संचालित दूर सिकाइ कार्यक्रमहरु मनोरञ्जनात्मक तरिकाले प्रस्तुत गरिने भएकाले विद्यार्थीको सिकाइमा रुचि बढ्न सक्छ । यो विधि विकट र इन्टरनेटको सुबिधा नभएको ठाउँमा पनि संचालन गर्न सकिन्छ ।
४. जुन ठाँउमा विद्यार्थी र शिक्षकहरु ईन्टरनेटको पहुँचमा छन् ,त्यस्तो ठाउँमा पनि अनलाइनको माध्यमबाट शिक्षण संचालन गरेको पाइदैन । यस्तो ठाउँमा शिक्षकहरुलाइ Zoom, Google Meet, Moodle, Microsoft Teams वा LMS मध्ये कुनै एउटाको बारेमा पालिकाले अनलाइन माध्यमबाट भएपनि तालीमको व्यवस्था गरेर सजिलै अनलाइन सिकाइ संचालन गर्न सकिन्छ ।
५) होमस्कुलिङ संचालन गरेर पाठ्यपुस्तकका अतिरिक्त अन्य सहयोगी सामग्रीहरु उपलब्ध गराएर पनि सिकाइको सुनिश्चितता गर्न सकिन्छ। यो बिधि रेडियो, टेलीभिजन र ईन्टरनेटको पहुँच नभएको ठाँउमा पनि उपयुक्त हुन्छ र शिक्षकले आवश्यक सहजीकरण गरेर सिकाउन सकिन्छ।
६) सरकारले शिक्षक र विध्यार्थीलाई सियुजी सिम नि:शुल्क वितरण गर्ने र मासिक आवश्यक भ्वाइस प्याक र डाटा सरकारले व्यहोर्ने गरि अर्थ मन्त्रालयले स्थानीय तहलाई रकम विनियोजन गर्ने कार्ययोजना रहेकोले यसको प्रभावकारी कार्यन्वयन गरि, फोनबाट पनि शिक्षण सिकाइ संचालन गर्न सकिन्छ।
७) सिकाइमा फोनको प्रयोग सम्बन्धमा देविराम आचार्य (२०७७) का अनुसार पालिकाले सम्भव भएसम्म सबै बिद्यालयमा टोल फ्री ( फोन गर्दा पैसा नलाग्ने) फोन उपलब्ध गराएर कक्षा र बिषयअनुसार विद्यार्थीलाई फोन गर्ने समय उपलब्ध गराई त्यसमा शिक्षकले सहजीकरण गर्न सक्छ। साथै रेडियोबाट पाठ प्रसारण भइरहेकोे समयमा विद्यार्थीको जिज्ञासा मेटाउन रेडियोमा पनि टोल फ्री फोनको ब्यबस्था गर्न सकिन्छ।
८) शेषकान्त पण्डित (२०७७) का अनुसार सामुदायिक बिद्यालयमा अध्यापन गराउने १ प्रतिशत शिक्षक मात्र प्राविधिसंग जोडिएर पढाउन सक्छन् र वि.स. २०७७/७८ सालमा अर्थ मन्त्रालयले गरेको सर्बेक्षेणमा १२ प्रतिशत विद्यालयमा मात्रै ICT मा आधारित सिकाइ संचालन गर्ने क्षमता राख्छन्। त्यसैले शिक्षकलाई प्राविधि सम्बन्धि तालिम उपलब्ध गराएर विद्यार्थीलाई पढाउन सक्ने क्षमताको विकास गर्न बिलम्ब गर्नु हुदैन र सम्भाव भएका विद्यालयमा ईन्टरनेटको व्यवस्था जतिसक्दो छिटो गर्नु जरुरी छ।
सबै विद्यार्थी र शिक्षकले कोरोनाको खोप नपाएसम्म परम्परागत प्रत्यक्ष साक्षात्कारमा आधारित सिकाइ प्रणाली अवलम्बन गर्न कठिन छ । यस्तो अवस्थामा शिक्षक र विद्यार्थीलाइ खोपको पहिलो प्राथमिकतामा राख्न जरुरी छ भने जुन ठाउँमा जसरी सकिन्छ , बैकल्पिक माध्यम अपनाएर भएपनि न्युनतम सिकाइ सुनिश्चित गर्न जरुरी छ । विद्यार्थीलाइ सिकाइसंग निरन्तर जोडिराख्न मात्रै सकेपनि, विद्यार्थीले खालि समयको दुरुपयोग गरि कुलतमा फस्ने गलत बाटो अगाल्नुका साथै सिकाइप्रतिको चाख बिस्तारै हराउँदै जान सक्ने अथवा सिकाइबाट बिमुख हुनसक्ने सम्भावनालाइ केहि हदसम्म भएपनि रोक्न सकिएला । यसको लागि राजनीति प्रतिबद्धता , प्रशासन , शिक्षक , विद्यार्थीको र अभिभावकको अग्रसरता साथै नागरिक एवम् सरोकारवालाको आवश्यक दबाब जरुरी छ । कोभिड रोकिएला र अवस्था सामान्य भएपछि सिकाइ प्रक्रिया संचालन गरौंला भनेर कुरेर बस्ने समय सकियो । यसको तेस्रो र चौथो लहरको पनि सम्भावना भएकाले समयमै परिस्थितिको आकलन गरि विद्यार्थीको न्युनतम सिकाइ सुनिश्चितता गर्नका लागि सबैले आ-आफ्नो ठाउँबाट लाग्न जरुरी छ ।
लेखक KATH College काठमाडौमा अध्यापन गर्नुहुन्छ ।