कोरोनाको दोस्रो लहरका कारण नेपाल यतिबेला विश्वकै उच्च संक्रमण दर भएको मुलुकमा दरिन पुगेको छ । मुलुक पूर्ण लकडाउनमा गएको एक महिनापछि तीन दिनयता मात्र दैनिक संक्रमितको संख्याभन्दा निको हुने संख्या धेरै देखिन थालेको छ । एक सय माथिको मृत्यु र ८ हजारमाथिको संक्रमण संख्या गत एक महिनायताको नियति बन्न पुगेको छ ।
यसो हुनुमा नेपालले बेलैमा कोरोना विरुद्धको खोप खरिद र वितरणमा प्रगति नगर्नु मुख्य कारण रहेको विज्ञहरुको दावी छ । चार महिनाको अवधिमा नेपालले अहिलेसम्म जम्मा २७ लाख डोज खोप लगाएको छ । जुन विश्व बरियताको हिसाबले हेर्दा ५१ नम्बरमा हो ।
कोरोनविरुद्धको लडाइँमा मुख्य हतियार मानिएको खोपमा नेपालले किन प्रगति गर्न सकेन, खोपमा नेपालको अहिलेको अवस्था के हो ? खोप खरिदका लागि नेपालले केके गरिरहेको छ ? यी सबै कुराको नालीबेली हामीले यहाँ प्रस्तुत गरेका छौं ।
१. अहिलेसम्म खोप कति आयो ?
नेपालमा अहिलेसम्म जति पनि कोरोना खोप आएको छ, त्यो मध्ये १० लाख नेपालले भारतबाट किनेको हो भने अरु सबै अनुदान हो । सबैभन्दा पहिले भारतले नेपाललाई माघ ८ मा १० लाख खोप अनुदानमा दियो । त्यसपछि नेपालले भारतको खोप उत्पादक कम्पनी सेरम इन्स्टिच्युटसँग २० लाख खोप खरिदका लागि सम्झौता गर्यो र त्यसको अग्रिम भुक्तानी समेत गर्यो । २० लाख मध्ये सेरमले १० लाख खोप समयमा नै दियो । तर, भारतमा कोराना प्रकोप बढेपछि सेरमले दिनुपर्ने बाँकी १० लाख खोप दिएको छैन । अहिले पनि सो खोप खरिदका लागि नेपालले ताकेता गरिरहेको छ । भारतले १ लाख खोप नेपाली सेनाका लागि छुट्टै अनुदान दियो । यस बीचमा चीनले नेपाललाई ८ लाख खोप अनुदानमा दियो । शुरुमा तीन लाख घोषणा गरेको चीनले त्यसलाई बढाउँदै पछि ८ लाख पुर्याएको थियो । त्यसैगरी नेपालले कोभ्याक्स अन्तर्गत ३ लाख ४८ हजार खोप प्राप्त गरेको छ ।
२. अब अनुदानमा कति खोप आउँदै छ ?
चीनले नेपाललाई थप दश लाख खोप अनुदानमा दिने घोषणा गरेको छ । पुरै खोप आउन केही दिन लाग्छ । अब सम्भवतः चीनबाट अनुदानमा खोप आउने छैन किनभने चीनले दक्षिण एसियामा नेपाललाई सबैभन्दा बढी खोप अनुदानमा प्रदान गरेको छ । चीनले अनुदानमा बढी खोप दिएका कारण भारतले केही लाख अनुदानमा दिने सम्भावना रहेको अधिकारीहरु बताउँछन् ।
अब खोप अनुदानमा नेपालको अपेक्षा अमेरिकासँग हो । अमेरिकाले ८ करोड खोप बिभिन्न मुलुकलाई बाँड्ने घोषणा गरेकाले केही लाख खोप आफूले पनि पाउने अपेक्षा नेपालको छ ।
परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँगको कुराकानीमा अमेरिकाका उच्च अधिकारीले नेपाल खोपको प्राथमिकता रहेको बताएका छन् । त्यसैले अमेरिकाबाट नेपालले खोप अनुदानमा पाउने निश्चित छ तर, परिमाण यकिन छैन । त्यसैगरी नेपालले बेलायतबाट पनि केही खोप अनुदानमा पाउने अपेक्षा गरेको छ ।
३. कुन–कुन मुलुकसँग खरिद प्रक्रिया अगाडि बढाइएको छ ?
नेपालले खोप खरिदका लागि पत्राचार गर्ने, फलोअप गर्ने प्रक्रिया गत वर्षको डिसेम्बर महिनाबाट नै शुरु गरेको छ । खोप बन्दै गर्दा नेपाललाई चाहिने संख्या र प्राथमिकताको बारेमा कुराकानी भएको हो । तर, पछिल्लो समय खोप खरिदमा नेपालको अपेक्षा चीन र रसियासँग रहेको छ । परराष्ट्रमन्त्री ज्ञवालीका अनुसार सरकारले अमेरिकाबाट ५० लाख र चीनबाट ५० लाख खोप खरिदको प्रक्रिया अगाडि बढाएको छ । दुवै खरिद प्रक्रियामा अब केही दिनभित्रै ब्रेक थ्रु हुने मन्त्री ज्ञवालीको दावी छ ।
४. खोप खरिदका लागि के–के कानुनी अड्चन थिए, कसरी हटाइयो ?
खोप खरिदका लागि सरकारले बिभिन्न प्रयास गरेपनि अहिले कार्यान्वयनमा रहेको सार्वजनिक खरिद ऐनका प्रावधानहरु खोप खरिदका लागि अवरोधको रुपमा खडा थिए । तर, सरकारले अघिल्लो साता कोभिड सम्बन्धी अध्यादेश ल्याएर सो कानुनी अड्चनहरु खुला गरेको छ । जसअनुसार सरकारले अब जुनसुकै अन्तर्राष्ट्रिय निकायसँग सोझै खोप खरिद सम्झौता गर्नसक्छ । अध्यादेशको परिच्छेदमा २६ मा भनिएको छ, ‘खरिद सम्बन्धी प्रचलित कानुनमा जुनसुकै कुरा लेखिएको भएतापनि प्रचलित कानून बमोजिम प्रक्रिया अबिलम्बन गर्दा कोभिड–१९ को रोकथाम, नियन्त्रण, निदान वा उपचारमा वाधा पर्ने वा मानिसको जीउ, ज्यान जोखिममा पर्ने देखिएका तत्काल आवश्यक पर्ने औषधी, अक्सिजन, स्वास्थ्य सामाग्री, उपकरण वा खोप उत्पादक वितरक, आधिकारिक विक्रेता वा अन्तरराष्ट्रिय संस्थासँग सोझै खरिद सम्झौता गर्न सकिनेछ ।’
सो प्रावधान अनुसार खोप विदेशमा रहेको नेपालको कूटनीतिक निकायले सिधै खरिद गर्न सक्नेछ । साथै, सरकारले जमानतविना अग्रिम भुक्तानी समेत गर्न सक्नेछ र खरिदका लागि वार्षिक योजना बनाउन आवश्यक छैन ।
५. भारतसँग खोप किन्न असम्भव हो ? सरकारको अपेक्षा के छ ?
यतिबेला भारत आफैं संकटमा परेकाले सरकार भारतसँग खोपका लागि धेरै भर पर्ने सोचमा छैन । तर, संकटकै बीचमा नेपाल सरकारले भारतसँग कम्तीमा पनि आफूले पैसा तिरिसकेको १० लाख खोप तत्कालै उपलब्ध गराउन आग्रह गरेको छ । भारतको कोभिशिल्ड लिएका ६० वर्ष भन्दा माथिका १३ लाख जेष्ठ नागरिकलाई सरकारले दोस्रो डोज दिन सकेको छैन ।
उनीहरुको आठ हप्ताको समयमा गइसकेको छ । त्यसैले नेपालले तत्काल आवश्यक पर्ने १७ लाख खोप तत्काल दिन भारतलाई आग्रह गरिरहेको छ । केही दिन अगाडि राष्ट्रपति विद्यादेवी भण्डारीले भारतका राष्ट्रपतिसँग टेलिफोन वार्ता गर्दै यो आग्रह गरेकी थिइन् । भारतले यस वर्षको अन्तसम्म खोप निर्यात नगर्ने बताए पनि नेपालको सम्बन्धमा विशेष व्यवस्थापन गर्नुपर्ने नेपालको माग छ ।
६. कोभ्याक्स अन्तर्गत नेपालले कति पाउने अपेक्षा गरेको थियो, कति आयो ?
खोपको योजना बनाउँदा कोभ्याक्ससँग सरकारको निकै ठूलो अपेक्षा थियो । कोभ्याक्सले मार्च ७ मा नै ३ लाख ४८ हजार खोप उपलब्ध गराएपछि सरकार निकै उत्साहित भएको थियो । कोभ्याक्सले नेपाललाई २० प्रतिशत जनसंख्यालाई पुग्ने भ्याक्सिन दिने प्रतिवद्धता जनाएको छ । तर, कोभ्याक्सले खोप उपलब्ध गराउन निकै ढिलो गरेको छ । सरकारले कोभ्याक्ससँग ताकेता गरिरहेको छ । पछिल्लो समयमा कोभ्याक्सले नेपाललाई कोभिशिल्ड भन्दा अन्य वैकल्पिक खोप छनौट गर्न भनेको छ ।
७. के निजी क्षेत्रले पनि खोप ल्याउन सक्छ ?
सरकारले निजी क्षेत्रलाई खोप ल्याउने बाटो खोलिदिएको छ । औषधी व्यवस्था विभागले कोभिशिल्ड खोप ल्याउन हुकुम इन्टप्राइजेज र रसियन स्पुतनिक खोप ल्याउन लोमस फर्मालाई अनुमति दिएको छ । सिनोभ्याक कम्पनीको भेरोसेल आयातका लागि विभागमा निवेदन आइसके पनि लामो समयदेखि निर्णय दिएको छैन । अनुमति प्राप्त कम्पनीहरुले पनि अहिलेसम्म खोप ल्याउने प्रकृयासम्म थाल्न सकेका छैनन् ।
किनभने अहिलेसम्म सरकारहरुले भ्याक्सिन कम्पनीमाथि पूर्ण रुपमा नियन्त्रण कायम गरेका छन् । भारतको सेरम इन्स्टिच्युट होस् वा चीनको भ्याक्सिन कम्पनीहरु, सबैजसो सरकारको नियन्त्रणमा छन् । ती देशहरुमै खोपको उच्च माग भएकाले सरकारी अनुमतिविना खोप ल्याउन निजी कम्पनीहरुलाई कठिन भइरहेको छ ।
८. रुसी खोप किन आउन सकेन नेपालमा ?
भ्याक्सिन खरिदका लागि सरकारले सरकारकै स्रोत प्रयोग गर्ने र बाँकी राष्ट्रसंघीय निकाय र वैदेशिक संस्थाहरुसँग सहायता लिने योजनामा छ
विश्वमा सबैभन्दा पहिले खोप तयार भएको घोषणा गर्ने र आफ्ना नागरिकलाई खोप लगाउने मुलुक रुस हो । सन् २०२० को डिसेम्बरमै नेपालमा कोराना खोप आउने चर्चा थियो । तर, शुरुका उसले तयार पारेको ‘स्पुतनिक भी’ खोपको सुरक्षा र प्रभावकारीताको बारेमा केही प्रश्न उठ्यो । त्यसैले सरकारले पहल गरेन । तर पछिल्ला केही महिनायता रसियाको खोपको प्रभावकारिताको बारेमा वैज्ञानिक अध्ययनले प्रभावकारी देखाए । रुसी खोपको बढ्दो स्वीकार्यता, कोभिशिल्डमाथिको निर्भरतामा अनिश्चयसँगै नेपालले स्पुतनिकलाई नेपालमा आपतकाली प्रयोगको अनुमति त दियो तर नेपालमा रुसी खोप लगाउने काम सुरु हुन सकेको छैन । रुसले नेपाललाई अनुदान दिने तत्परता देखाएको छैन भने खरिद प्रकृया पनि अघि बढन सकेको छैन ।
९. नेपाललाई कुन मुलुकको खोप सहज र सस्तो पर्छ ?
नेपाललाई मूल्य, तापक्रम र ढुवानीका हिसाबले सबैभन्दा सहज हुने भारतको सेरम इन्स्च्यिुटको कोभिशिल्ड नै हो । नेपालले कोभिशिल्ड खोप प्रतिडोज चार डलरमा खरिद गरेको थियो । यो निकै सस्तो हो । अब चीन र अमेरिकासँग नेपालले गरेको खोपको मूल्य कति पर्छ यकिन छैन । हालै बंगलादेशले चीनसँग प्रतिडोज १० डलरमा खरिद गर्ने सम्झौता गरेको छ । भारतले रुसी खोपलाई पनि औसत १० डलरकै हाराहारीमा खरिद गरेको छ । पश्चिमा मुलुकहरुले चलाएका फाइजर, मोडना र जोन्सनका खोप प्रतिडोज २० डलरमाथि माथि मूल्य परेको बिभिन्न सञ्चारमाध्यमहरुले जनाएका छन् ।
१०. सरकारले कति जनसंख्यालाई खोप लगाउने योजना बनाएको छ ?
अहिलेसम्मको सरकारको योजना ७२ प्रतिशत जनसंख्यालाई भ्याक्सिन लगाउने हो । त्यसका लागि ४८ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ । सरकारले एक डोज खोपलाई औसतमा १० डलर लाग्ने अनुमान गरेको छ । भ्याक्सिन खरिदका लागि सरकारले सरकारकै स्रोत प्रयोग गर्ने र बाँकी राष्ट्रसंघीय निकाय र वैदेशिक संस्थाहरुसँग सहायता लिने योजनामा छ । नेपालले १८ वर्ष मुनिकालाई खोप नलगाउने योजना बनाएको भए पनि दोस्रो लहरमा युवा र तेस्रो लहरमा बालबालिका बढी प्रभावित देखिएको हुँदा सो निर्णयमा पुनरविचार गर्नुपर्ने विज्ञको सुझाव छ ।