• होमपेज
  • कला /साहित्य
  • कविता – शोकको शल्यक्रिया

कविता – शोकको शल्यक्रिया

  • मङ्लबार, जेष्ठ ४, २०७८
कविता – शोकको शल्यक्रिया

सिंहदरबारमा कित्ता काँट गरी बसिरहेछन्
जिम्मेवारहरू
अरबको अक्सिजनले भने अस्पताल खोजिरहेछ
पशुपतिका दाउराले देहावसानलाई गिज्ज्याइरहेछ

बालुवाटारमा विराजमान हुनेहरूका दृष्टिमा
पर्यो कि परेन होला बझाङ र बाजुरा

सिंहदरबारबाट
भर्खर उम्रेको एउटा सेतो सिङ देखिन्छ।
पकाएर खान नमिल्ने त्यो हठी सिङ
महामारीको बेला उम्रिएको हो
जसलाई सबैले देख्छन् तर उसले देख्न सक्तैन कसैलाई
अस्पतालमा जीवनको भिक मागिरहेका लागि सिलिन्डर बोक्दैन
सडकमा पेट सुकाएकाहरूका भरिला आँखामा हेर्दैन।

ठिक यति बेलाको राज्यसत्ता र ऊ उस्तै हो
बिहान जसलाई छायामा पारेको हुन्छ
साँझमा उसैसँग सत्ताप्राप्तको मह पिएर मात्तिएको हुन्छ।

जसले युग खान्छ भनी विश्वास गरियो
उसले त टुक्का टुक्का जोडेर गीत गाउँछ सोचेको हो
गीत गाइरहेका मीतहरूलाई टुक्राइरहेछ।

शासनको कठालो समातेर सेवक हुँ भन्दै छ
र, सेकी रहेछ सकसमा परेकाहरूको ढाड

समयानुसार सर्दै जाने रहेछ
सनातनी संस्कार र परम्परा
किनकि,
शवयात्रा मात्रै देखिन्छ जताततै
सुनिँदैन सहादतको समयमा फुकिने शङ्ख ध्वनी।

सलामी छैन ठूलाहरूलाई
न सानाहरूलाई छ मलामी
त्यसैले त
संस्कारको धूप जल्ने स्थानमा
खराब समयको शव जलिरहेछ।

सडकले स्वास फेर्न सकस भइरहेको बेला
सदनमा सत्ताको जुहारी चलिरहेछ।

सब थोकका लागि सरकार हुनुपर्ने रैन र?

सङ्कटमा संयन्त्र सुतिरहेका छन्
र, सिर्जना गरिरहेका छन् शोक
शोक कसैका लागि समाचार बनिरहेछ
शोक कसैका लागि अपार व्यापार बनिरहेछ।

स्वस्तिक चिन्हका रङ औँलाहरूबाट पखालिएपछि
शहीद चोकबाट सालिकहरू शान्तिको खोजीमा हिँडिसकेका छन्

सती गएकै हो त?
स्वास फेर्न चाहनेहरूका -जीवन सुरक्षा

सती गएको हो त?
संविधानका धाराहरूमा कोरिएका स्वतन्त्रता।

साँच्चै यो भयावहको समय हो।
सवाल जवाफ समय खेर नफालौँ
सत्ता र शक्तिको जुहारी नखेलौँ

बरू आऊ!
सदन र सडक एक हौँ
र, हरेकको स्वास्थ्यप्रति जिम्मेवार बनौँ।

स्वास्थ्य नै स्वस्थ रहन्न भने
सीमा, सत्ता र समृद्धिको सपना।
के का लागि?

चर्चामा

सम्बन्धित समाचार