बझाङ को जयपूथ्बी नगरपालिका–१ कैलाश का८६ वर्षीय करन बहादुर खडका घरबाट बाहिर ननिस्किएको दुई हप्ताभन्दा बढी भयो । त्यसअघि गाउँमा घुमेर खैखबर लिने र दौँतरी तथा छिमेकीहरुसँग गफिएर समय व्यतित गर्ने गरेका खडकालाई अहिले चौबीसै घण्टा घरभित्र सीमित भएर बस्नु पर्दा निकै सकस भएको छ ।
सामाजिक र राजनीतिक काममा निकै व्यस्त रहने गरेका नेपाली कांग्रेसका सभापति ईश्वर बहादुर सिह पनि एकान्तवास बसेका ठ्याक्कै १५ दिन भयो ।
कोरोनाको लक्षण देखिएपछि गत वैशाख २४ गतेदेखि आफ्नै घरमा एकान्तबास बसेका सिह स्वाब परीक्षणको रिपोर्ट त नेगेटिभ आयो तर राजनीतिक र सामाजिक काममा सरिक हुने अवस्था भने रहेन ।
खडका र सिह मात्रै होइन अहिले बझाङका प्रायः सबै मानिस घरभित्र नै छन् । दोस्रो लहरको नयाँ भेरियन्टसहितको कोरोना सङ्क्रमणबाट जोगिन लामो समयसम्म घरभित्र नै सीमित रहनुपर्दा एकाकी मनस्थिति बनेको धेरैको भनाइ छ ।
“आफ्नै गाउँ टोल नै बिरानो लाग्न थाल्यो, वल्लो पल्लो घरमा रहेका दाजुभाइ, छरछिमेकीको हाल खबर के छ भन्ने बुझ्न पनि फोन गर्नुपर्ने अवस्था आयो”, मोतोलिका२८ वर्षीय रामभक्त खडकाले भने, “बाबु बाजेको पालामा पनि नसुनिएको र आफ्नो पहिलो पटक भोग्नुपरेको यो परिस्थितिको अन्त्य कहिले हुने होला खै ?”
गाउँले जीवनको मौलिकता भनेकै अर्म–पर्म, सरसापटी, झाराश्रमदान हो । प्रत्यक्षरूपमा भेट भएर सुखदुःखका कुरा गर्ने, साह्रोगाह्रो पर्दा सरसहयोग गर्ने, एक आपसमा बसेर गफिँदै चिया पिउने, जाडोमा पहार ताप्दै र गर्मीमा चौतारी वा शीतल ठाउँमा बसेर घरव्यवहार, छोराछोरीका कुरादेखि लिएर राजनीति हुँदै देशविदेशका विषयमा समेत छलफल र कुराकानी गर्ने ग्रामीण जीवनको विशेषतामय सौन्दर्य अहिले खोसिएको स्थानीय बूढापाकाहरु बताउँछन् ।
अहिलेको अवस्था वाध्यात्मक भएको र आफ्नै सुरक्षाका लागि यो सकस सहनुपरेको पनि उनीहरुलाई राम्रैसँग थाहा छ । “आफ्नै सुरक्षाका लागि हो, कोरोनाको औषधि भने पनि उपचार भने पनि यही सम्पर्कविहीन पद्धति रहेछ, त्यसैले पट्यार लागे पनि, अत्यास लागे पनि सुरक्षित त रहनु नै प¥यो”, स्थानीयवासी नरेन्द बहादुर सिहले भने, “घरमा बस्दाबस्दा पट्यार त लाग्छ नि, तर के गर्नु यो बाहेक सुरक्षित रहने अर्को उपाय पनि त केही छैन ।”
“खेतबारीमा हरियाली छाएको छ । हावा चल्दा मकैका पात बज्छन् । वन जङ्गलमा कोइली कराउँछ । मकै गोड्ने समय भएकाले खेतमा अलिअलि मात्र खेताला देखिन्छन् । समयसमयमा मोबाइलको घण्टी बज्दा हुने कुराकानी र घरका सदस्यबाहेक अरुसँग प्रत्यक्ष दोहोरो संवाद नभएको धेरै भएको छ”, सिहले भने, “कस्तो समय आयो, आफ्नै गाउँ, आफ्नै ठाउँ र आफन्तहरु नै बिराना पो लाग्न थाले अबको केही हय्ता हामी ले घर भित्र नै सुरक्षित भयर बस्न सकेछु भने देश नै कोरोना बाट मुक्त हुनसक्ने उनको भनाई छ।