• होमपेज
  • समाचार
  • कोरोना अस्पतालमा भएको आगलागीमा मृत्यु हुनेको संख्या ८२ पुग्यो

कोरोना अस्पतालमा भएको आगलागीमा मृत्यु हुनेको संख्या ८२ पुग्यो

  • सोमवार, बैशाख १३, २०७८
कोरोना अस्पतालमा भएको आगलागीमा मृत्यु हुनेको संख्या ८२ पुग्यो

इराकमा कोभिड–१९ (कोरोना भाइरस) का सङ्क्रमितको उपचार भइरहेको सघन उपचार कक्षामा भएको आगलागीमा परि ज्यान गुमाउनेको सङ्ख्या ८२ पुगेको छ।

राजधानी बग्दादमा रहेको इबन अल–खातिभ अस्पतालमा शनिवार राति भएको आगलागीमा कम्तीमा ८२ जनाको ज्यान गएको बीबीसीले जनाएको छ। आगलागीका कारण एक सयभन्दा धेरै घाइते भएका छन्।

अक्सिजन सिलिन्डर विस्फोटबाट आगलागी सुरु भएको बताइएको छ। अस्पतालमा अग्नि नियन्त्रणको व्यवस्था नभएका कारण अस्पतालभित्रका अरू प्रज्ज्वलनशील सामानहरूमा आगो तत्कालै सल्किएको खबरमा उल्लेख छ।

अस्पतालको प्रशासनका अनुसार धेरैजसो बिरामीलाई अन्यत्र सार्नुपरेको र भेन्टिलेटर हटाउँदा बिरामीको ज्यान गएको हो। कतिपयको आगलागीबाट निस्किएको धुवाँले निस्सासिएर ज्यान गएको छ। अस्पतालबाट एक सय २० जना बिरामी र उनीहरूका आफन्तमध्ये ९० जनालाई भने सुरक्षित रूपमा बाहिर निकालिएको छ।

इराकमा अस्पतालहरूमा औषधि र शय्याको चरम अभाव भइरहेका बेला अस्पतालमा आगलागी हुँदा कोरोना सङ्क्रमतिको उपचारमा जटिलता थपिएको छ। कोरोना महामारी सुरु भएयता इराकमा अहिलेसम्म दश लाख २५ हजारभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएको र १५ हजारभन्दा धेरैको ज्यान गएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

चर्चामा

सम्बन्धित समाचार