• होमपेज
  • समाचार
  • धनगढी विमानस्थल आउजाउ गर्ने सडक जीर्ण, दुर्घटनाको जोखिम बढ्दो

धनगढी विमानस्थल आउजाउ गर्ने सडक जीर्ण, दुर्घटनाको जोखिम बढ्दो

  • शुक्रबार, बैशाख ३, २०७८
धनगढी विमानस्थल आउजाउ गर्ने सडक जीर्ण, दुर्घटनाको जोखिम बढ्दो

सुदूरपश्चिम प्रदेशको सबैभन्दा ठूलो र व्यस्त धनगढी विमानस्थल जाने सडक जीर्ण बनेकाे छ। जसले सडक दुर्घटनाको जोखिम बढाएकाे छ।

सुदूरपश्चिमको प्रतिष्ठासँग जोडिएको र हवाइमार्गबाट प्रदेशलाई राजधानीसँग जोड्ने विमानस्थल आउजाउ गर्ने बाटोमा सयौँ खाल्डाखुल्डी परेका छन्। तर मर्मत गर्न भने कसैको ध्यान नगएपछि स्थानीयले आक्रोश व्यक्त गरेका छन्। दिनहुँ सयौं सवारी साधन हुइँकिने गेटा विमानस्थल सडकमा ठाउँ-ठाउँमा परेका खाल्डाखुल्डीको कारण सडक दुर्घटनाको समेत जोखिम बढेको गुनासो बढेको छ।

धनगढी विमानस्थल जाने २ किलोमिटर सडकमा एक सय भन्दा बढी खाल्डाखुल्डी परेका छन्। सडक बिगिँदा दुर्घटनाको जोखिम समेत बढेको गुनासो गरिएको छ। विमानस्थलमा भेटिएका आटो चालक श्रवण रानाले छ लेन सडकदेखि विमानस्थलसम्मको सडकमा परेका खाल्डाखुल्डीले हरेक दिन अटो पङ्चर भएर हैरानी खेप्नु परेको बताए।

“सडकमा धेरै खाल्डाखुल्डी छन् तर मर्मत गर्न कसैले ध्यान दिउका छैनन्। अटो चलाउँदा पल्टिने डर हुन्छ। दैनिकजसो टायर पङ्चर हुने गर्छ। निकै समस्या छ यो सडकमा अटो चलाउन” रानाले भने। विमानस्थल सडकमा हरेक दिन सर्वसाधारणदेखि उच्च ओहोदामा बसेकाहरुले ओहोर–दोहोर गर्ने भएपनि सडकमा परेका सयौं खाल्डाखुल्डीतर्फ कसैको ध्यान नगएको गुनासो अर्का चालक खेमराज भट्टको छ।

“सडक दिनहुँ प्रयोग गर्नुपर्छ तर बिग्रेको र भत्केको कारण गाडीमा खराबी आउने र सडक दुर्घटनाको जोखिम हुने गरेको छ। डेढ वर्ष भयो सडक बिग्रिएको तर अहिलेसम्म मर्मत हुन सकेको छैन” चालक भट्टले आक्रोशित हुँदै भने। दैनिक निकै व्यस्त रहने सडकमा तीव्र गतिले गाडी चलाउने गरिएको र चालकहरुले खाल्डाखुल्डी छल्न खोज्दा पैदलयात्रीले निकै डराइ डराइ सडक प्रयोग गर्नुपरेको सो क्षेत्रका स्थानीयले गुनासो गरेका छन्।

धनगढी उपमहानगरपालिका वडा नम्बर १३ मा पर्ने सो सडकबारे निकै गुनासो सुन्नु परिरहेको वडा अध्यक्ष विजय जोशीले समेत बताएका छन्। तर अगामी आर्थिक वर्षभित्र विमानस्थल सडकसहित नगरका अन्य सडक मर्मत गर्न टेण्डर भएको र चालु आर्थिक वर्षमा नै खाल्डाखुल्डी पुर्ने उपमहानगरको तयारी रहेको अध्यक्ष जोशीले दाबी गरे।

“विमानस्थल सडक हाम्रो वडामा पर्छ। सो सडकबारे मैले पनि निकै गुनासो सुन्नु परेको छ। तर उपमहानगरपालिकाले यो वर्ष २ करोडको सडक मर्मत गर्ने टेण्डर गरेको छ। सो टेण्डर अन्तरगत चालु आर्थिक वर्षमा नै सडक मर्मत हुन्छ” अध्यक्ष जोशीले भने।

धनगढी विमानस्थल प्रयोग गर्ने स्थानीय तहदेखि प्रदेश र संघीय सरकारको नीति निर्माणको तहमा बसेका जो कोहीले विमानस्थल सडकको दूरावस्था देख्ने गरेका छन्। तर नेता तथा नीति निर्माताले अहिलेसम्म गेटा विमानस्थल सडक बिग्रिएको देखे पनि नदेखे झैँ गरेको भन्दै सर्वसाधारणले सरकारी पक्षको आलोचना गरिरहेका छन्।

चर्चामा

सम्बन्धित समाचार