• होमपेज
  • समाचार
  • सुदूरका वनमा लागेको डढेलोमा अब तराईको खेतमा जलाएको गहुँको नलको धुवाँ थपियो

सुदूरका वनमा लागेको डढेलोमा अब तराईको खेतमा जलाएको गहुँको नलको धुवाँ थपियो

धुवाँका कारण वायु प्रदूषणको स्तर झनै खतरनाक

  • मङ्लबार, चैत्र ३१, २०७७
सुदूरका वनमा लागेको डढेलोमा अब तराईको खेतमा जलाएको गहुँको नलको धुवाँ थपियो

धनगढी–सुदूरका वनमा लागेको डढेलोमा केही दिनयता तराईको खेतमा जलाएको गहुँको नलको धुवाँ थपिएपछि वायु प्रदूषणको स्तर झनै खस्किँदै गइरहेको पाइएको छ।

केही सातायता सुदूरपश्चिमका विभिन्न क्षेत्रमा वायु प्रदूषण घातक स्तरमा रहने क्रम जारी छ। अहिले सुदूरपश्चिमका वनहरूमा जताजतै डढेलो लागेको छ। त्यसमाथि किसानहरूले गहुँको नल जलाउन थालेपछि वायु प्रदूषण झनै उत्कर्षमा पुगेको हो। तर नियन्त्रणको प्रयास भने शून्य जस्तै छ।

सोमबार नेपाल सरकारको वातावरण मन्त्रालयको वायु प्रदूषण पोर्टलमा धनगढीको वायु प्रदूषण सूचकांक ४ सय ३० पुगेको देखियो। यो मानव स्वास्थ्यका लागि निकै हानिकारक हो। सामान्यतया वायु प्रदूषण सूचकांक १ सय भन्दामाथि जाँदा त्यो हावा दूषित मानिन्छ।

जल तथा मौसम पूर्वानुमान शाखा कोहलपुरका मौसम विद् रामबहादुर मिश्रले सुदूरका वनमा लागेको डढेलोले दूषित भइरहेको हावामा तराईका खेतहरूमा जलाएको गहुँको नलको धुवाँ मिसिएपछि वायु थप दूषित भइरहेको बताए।

“सुदूरपश्चिमसहित देशैभरीको वायु निकै प्रदूषित छ।” उनले भने, “न्यून चापीय मौसमको प्रभावले वर्षा नहुनु र त्योमाथि जतातजै डढेलो लाग्नुले वायु प्रदूषित भएको अवस्थामा तराईका खेतहरूमा जलाएको गहुँको नलको धुवाँ मिसिएपछि वायु झनै दूषित भइरहेको छ।”

डढेलो निभाउने र जथाभाबी प्लास्टिक र अन्य फोहर तथा नल जलाउने काम तत्काल बन्द गरे सास फेर्ने हावा थप दूषित बन्ने क्रम रोक्न सकिने विज्ञहरूले बताएका छन्। तर पछिल्लो केही सातादेखि सुदूरपश्चिममा डढेलो लाग्ने क्रम झन(झन बढेको छ।

प्रदेश वन निर्देशक हेमराज विष्टले यहाँको भौगोलिक बनावट र प्रतिकूल वातावरणका कारण डढेलो नियन्त्रणमा आउन नसकेको बताए। “डेढेलो नियन्त्रणको प्रयास जारी छ।” उनले भने, “यहाँको भौगोलिक बनावट र प्रतिकूल वातावरणका कारण डढेलो नियन्त्रणमा अपेक्षाकृत सफलता हासिल गर्न सकिएको छैन।”

सुख्खा र खडेरी बढेको बेला तराईदेखि पहाडसम्म अहिले जताततै डढेलो लागेको देख्न सकिन्छ। आगो निभाउन काठमाडौँको शिवपुरीमा बाहेक अन्यत्र सरकारी स्तरमा पहल भएको थाहा पाइएको छैन। समुदायहरूबाट समेत आगो निभाउन निकै थोरै पहल भएको पाइएको छ। अझ कयौँ स्थानमा समुदाय आफैँले डढेलो लगाउने गरेको आरोप लाग्ने गरेको छ।

तर सामुदायिक वन उपभोक्ता संघले भने पर्याप्त जनशक्ति र उपकरण नहुँदा नियन्त्रण गर्न समस्या भइरहेको बताएको छ। सामुदायिक वन उपभोक्ता संघ कैलालीका अध्यक्ष कर्ण रावलले आफुहरूसँग पर्याप्त जनशक्ति र उपकरण नहुँदा डढेलो नियन्त्रण गर्न समस्या भएको बताए। त्यसको व्यवस्थापनमा प्रदेश सरकारले ध्यान दिन नसकेको आरोप उनको छ।

प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय जनशक्ति र उपकरणको अभाव भएको स्विकार्दै वन कार्यालय, स्थानीय र प्रहरी प्रशासनबाट डढेलो नियन्त्रणको प्रयास जारी रहेको बताएको छ। यद्यपि स्थानीय जनता, वन कार्यालयका कर्मचारीहरू, सुरक्षाकर्मीहरू संयुक्त रूपमा डेढेलो नियन्त्रणमा लागि परेको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सूचना अधिकारी भरत प्रसाद श्रेष्ठले बताए।

सुदूरपश्चिममा जताततै प्लास्टिक जलाउने, लगातार वनमा डढेले लाग्ने र लगाउने, गहुँबाली भित्र्याएपछि खेतहरूमा नल जलाउने, निर्माणाधिन सडकहरूमा गुड्ने सवारी साधनले लगातार धुलो उडाउने र धुवाँ फ्याँक्नाले वायु प्रदूषण बढेको छ। तर प्रदूषण नियन्त्रणमा चौतर्फी बेवास्ता जारी नै छ।

विज्ञहरू भन्छन्, धुवाँ र धुलो नियन्त्रण कसैको एकल पहलबाट सम्भव छैन। त्यसका लागि हरेक नागरिक र समुदाय सचेत भई आ(आफ्नो तर्फबाट डढेलो वा आगो निभाउन पहल गर्नुपर्छ।

चर्चामा

सम्बन्धित समाचार