• होमपेज
  • समाचार
  • कैलालीका ५ वर्षीय आयुषको शव ४ दिनदेखि अस्पतालमा, ठक्कर दिने चालक बेपत्ता !

कैलालीका ५ वर्षीय आयुषको शव ४ दिनदेखि अस्पतालमा, ठक्कर दिने चालक बेपत्ता !

  • सोमवार, चैत्र ३०, २०७७
कैलालीका ५ वर्षीय आयुषको शव ४ दिनदेखि अस्पतालमा, ठक्कर दिने चालक बेपत्ता !

धनगढी– शुक्रबार साँझ कैलालीका ५ वर्षीय आयुष साथीहरुसँग बेल खान भनी घरबाट निस्किए। तर गोदावरी नगरपालिका–८ स्याउले बजार नजिकैको जंगल नपुग्दै उनलाई एक सवारी साधनले ठक्कर दियो।

ठक्करबाट घाइते भएका उनलाई उपचारका लागि नेपालगञ्जको कोहलपुर अस्पताल लगियो। उपचारका क्रममा उनले शनिबार बिहान प्राण त्यागे। भर्खरै ‘एलकेजी’मा अध्ययरत उनको मृत्युको कारण सवारी साधनको ठक्करबाट भएको भनी स्थानीयहरुले बताइरहेका छन्।

तर उक्त सवारी साधनको हालसम्म अत्तोपत्तो लाग्न सकिरहेका छैन। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार उक्त घटनाको अनुसन्धान भइरहेको छ। कैलाली प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतीक विष्ट अहिले आफूलाई घटनाको अनुन्धानबारे कुनै जानकारी नभएको बताउँछन्।

उता मृतक आयुषका आफन्तले ठक्कर दिने चालकलाई कारवाही नभएसम्म शव नबुझ्ने अडान राखेका छन्। शनिबार उनीहरुले ठक्कर दिने मोटरसाइकल र व्यक्तिको पहिचान गरी कारवाहीको माग राख्दै पूर्व–पश्चिम राजमार्ग अवरुद्ध समेत पारेका थिए। त्यसपछि प्रहरीले ठक्कर दिएर भाग्ने मोटरसाइकल र चालकको खोजी गरी आवश्यक कारवाही गरिने बताएपछि राजमार्ग सुचारु भएको थियो।

दोषी पत्ता नलागेका कारण पोष्टमार्टमका लागि राखिएको आयुषको शव घटना भएको ४ दिनसम्म पनि सेती अस्पतालमा राखिएको छ।

कसले ठक्कर दिएको थियो आयुषलाई ?
दुर्घटना भएको साँझ आयुषलाई एउटा मोटरसाइकलले ठक्कर दिएको भनी स्थानीयले बताइरहेका छन्।

स्याउले बजार व्यवस्थापनका अध्यक्ष गोपाल देउवाले स्थानीय प्रत्यक्षदर्शी एक युवतीलाई उदृत गर्दै मोटरसाइकलले नै आयुष जोशीलाई ठक्कर दिएर भागेको बताए। उनले प्रहरी टोलीसहित आफुहरुले उक्त फरार मोटरसाइकल र चालकको खोजी गरिरहेको बताए।

यस्तै उक्त घटनाको अनुसन्धानमा खटिएका एक प्रहरीले पनि अनुसन्धानबाट मोटरसाइकलले नै आयुषलाई ठक्कर दिएको खुलेको बताए।

‘सो दिन अगाडि एउटा बाइक र पछाडी ट्रयाक्टर गइरहेको थियो भन्ने बुझिएको छ तर अघिको मोटरसाइकलले नै आयुषलाई ठक्कर दिएको देख्ने प्रत्यक्षदर्शी छन्’ ती प्रहरी अधिकारीले दिनेशखबरसँग भने, ‘हामीले पूर्व–पश्चिम राजमार्गमा जोडिएका सबै सीसीटिभी फुटेज केलाइरहेका छाैं। सेतो सर्ट लगाएको चालक सवार उक्त मोटरसाइकल दुर्घटना भएको स्थलबाट पश्चिम अत्तरियातर्फ आएको देखिएको छ।’

ती प्रहरीका अनुसार सीसीटिभी फुटेजबाट मोटरसाइलको नम्बर पत्ता लाग्न सकिरहेको छैन। उनले आफुहरु अनुसन्धानको अन्तिमतिर पुगेकाले छिट्टै दोषी पत्ता लाग्ने बताए।

सम्बन्धित समाचार– मोटरसाइकलको ठक्करबाट बालकको मृत्यु भएपछि कैलालीको पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

चर्चामा

सम्बन्धित समाचार