शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • सुचना प्रबिधी
  • पत्रकार महासंघको निर्वाचन प्रक्रिया थाल्न पूर्वपदाधिकारीहरूको आह्वान

पत्रकार महासंघको निर्वाचन प्रक्रिया थाल्न पूर्वपदाधिकारीहरूको आह्वान

  • शुक्रबार, चैत्र १३, २०७७
पत्रकार महासंघको निर्वाचन प्रक्रिया थाल्न पूर्वपदाधिकारीहरूको आह्वान

नेपाल पत्रकार महासंघको निर्वाचन प्रक्रिया अगाडि बढाउन पूर्वअध्यक्षहरू र पूर्वपदाधिकारीहरूले आह्वान गरेका छन्। पूर्वनिर्धारित कार्यतालिकाअनुसार निर्वाचन प्रक्रिया अगाडि नबढाइएको पाइएपछि उनीहरूले बिहीबार एक विज्ञप्तिमार्फत् उक्त आह्वान गरेका छन्।

पत्रकार महासंघमा पहिलोपटक प्रत्यक्ष निर्वाचन प्रणालीबाट केन्द्र, प्रदेश, जिल्ला शाखा तथा प्रतिष्ठानहरूमा निर्वाचन हुन लागेको छ। चैत २५ गते एकैदिन महासंघका सबै तहका चुनाव हुनेछ।

निर्वाचनका लागि मतदाता नामावली प्रकाशन भइसकेको छ। निर्वाचन कार्यतालिकाअनुसार उम्मेदवारहरूको मनोनयन पत्र दर्ताको पूर्वसन्ध्यामा विवाद देखाएर निर्वाचन प्रक्रिया अवरूद्ध गर्न खोजिएको भन्दै पूर्वपदाधिकारीले गम्भीर ध्यानाकर्षण भएको बताएका छन्।

कुनै पनि दवाव र प्रभावमा नपरेर निर्वाचन प्रक्रियालाई अवरोध गर्ने कुनै गतिविधि नगर्न र आपसी संवादका माध्यमबाट सदस्यता सम्बन्धी विवाद छिटो हल गर्न महासंघ नेतृत्वको पूर्वपदाधिकारीले ध्यानाकर्षण गरेका छन्।

पूर्वअध्यक्षहरू तारानाथ दाहाल, धर्मेन्द्र झा, पूर्वउपाध्यक्ष खिलबहादुर भण्डारी, पूर्वमहासचिवहरू ओम शर्मा, पोषण केसी, रामजी दाहाल, पूर्वकोषाध्यक्ष तेजप्रकाश पण्डित, केन्द्रीय सल्लाहकार शिव लम्साल, प्रेस संगठन नेपालका अध्यक्ष महेश्वर दाहाल र प्रेस चौतारी नेपालका उपाध्यक्ष विश्वमणि सुवेदीले हस्ताक्षर गरेर समयमै निर्वाचन प्रक्रिया अगाडि बढाउन आह्वान गरेका छन्।

महासंघले अन्तिम नामावली प्रकाशन चैत १३ गते ५ बजेभित्र, उम्मेदवारी मनोनयन चैत १४ गते बिहान १० बजेदेखि ३ बजेसम्म गर्ने गरी निर्वाचन कार्यक्रम अद्यावधिक गरेको जानकारी दिएको छ।

No description available.

चर्चामा

सम्बन्धित समाचार