श्रीमती भान्साघरमा सागसब्जी केलाइरहेकी छिन् र काटिरहेकी छिन् । केही पिसिरहेकी छिन् । खाना बनाएर पस्किइहेकी छिन् । भाँडा माझिरहेकी छिन् । भुइँ बढाइरहेकी छिन्, पुछिरहेकी छिन् । श्रीमान् आरामले बसेर योग गरिरहेका छन् । सास भित्र बाहिर गरिरहेका छन् । यो मलयालम भाषामा बनेको एउटा कम बजेटको फिल्म ‘द ग्रेट इन्डियन किचन’ को कहानी हो ।
यो फिल्मका निर्देशक जियो बेबी भन्छन्, ‘यो सबै स्थानको कहानी हो । भान्साघरमा एक महिलाको संघर्ष भारतका लगभग सबै महिलाको कहानी छ । पुरुषले महिलालाई कुनै मसिनको रुपमा सोच्ने गर्छन् । उनीहरु चिया बनाउनेदेखि कपडा धुने बालबच्चाको लालनपालनसमेत सबै काम गर्छन् ।’
उनी भन्छन्, ‘केही समय पछि नै मैले किचनको मुश्किल, एकरसता र दोहोरिँदो क्रियाकलापबाट छुटकारा पाउनेबारे सोच्न थालेँ ।’
उनी भन्छन्, ‘मैले यस्तो महसुस गरिरहेको थिएँ कि म कुनै जेलमा फसिरहेको छु । र त्यसपछि मैले ती महिलाबारे सोच्न सुरु गरेँ जो यो चक्रबाट बाहिर आउन सक्दैनन् । यसबारे महसुस गरेपछि यसले मलाई तनावमा पार्न सुरु गर्यो ।’
फिल्मको कहानीः
फिल्मको सुरुवात एउटा विवाहबाट हुन्छ । धेरैजसो भारतीय विवाहजस्तै यो पनि एउटा मागी विवाह हो । यसमा दुलही र दुलहाको मुख्य भूमिकामा निमिशा सजयान र सूरज वेन्जरामुडु छन् ।
विवाह अघि उनीहरुको एकपटक मात्रै भेट हुन्छ त्यो पनि परिवारको उपस्थितीका बीच ।
विवाहमा आएका पाहुना आ–आफ्नो बाटो लागेपछि दैनिक कामकाज सुरु हुन्छ । नयाँ दुलही आफ्नी सासुसँग भान्साघरतर्फ लाग्छिन् । उनको काम श्रीमानले राम्रोसँग खाए नखाएको र खुसी छन् कि छैनन् भनेर हेर्नु हो ।
राती बेडमा पनि उनको जीवन त्यत्तिकै खराब छ । इच्छा भए पनि नभए पनि राती उनीबाट सेक्स गर्नका लागि तयार हुनुपर्ने कुरामा आशा गरिन्छ । भारतीय पितृसत्तात्मक व्यवस्थामा महिलाको मनको कुराका लागि निकै कम स्थान छ ।
यो फिल्म निस्ट्रिम एपमा देखाइँदै छ । नेटफ्लिक्स र अमेजनले यसलाई आफ्नो प्लेटफर्ममा देखाउन अस्विकार गरेको छ । यो फिल्मले समीक्षक विशेषगरी महिलाको तर्फबाट निकै वाहवाही पाइरहेको छ ।
इरिन्जालकुडा शहरको क्राइस्ट कलेजकी अंग्रेजीकी सह–प्राध्यापक क्लिन्टा पिएसले बीबीसीसँगको कुराकानीमा भनिन्, ‘यो फिल्म आफ्नै लागि बनाइएको हो कि भन्ने महसुस हुन्छ । फिल्ममा कुनै हिंसा छैन । कसैलाई नराम्रो देखाइएको पनि छैन । यो हाम्रो घरमा गहिरो गरी बसेको असंवेदनशीलताको वास्तविक चित्रण हो ।’
प्राध्यापक क्लिन्टाका अनुसार उनले आफ्नी आमा र अन्य महिलालाई भान्साघरमा जुधिरहेको देखेकी छिन् किनभने केरलजस्तो राज्यमा खाना ‘असाध्यै धेरै मात्रामा’ बन्ने गर्छ ।
‘उनीहरु सागसब्जी काट्ने, मसला पिस्ने, गार्निसिङ गर्ने, सरसफाई, लुगा धुनेलगायतका थुप्रै काम गर्छन् । यसमा असाध्यै धेरै समय खर्च हुन्छ । यसलाई थोरै सामान्य स्तरमा गर्न सकिन्छ तर हामी यस्तो गर्दैनौं । किनभने एक महिलालाई उनका लागि उनका श्रीमान् र परिवार नै सबैकुरा हो भनेर सिकाइन्छ । महिलाहरुको अस्तित्व उनीहरुलाई खुसी राख्नुमा मात्रै छ । महिलालाई सुपरवुमन बन्न भनिन्छ ।’
घरमा लैङ्गिक समानताको विषयमा बहसः
भारत र नेपालमा संसारका अन्य हिस्सा जस्तै हेरविचारको काम महिलाको काँधमा नै आउने गर्छ । यसका लागि उनीहरुले कुनै प्रकारको भुक्तानी पनि पाउँदैनन् ।
अन्तर्राष्ट्रिय श्रम संगठनको रिपोर्ट अनुसार सन् २०१८ मा भारतमा महिलाले जहाँ तलब बिहिन कार्यमा ३१२ मिनेट खर्च गरेका थिए भने पुरुषले यस्ता काममा २९ मिनेट खर्च गरे ।
यो त्यो स्थिती हो जुन ‘द ग्रेट इन्डियन किचन’ आफ्नो सन्देशमा परिवर्तन गर्न चाहन्छ ।
जियो बेबी भन्छन्, ‘महिला पुरुषले नै बनाएको जेलमा बसिरहेका छन् । पुरुष निर्णय लिन्छन् र महिला मजदुर हुन् । यसका लागि उनीहरुको कहिले पनि पैसा पाउँदैनन् । ’
‘फिल्मको माध्यमले म महिलालाई यो भन्न चाहन्छु कि तपाईं यो जेलबाट बाहिर आउनुहोस् । किन यी सबै सहनुहुन्छ ? यो तपाईंको पनि दुनियाँ हो । यसको तपाईं पनि आनन्द लिनुहोस् ।’
वास्तवमा परिवर्तन आउन अझै समय लाग्छ तर द ग्रेट इन्डियन किचनले घरमा लैङ्गिक समानताको विषयमा बहसलाई जन्म दिएको छ ।