• होमपेज
  • समाज
  • जब उनले आफूलाई बेच्ने व्यक्ति केन्द्रीय कारागारमा देखे…

जब उनले आफूलाई बेच्ने व्यक्ति केन्द्रीय कारागारमा देखे…

  • बिहिबार, माघ २९, २०७७
जब उनले आफूलाई बेच्ने व्यक्ति केन्द्रीय कारागारमा देखे…

दाङका ३३ वर्षीय एक पुरूष अहिले काठमाडौंको सुन्धारास्थित केन्द्रीय कारागारमा छन्। उनी एक वर्षदेखि डाँका मुद्दामा पुर्पक्षका लागि थुनामा छन्। एक वर्षअघि आफ्ना केही साथीहरूसहित उनी थुनामा परेका हुन्। काठमाडौंबाट पक्राउ परेका उनलाई साथीहरूले फसाउँदा थुनामा परेको उनी बताउँछन्। केन्द्रीय कारागारमा जेल जीवन बिताइरहेका उनी आफैं पनि मानव बेचबिखनका पीडित हुन्। उनी २०६६ सालमा भारतमा बेचिएका थिए।

प्रहरीले उनी कारागारमै रहँदा उनलाई बेचेको घटनामाथि अनुसन्धान अघि बढाएको थियो। उनलाई भारतमा बेचेका आरोपितलाई प्रहरीले पक्राउ गरी थप अनुसन्धान गरिरहेको छ।

उनलाई बेच्नेमध्येका एक जनालाई मानव बेचबिखन अनुसन्धान ब्युरोले मंगलबार पक्राउ गरेको गर्‍यो। पक्राउ पर्नेमा मोरङ विराटनगर घर भई काठमाडौं महानगरपालिका-२९ सामाखुसी बस्ने ४२ वर्षीय साईराम भन्ने भुपालमान श्रेष्ठ छन्।

मास्कको व्यापार गरिरहेका उनलाई ब्युरोको टोलीले सामाखुसी क्षेत्रबाट पक्राउ गरेको ब्युरो प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दुर्गा सिंहले बताइन्।’अहिले उनी मास्कको व्यापार गर्ने रहेछन्। हाम्रो टोलीले अनुसन्धान गरेर उनलाई पक्राउ गर्न सफल भएको छ,’ एसएसपी सिंहले भनिन्। भुपालमानले दाङका ती पुरूषलाई २०६६ सालमा चिनेका थिए। सामान्य चिनजान भएपछि भुपालमानले ती पुरूषलाई वैदेशिक रोजगारीको काममा लगाइदिने भन्दै फकाए।

दुबईमा मासिक ५० हजार तलब हुने होटलमा वेटरको कामका लागि पठाइदिने भन्दै ती पुरूषलाई भुपालमानले प्रलोभनमा पारे। त्यसको लागि उनले ती पुरूषलाई थप ११ महिनाको वेटरको तालिम लिनुपर्ने भन्दै भारत जानका लागि सुझाए। भारत जानका लागि उनी आफैंले २०६६ साल भदौ महिनामा नक्कली राहदानी तथा वेटरको कामको प्रमाणपत्र बनाइदिए। त्यसबापत भुपालमानले एक लाख ५० हजार रुपैयाँ पनि लिए।

‘विभिन्न तरिकाले उसले पीडितको मन जितेछ। अनि उसलाई भारत पठाउन अर्को मान्छेको जिम्मा लगाइदियो,’ भुपालमानको बयान उद्धृत गर्दै एसएसपी सिंहले भनिन्।

भुपालमानले झापाका रमेश खड्का भन्ने तुलाराम खड्काको जिम्मा लगाइदिएका थिए। ती पुरूष त्यसवर्षको असोजमा रमेश खड्कासँग भारत हिँडे। उनीहरू भैरहवा हुँदै गोरखपुरबाट रेल चढेर भारतको नयाँ दिल्लीसम्म पुगे।

रमेशले ती पुरूषलाई बेच्ने उद्देश्यले भारत लगेका थिए।

‘फकाएर लगिसकेपछि रमेशले ती पुरूषलाई त्यहाँका अरबियन मान्छेहरूलाई बेचिदियो,’उनले भनिन्। ती अरबीहरूले पनि वेटरको तालिम दिन्छु भन्दाभन्दै ४५ दिनसम्म बन्धक बनाई उत्पीडन गरेको एसएसपी सिंहले बताइन्। संयोगले नै होला उनी दार्जलिङका एक नेपाली भाषीको सम्पर्कमा आए। उनका लागि ती व्यक्ति सहारा बने।

चरम शोषणमा परेका ती पुरूष दार्जलिङका युवकको सहायताबाट भागेर नेपाल फर्किए। उनी नेपाल फर्किएर आफूलाई बेच्नेहरूको खोजी गर्न उनले प्रहरीको सहायता नलिएको एसएसपी सिंहले बताइन्। बरू आफैं नै भुपालमानको खोजी गर्न लागि परे। तर उनीहरू भेटिएनन्। ‘उनी आफैं भुपालमानलाई खोज्न पनि गएछन् तर घर पत्ता लगाउन सकेनन्। अल्मलिएछन्,’उनले भनिन्।

भारतीय नागरिक हैदरबाट पैसा लिएर नेपाल फर्किएका रमेश २०६७ साल जेठ १० गते धनुषाबाट कर्तव्य ज्यान मुद्दामा जेल चलान भए। ‍जिल्ला कारागार धनुषामा केही समय बसेपछि उनको ६८ सालमा केन्द्रीय कारागारमा स्थानान्तरण भयो।

उनी अहिले पनि केन्द्रीय कारागारमै छन्। एसएसपी दुर्गा सिंहका अनुसार पीडित पुरूषले आफू कारागार चलान भएपछि रमेशलाई देखेछन्। लामो समयदेखि आफूले खोजेका व्यक्तिलाई कारागारमै देखेपछि उनले जेलरलाई आफूलाई ती पुरूषले बेचेको जानकारी गराए।

सामान्य अनुसन्धानपछि कारागारले ती पुरूषको मुद्दा गत मंसिर २८ गते मानव बेचबिखन अनुसन्धान ब्युरोमा जाहेरी दर्ता गरेको थियो।

‘त्यो मुद्दा हाम्रो ब्युरोमा आएपछि अनुसन्धान अघि बढ्यो र अहिले हामीले फरार रहेका भुपालमानलाई पनि समाएका छौं,’उनले भनिन्।

त्यसैगरी प्रहरीले यस घटनामा संलग्न हैदर भन्ने भारतीय नागरिकको पनि तलासी गर्न थालेको छ। इन्टरपोलमार्फत् नोटिस जारी गरी उनलाई पक्राउ गरिने एसएसपी सिंहले बताइन्।

ब्युरोले भुपालमानमाथि मंगलबार नै म्याद थप गरी अनुसन्धान अघि बढाएको छ। उनीमाथि मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन,२०६४ अनुसार अनुसन्धान कारबाही हुने ब्युरोले जनाएको छ। #सेताेपाटीबाट शाभार 

चर्चामा

सम्बन्धित समाचार