• होमपेज
  • समाज
  • सुदूरपश्चिममा ५ प्रहरी सहकर्मीसँग बहुविवाहमा मुछिए ! प्रहरीले लुकायो सूचना

सुदूरपश्चिममा ५ प्रहरी सहकर्मीसँग बहुविवाहमा मुछिए ! प्रहरीले लुकायो सूचना

  • बुधबार, माघ २१, २०७७
सुदूरपश्चिममा ५ प्रहरी सहकर्मीसँग बहुविवाहमा मुछिए ! प्रहरीले लुकायो सूचना

सुदूरपश्चिममा कार्यरत ६ जना प्रहरी अधिकृत बहुविवाह मुद्दामा मुछिएका छन्।  सुदूरपश्चिम प्रदेश प्रहरी तालिम केन्द्र दिपायलमा कार्यरत २ जना प्रहरी नायब निरीक्षक र ४ जना प्रहरी हवलदार बहुविवाह मुद्दामा मुछिएपछि उनीहरु विरुद्ध आन्तरिक कारवाहीका लागि बेनामी उजुरी परेको छ।

प्रहरी स्रोतकाअनुसार करिब २५ दिन अघि ६ जना विरुद्ध नै उजुरी परेको भएपनि प्रदेश प्रहरी कार्यालयले उनीहरुमाथि आवश्यक कानूनी कारवाहीको प्रक्रिया नथालेको हो।

‘उहाँहरु मध्ये ५ जना प्रहरी अधिकृत तालिम केन्द्रमै कार्यरत आफ्नै सहकर्मीसँग बहुविवाह गरेर बसेका छन्,’ ती प्रहरीले दिनेशखबरसँग भने,‘एक जना सई सापले घरमा श्रीमती हुँदाहुँदै पनि बाहिरकै अर्की महिलासँग विवाह गरेका छन्।’

उनका भनाईमा ५ जना महिला, प्रहरी जवान हुन्। बेनामी उजुरीपछि सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयमा कार्यरत प्रहरी नायब उपरीक्षक द्वारिका घिमिरेले आरोपी प्रहरी अधिकृतको बयान समेत लिएका थिए।

उनीहरुका अन्य सहकर्मीको पनि बयान लिइएको स्रोत बताउँछ। तर सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय र प्रदेश तालिम केन्द्रले भने प्रहरी अधिकृतहरु बहुविवाहको मुद्दामा मुछिएको सूचना लुकाएको छ।

सो विषयमा सुदूरपश्चिमका प्रमुख प्रहरी नायब महानिरीक्षक उत्तमराज सुवेदीले अनभिज्ञता प्रकट गरेका छन्। ‘त्यस्तो भए त मलाई थाहा हुनुपर्ने,’ प्रहरी नायब महानिरीक्षक सुवेदीले भने, ‘व्यक्तिगत रुपमा कसैको केही हुनसक्छ होला तर म कहाँ त्यो खालको कुरा आएको छैन्।’

उनले बहुविवाहको मुद्दा भएपनि त्यो अदालती प्रक्रियामा जाने भएकाले कुनै अधिकारी विरुद्ध हालसम्म मुद्धा परिसकेको अवस्था समेत नरहेको बताए।

सुदूरपश्चिम प्रदेश प्रहरीका प्रवक्ता समेत रहेका तालिम केन्द्रका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले पनि सो विषयमा आफूलाई जानकारी नभएको प्रतिक्रिया दिए।

‘यदी कुनै प्रहरी कर्मचारीले बहुविवाह गरेको उजुरी पर्यो भने सम्बन्धीत जिल्ला प्रहरी कार्यालयमार्फत कारवाहीको दायरामा ल्याइन्छ,’प्रहरी वरिष्ठ उपरीक्षक सिंहले भने,‘अहिलेसम्म कुनै अधिकारीको पनि पीडित पक्षले त्यसरी उजुरी दिएको भन्ने जानकारी छैन।’ उनले बहुविवाह गरेको भेटिएमा प्रहरी कर्मचारीलाई कानून अनुसार कारवाही गर्न आफू प्रतिबद्ध रहेको बताए।

 यस्तै उनीहरुसहितका अन्य प्रहरी कर्मचारी विरुद्ध आर्थिक हिनामीना लगायतका मुद्दा पनि परेका छन्। तर कुनैपनि मुद्दामा सुनवाइ नभएको स्रोतको जिकिर छ।

चर्चामा

सम्बन्धित समाचार