बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • मनोरञ्जन
  • अझै खुलेन स्टेज : आर्थिक समस्यामा कलाकार, खोज्दै विकल्प

अझै खुलेन स्टेज : आर्थिक समस्यामा कलाकार, खोज्दै विकल्प

  • बुधबार, माघ २१, २०७७
अझै खुलेन स्टेज  : आर्थिक समस्यामा कलाकार, खोज्दै विकल्प

काठमाडौँ । कोरोना कहर अझै यथावत नै छ । विश्वका कतिपय देश अहिले पनि लकडाउनकै अवस्थाबाट गुज्रिरहेका छन् । कतिपय देशमा फेरि कोरानाको नयाँ लहर देखिएकाले त्रास झन् थपिएको देख्न र सुन्न सकिन्छ । केही देशमा कोरोनाविरुद्ध खोप सुरु भएको छ । त्यसले भने केही आशा जगाएको छ ।

हाम्रो छिमेकी मुलुक भारतले नेपालीका लागि कोरोनाविरुद्धको केही डोज खोप उपलब्ध गराएको छ । त्यो खोप देशका सबै नागरिकका लागि पर्याप्त भने छैन । तर पनि त्यसले आशाको दियो जलाउने काम भने पक्कै गरेको । यद्यपि खोपको सदुपयोग र प्रभावकारितामा माथि प्रश्न त छँदैछ ।

अहिले म त्यतातिरभन्दा पनि स्टेज कार्यक्रमतिर फोकस छु । जुन कोरोनाका कारण बन्द भएका थिए र अहिले पनि खुल्न सकेका छैनन् । सरकारले कोरोनाका कारण प्रतिबन्ध गरेको फिल्म, उद्योग व्यवसाय, रेस्टुरेन्ट व्यवसायलगायत धेरै क्षेत्रको प्रतिबन्ध हटाएको छ । तर मेलामहोत्सव, स्टेज कार्यक्रम लगायतको प्रतिबन्ध भने हटेको छैन ।

नेपाली साङ्गीतिक क्षेत्रका गायक, गायिका, डान्सरलगायत अधिकांश कलाकार स्टेज कार्यक्रमबाट पालिएका छन् । त्यस्ता कार्यक्रम अझै बन्द रहँदा लाखौँ कलाकार अहिले बेरोजगार भएर घरमै सीमित हुन पुगेका छन् ।

स्टेज कार्यक्रमको आम्दानीबाट सङ्गीतमा लगानी गर्ने, परिवार पाल्नेदेखि समाजसेवामा समेत खर्चिने ती कलाकार अहिले आर्थिका अवस्थामा जिउन बाध्य भएका छन् । कतिपय कलाकार त वैकल्पिक बाटोको खोजीमा समेत लागेको देख्न र सुन्न पाइन्छ । केही भने पर्ख र हेरेको अवस्थामा रहेका छन् । स्टेज कार्यक्रम बन्दा हुँदा उनीहरुमा परेको आर्थिक समस्या, अहिले जारी क्रियाकलाप र आगामी दिनका विषयमा केही स्टेज कलाकारसँग गरिएको कुराकानी उनीहरूकै शब्दमा ।

पशुपति शर्मा (गायक) :

कोरोना सुरु भएको ९ महिना मैले स्याङ्जा गएर बिताएँ । त्यहाँ पुख्र्यौली घर भएकाले खान र बस्न समस्या भएन । आर्थिक रूपमा हेर्ने हो भने हाम्रो आम्दानीको स्रोत भनेकै स्टेज कार्यक्रम थियो । नयाँ गीतसङ्गीत निकाल्नु भनेको विकल्पका लागि मात्र हो । स्टेज कार्यक्रम नभएपछि आर्थिक रूपमा धेरै मार परेको छ ।

कोरोना समस्या विश्वमा भएकाले यसलाई अहिलेसम्म नर्मल रूपमा पनि हेरियो । पीडा पर्यो भनेर कसलाई भन्ने, आफ्नो पीडा आफ्नै मनमा राखियो । गीतसङ्गीतको अलवा अन्य केही विकल्प वा काम हुनुपर्दाे रहेछ । त्यसले बाँच्न सजिलो हुँदो रहेछ भन्ने पनि अहिले सिकियो । विकल्पका लागि अहिले हतार गर्ने पक्षमा छैन । खोज्नुपर्छ । त्यो सोच छ, खोज्छु पनि ।

देवी घर्ती (गायिका) :

स्टेज कार्यक्रम नहुँदा पूरै बेरोजार भएको धेरै भयो । गीत बनाउने, रेकर्ड गर्ने लगायत स्टुडियोका केही काम त भएका छन् । त्यसले पुग्दो रहेनछ । सधैँ गायनले हुँदैन भनेर विकल्पको रूपमा लकडाउन अगाडि एक रेस्टुरेन्ट पनि लिएका थियौँ । यो पनि मारमा पर्यो ।

अहिले रेस्टुरेन्ट त खुलेको छ । आम्दानी नभए पनि समय बिताउने बाटो भयो । अहिले दुवैतिरबाट म मारमा छु । धेरै कष्टले बाँच्ने काम भएको छ ।

थानेश्वर गौतम (गायक तथा सङ्गीतकार) :

पछिल्लो समय मैले क्यानडामा साङ्गीतिक कार्यक्रम गरेको थिए । त्यसपछि युरोप, अमेरिका, जापानलगायत करिब आधा दर्जन देशका कार्यक्रम फिक्स भएका थिए । कोरोनाले ती सबै रद्द भयो । नियमित स्टेज कार्यक्रम नभएकाले अहिले आर्थिक रूपमा धेरै मार परेको छ । हामी चल्ने र बाँच्ने आधार नै स्टेज कार्यक्रम थियो ।

तर पनि म नयाँ गीत सिर्जना गर्ने मानिस भएकाले यो समय त्यसमा पनि सदुपयोग गरिरहेको छु । पहिलेको स्टकले अहिलेसम्म टिक्ने काम भएको छ । सङ्गीतमै लामो समय बिताइयो, रगतमै सङ्गीत छ । यो छोडेर चटक्क अन्त जान सकिन्न । त्यसको विकल्पका रूपमा म सङ्गीत पनि पढाउँछु । योबाहेक अर्काे सपोर्ट गर्ने विकल्प चाहिन्छ भन्ने अहिले लागेको छ ।

मञ्जु पौडेल (गायिका) :

कार्यक्रम बन्द हुँदा मलाई लाग्छ म मात्र होइन म जस्तै स्टेज कार्यक्रममा बाँच्ने सानाठूला सबै कलाकारको आर्थिक अवस्था यतिबेला दयनीय नै छ । अहिलेसम्म जिनतिन पहिले जोगाएर राखेको पैसाले बाँचियो । अब कसरी चल्ने, कसरी बाँच्ने भन्ने चिन्ताले धेरै सताएको छ । विकल्प खोज्नुपर्छ भन्ने पनि लागेको छ ।

त्यसका लागि विगत ३ महिनादेखि म एउटा कम्पनीमा जागिर गर्न थालेकी छु । हाम्रो कलाकारिता क्षेत्र सो अपको क्षेत्र हो । यसमा काम पाउन देखाउनुसमेत पर्छ । त्यसैले जागिर सुरु गरेकी छु । जागिर अहिले चल्नका लागि मात्र हो । अब स्टेज खुले पनि विकल्पको काम पनि जारी राख्छु ।

रमेशराज भट्टराई (गायक) :

करिब एक वर्षदेखि स्टेज कार्यक्रम बन्द छन् । अझै कहिले राम्रोसँग खुल्छ भन्ने अवस्था छैन । म जस्ता सबै कलाकार जो स्टेजबाट परिवार पाल्दै, जीवन चलाउँदै आएका थिए ती सबै कलाकारलाई निकै गाह्रो भएको छ । कतिले वैकल्पिक पेसा थाले होलान् । कतिले खोज्दै होलान् तर मैले सोचिसकेको छैन ।

अब खुल्छ भन्नेमा आशावादी छौँ । सरकारको अनुमति नभए पनि फाट्टफुट्ट एक दिने कार्यक्रम हुन थालेकाले केही आशा पलाएको छ । अझै केही महिना स्टेज कार्यक्रम खुलेनन् भने हामीले वैकल्पिक बाटो रोज्नुपर्ने हुन्छ ।

गीतसङ्गीतमा निरन्तरताका लागि लगानी गरेर खर्च मात्र हुने काम भएको छ । हिजो कमाएको अहिलेसम्म पुगेको । तर पनि धेरै गाह्रो अवस्था छ ।

शिव परियार (गायक) :

म सानैदेखि स्टेज पर्फर्मेन्स गरेर गायनमा आएको हो । २०५६ बाट सङ्गीत पढ्न थालेको त्यो क्रम अहिले पनि जारी छ । गायन सजिलो रहेछ । सङ्गीत अध्ययन गाह्रो रहेछ । अहिले कोरोनाको अवस्थाले स्टेज कार्यक्रम बन्द हुँदा धेरै आर्थिक मार परेको छ ।

यस कारण मैले क्षेत्र परिवर्तन गर्नुपर्ने रहेछ वा साइडमा अर्काे केही हुनुपर्दाे रहेछ भन्ने महसुस गरेको छु । २० वर्ष भयो सङ्गीतमा लागेको । यो क्षेत्र नै पार लागेको छैन भने नयाँ क्षेत्रमा के पार लगाउन सकिएला अर्काे मेरो सोच हो । हामी जनतामा गएर दाम कमाउने हौँ । जनताको अवस्था अहिलेको दिनमा राम्रो छैन ।

नेपालमा सङ्गीतमा जति पनि चर्चित कलाकार छन् उनीहरु सबैलाई त्यो क्षेत्रमा लागानी गरौँ, अहिलेको जस्तो अब्ठ्यारो आउँदा काम लाग्छ भन्छु । म पनि त्यही सोच्दैछु ।

नवीन पौडेल (गायक) :

अहिले गीतसङ्गीत छोड्नु भएन भनेर नयाँ सिर्जना गर्ने, रेकर्ड गर्ने काम चलिरहको छ । स्टेज कार्यक्रमहरु पूरै बन्द हुँदा बाँच्न दैनिक गुजारा चलाउन भने गाह्रो परेको छ ।

बिस्तारै विकल्पको खोजी गर्ने पनि काम भइरहेको छ । पहिले यसतिर ध्यान नदिएकाले अहिले गाह्रो परेको हो । अब केही गर्नुपर्छ भन्ने लागेको छ । केहीले कलाकारलाई माया गरेर ब्रान्ड एम्बेस्डर बनाएको अवस्था पनि छ ।

कोरोनाकालको धेरै समय मैले कोरोना प्रचारप्रसार तथा जनचेतना कार्यक्रम लिएर देशको धेरै स्थानमा पुगेँ । त्यसले विकल्प खोज्न पनि भ्याइनँ । अहिले विकल्प खोज्दैछु ।

बिनु शाक्य (डान्सर) :

स्टेज कार्यक्रमबाट मेरो राम्रो आम्दानी हुन्थ्यो । अहिले बन्द भयो । पूरै बेरोजगार भइयो । त्यसले आर्थिक रूपमा निकै गह्रोसमेत बनायो । विकल्पका रूपमा अहिले अनलाइनमार्फत कपडाको काम गरिरहेको छु । केही गर्नुपर्यो भने यो काम थालेकी हुँ । खुलेपछि पनि स्टेज र यो दुवैमा समय दिन्छु ।

चर्चामा

सम्बन्धित समाचार