उत्तर कोरियाका सर्वोच्च नेता किम जोंग उनले अमेरिकालाई आफ्नो सबैभन्दा ठूलो दुश्मन बताएका छन् । साथै उनले थप उन्नत परमाणु हतियारको आवश्यकतामा पनि जोड दिएका छन् । किम जोंग उनको यो कुरा अमेरिकाका नव–निर्वाचित राष्ट्रपति जो बाइडेनका लागि निश्चित रुपमा एउटा चुनौती हो जसले केहि दिनपछि नै डोनल्ड ट्रम्पको स्थान ओगट्नेछन् ।
उनले भने, ‘हाम्रो विदेशी राजनीतिक गतिविधिको ध्यान अमेरिकालाई दबाउने तिर केन्द्रित हुनुपर्छ जो हाम्रो सबैभन्दा ठूलो दुश्मन ाहो र हाम्रो विकासमा मुख्य बाधा हो ।’ विश्लेषकका अनुसार किमको यो बयान अमेरिकाको नयाँ सरकारमाथि दबाब बनाउने एउटा प्रयास हो ।
थप नयाँ हतियार बनाउनेछौंः
राष्ट्रपति डोनल्ड ट्रम्पले सन् २०२० मा आफ्नो चुनाव अभियानको क्रममा ‘किमसँग उनको सम्बन्ध सुमधुर रहेको र उनले उत्तर कोरियाको परमाणु कार्यक्रम रोक्नका लागि उनीसँग कुरा गरिरहेको, जुन अमेरिकाको हितमा भएको’ बताउने गर्दथे । तर उनको कार्यकालमा उत्तर कोरियाको परमाणु कार्यक्रममाथि कुराकानी कम नै प्रगति भयो ।
तर ट्रम्प ह्वाइट हाउसमा केही दिनका लागि मात्रै पाहुना हुन् भनेर स्पष्ट भएपछि किम जोङ्ग उनको तर्फबाट यो प्रतिक्रिया आएको हो । किमका अनुसार अमेरिकाका प्रवृत्ति र उसको मौलिक नीति कहिले पनि उत्तर कोरियको हितमा परिवर्तन हुने खालको छैन । उनले साम्राज्यवाद–विरोधी र स्वतन्त्र शक्तिबाट आफ्नो सम्बन्ध राम्रो बनाउने कुरा गरेका छन् ।
उनले भनेका छन्, ‘उत्तर कोरिया आफ्नो परमाणु हतियारको दुरुपयोग गर्ने छैन । तर हामी परमाणु हतियारको विस्तार भने गरिरहेका छौं । यसमा हमला गर्ने उत्कृष्ट क्षमता, भिन्न भिन्न साइजको वारहेड (मिसाइलको विस्फोटक हिस्सा) समावेश छ ।’ किमले हाइपरसोनिक हतियार, अन्तरमहाद्वीपीय ब्यालेस्टिक मिसाइल(आइसीबीएम), जासुसी स्याटलाइट र ड्रोनसहित थुप्रै अन्य युद्ध उपकरण बनाउने पनि कुरा गरेका छन् ।
उनले उत्तर कोरियाले थुप्रै नयाँ हतियारको परीक्षण र उत्पादनको तयारी गरिरहेको दाबी गरे । उनले बताए अनुसार नयाँ परमाणु पनडुब्बीको शोधकार्य लगभग पूरा भइसकेको छ ।
किमको आर्थिक योजना फेल रह्योः
सोलका कोरिया युनिभर्सिटीमा उत्तर कोरिया अध्ययनका प्राध्यापक यू हो–योलले भने, ‘किमले आखिर छताछुल्ल पारिदिए कि उनको दिमागमा के छ – पनडुब्बी, मिसाइल, उत्कृष्ट आइसीबीएम र उन्नत हतियार । उनले त्यहि भनिरहेका छन् जुन पछि गएर अमेरिकालाई देखाउनेछन् जसले तनाव बढाउन सक्छ । अथवा कुराकानीको ढोका पनि खोल्न सक्छ ।’
अमेरिकाको विदेश मन्त्रालयको तर्फबाट किमको यो बयानमाथि तत्काल कुनै टिप्पणी आएको छैन । समाचार एजेन्सी रोयटर्सका अनुसार जो बाइडेनका क्याम्पेन प्रवक्ताले हाल यसमाथि टिप्पणी गर्न अस्विकार गरेका छन् । उत्तर कोरिया कडा आर्थिक प्रतिबन्धका बीच पनि आफ्नो हतियार बढाउन निकै सफल रहेको छ । तर गत हप्तामात्रै किम जोङ्ग उनले उनको पार्टीले उत्तर कोरियाका लागि बनाएको पञ्च वर्षीय आर्थिक योजना लगभग सबै क्षेत्रमा असफल साबित भएको स्विकारेका थिए ।
उत्तर कोरियाका सीमा अघिल्लो वर्ष जनवरी देखि बन्द छन् । उत्तर कोरियाले कोभिड महामारीलाई मद्देनजर गर्दै आफ्ना सीमा बन्द गर्ने घोषणाा गरेको थियो । साथै उत्तर कोरियामा कोभिडका कोही पनि संक्रमित नदेखिएको दाबी पनि गर्ने गरिन्छ ।
यसपटक पनि अमेरिकामाथि निशाना साँध्दै किम जोङ्ग उनले दक्षिण कोरियालाई छोडेनन् । उनले दक्षिण कोरियाले अमेरिकासँग मिलेर सैन्य अभ्यास गर्न र त्यहाँबाट हतियार खरिद गर्न बन्द गर्नुपर्ने बताएका छन् । किमको टिप्पणी पछि दक्षिण कोरियाको एकीकरण मन्त्रालयले एक बयानमा भन्यो, ‘नयाँ अमेरिकी सरकार आएपछि अमेरिका–उत्तर कोरिया सम्बन्ध राम्रो बनाउने एउटा राम्रो अवसर हुनसक्छ र हामी सम्बन्धलाई पुनः बहाल हुने कुरामा आशावादी छौं ।’
राष्ट्रपति बराक ओबामाको कार्यकालमा उप–राष्ट्रपति जो बाइडेनले आफ्नो चुनाव प्रचारका बेला किम जोङ्गलाई ठग भनेका थिए । यस्तै सन् २०१९ मा उत्तर कोरियाले जो बाइडेनलाई बौलाहा कुकुर बताउँदै उनलाई लठ्ठीले कुट्नुपर्ने आवश्यकता भएको बताएको थियो ।