मङ्लबार, बैशाख ४, २०८१
  • होमपेज
  • समाचार
  • तीन महिनाभित्र संसद् पुनःस्थापना हुन्छ : नेता भट्टराई

तीन महिनाभित्र संसद् पुनःस्थापना हुन्छ : नेता भट्टराई

  • बिहिबार, पुस २३, २०७७
तीन महिनाभित्र संसद् पुनःस्थापना हुन्छ : नेता भट्टराई

गण्डकी — नेकपा(दाहाल-नेपाल) समूहका नेता योगेश भट्टराईले प्रतिनिधिसभा तीन महिनाभित्र पुनःस्थापना हुने बताएका छन् । पोखरामा दाहाल-नेपाल समूह निकट जनवर्गिय संगठनको संयुक्त कार्यकर्ता भेलालाई सम्बोधन गर्दै भट्टराईले २०१७ सालको संसद् विघटन ब्युताउन ७० बर्ष लागेको, २०६० सालमा विघटन भएको संसद् पुनःस्थापना गर्न ३ वर्ष लागेको उदाहरण दिँदै प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो स्वार्थमा विघटन गरेको संसद् ब्युताउन तीन महिना पनि नलाग्ने बताएका हुन् ।

‘संसद् जुन हालतमा पनि ब्युतिन्छ,’ उनले भने, ‘धेरै होइन तीन महिनाभित्र संसद् पुन:स्थापना हुनछ । हामी यसै बोलिएको छैन् । केही तथ्य भएर नै बोलेका हौ । सर्वोच्च अदालतको प्रकृया, निर्वाचन आयोगको ध्यानाकर्षणले संसद् पुनःस्थापना हुने देखिएको छ ।’

आधिकारीक पार्टी नेकपा (दाहाल–नेपाल) रहेको बताउँदै उनले चुनाव चिन्ह सूर्य आफ्नै समूहमा हुने बताएका छन् । २०४७ को संविधानमा प्रमलाई संसद् विघटन गर्ने अधिकार भएपनि २०७२ को संविधानमा त्यो अधिकार नभएको बताउँदै नेता भट्टराईले भने, ‘पार्टीले काम गर्न नदिएपछि संसद् विघटन गर्न बाध्य भएको प्रमले बताउनुभएको छ । ओली समूहमा लाग्नेले पनि हामीलाई जवाफ दिनुपर्‍यो । हामीले कहिले, कहाँ, कसरी अवरोध गर्‍यौ ।’ विभिन्न आयोग, राजदूत र नियुक्तिमा पनि आफ्नै पकेटबाट मान्छे राख्दासमेत आफूहरु मौन बसेको उनले बताए ।

प्रधानमन्त्री ओलीलाई भारतकी नेत्री इन्दिरा गान्धीको इतिहास पढ्न अनुरोध गर्दै भट्टराईले भने, ‘अहिले प्रम ओलीलाई सत्ता र शक्तिको मात चढेको छ । अहिले पार्टीमा हुँदा पार्टीको महत्व बुझ्नुभएको छैन, जुनदिन महत्व बुझ्नुहुन्छ नी त्यो दिन उहाँ पार्टीमा हुनुहुने छैन ।’ नेकपा नफुटेको, प्रमको राजीनामा माग नगरिएको बताउँदै उनले नेकपालाई चारवटा विकल्प अझै रहेको बताए । उनले राजीनामा मागिहाल्नुपर्ने अवस्था नरहेको र सहमतिमा ओलीले नै सरकार चलाउन सक्ने बताएका छन् ।

दुई वा दुईभन्दा बढी दल मिलेर सरकार सञ्चालन गर्न सक्ने उनको भनाइ छ । ‘संसदीय दलको नेता, प्रममा सिफारिस गर्ने माधवकुमार नेपाल, आलोपालोमा सरकार चलाउने सम्झौता तोडेर ५ वर्ष नै ओलीलाई सरकार चलाउन दिने पुष्पकमल दाहालले कसरी असहयोग गरे ?,’ भट्टराईले भने । उनले व्यक्तिको रिसले घर र बस्ती सल्काउनतर्फ होइन, नयाँ बस्ती सिर्जना गर्नतर्फ लाग्न कार्यकर्तालाई अनुरोध गरेका छन् ।

भट्टराईले पार्टी एकता गर्दा गरिएका ५ बुँदे सहमति बाहिर सार्वजानिक भएपछि प्रम ओलीले नकरात्मक हुँदै आफूखुशी चल्दै आएको बताए । शक्तिको उन्मादले डोनाल्ड ट्रम्मकै हालमा ओली पुग‍ने उनले बताए ।

शिक्षा मन्त्रालयको चुच्चे नक्साको पुस्तक सार्वजानिक गर्न नदिनुको नियतमाथि पनि प्रश्न गरेका थिए । जनताको अभिमत राख्ने थलो संसद् भएकाले पुनःस्थापना हुनेमा उनी ढुक्क थिए । उनले नेपालको इतिहासमा भएका संसद् विघटन, त्यसपछिको सरकार र पार्टीको अवस्था, नेतृत्वको उदाहरण दिँदै भने, ‘कृष्णप्रसाद भट्टराई प्रम हुँदा आफ्नै पार्टीले अविश्वासको प्रस्ताव लग्यो । उनले पार्टी र देश जोगाउन प्रमबाट राजीनामा दिए । अधिकार भएर पनि संसद् विघटनतर्फ लागेनन् । तर, ओलीले अधिकार नै नहुदाँ पनि संसद् विघटन गराए ।’

चर्चामा

सम्बन्धित समाचार