शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • ट्रम्पले केही घन्टा फेसबुक र ट्वीटरमा पोष्ट गर्न नपाउने

ट्रम्पले केही घन्टा फेसबुक र ट्वीटरमा पोष्ट गर्न नपाउने

  • बिहिबार, पुस २३, २०७७
ट्रम्पले केही घन्टा फेसबुक र ट्वीटरमा पोष्ट गर्न नपाउने

सामाजिक सञ्जाल ट्वीटर र फेसबुकले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ह्यान्डल केही घन्टाका लागि बन्द गरिदिएका छन्। बुधबार राष्ट्रपति ट्रम्पले संसद भवनभित्र छिरेका हुलदंगाकारीको भिडिओ ट्वीटर र फेसबुकमा पोष्ट गरेका थिए। उनले तोडफोडमा उत्रिएका उनीहरूलाई राष्ट्रवादी बताउँदै शान्तिपूर्ण तरिकाले घर फर्कन भनेका थिए।

सुरूमा ट्वीटरले उनको भिडिओलाई चुनावी धाँधलीसम्बन्धी यो दाबी विवादित छ भनेर लेखेको थियो तर पछि उनले फेरि आफूले जितेको चुनाव खोसिएपछि यस्ता प्रदर्शन हुनु स्वभाविक भएको उल्लेख गर्दै अर्को ट्वीट लेखे।

केहीबेरमा ट्वीटरले उनका यी दुबै पोष्टलाई हटाउँदै उनको ह्यान्डल १२ घन्टाका लागि लक गरिएको जानकारी दिएको छ। आफ्नो कम्पनीको नियमविपरीत भएकाले ट्रम्पको ह्यान्डल लक गरिएको ट्वीटरको भनाइ छ। ट्वीटरले बहालवाला अमेरिकी राष्ट्रपतिको ह्यान्डल पहिलो पटक लक गरेको हो।

ट्वीटर सेफ्टीले आवश्यकताअनुसार ट्रम्पको ट्वीट अझै बढी समय लक हुने उल्लेख गरेको छ। नोभेम्बर ३ मा भएको निर्वाचनमा पराजित हुने भएपछि नै ट्रम्पले ट्वीटरमा चुनावमा धाँधली भएको बताउन सुरू गरेका थिए। सुरूदेखि नै ट्वीटरले उनका ट्वीटमा चुनावसम्बन्धी यो कुरा विवादित छ भनेर ट्याग राखिदिन्थ्यो।

ट्वीटरमा ट्रम्पका ८ करोड ८७ लाख फ्लोअर्स छन् भने उनी मन्त्रीहरूलाई बर्खास्त गर्नेसम्मको निर्णय ट्वीटरबाटै सार्वजनिक गर्ने गर्थे। बुधबार डेमोक्र्याटिक उम्मेदवार जो बाइडेनको जित घोषणा गर्न संसद बसेका बेला ट्रम्पका समर्थक सुरक्षा घेरा तोड्दै संसद भवनमा छिरेका थिए। सुरक्षाकर्मीले चलाएको गोली लागेर अहिलेसम्म एक जना महिलाको मृत्यु भइसकेको छ।

ट्वीटरले ट्रम्पको ह्यान्डल लक गरेको केही समयपछि फेसबुकले पनि उनको एकाउन्ट २४ घन्टाका लागि बन्द गरिदिएको छ। फेसबुक न्युजरूमले ट्रम्पको पेजले आफ्नो कम्पनीका दुई नीति उल्लंघन गरेको पाइएकाले उनलाई २४ घन्टाका लागि कुनै कुरा पोष्ट गर्न प्रतिबन्ध लगाइएको जनाएको छ।

चर्चामा

सम्बन्धित समाचार