तपाईंहरूको कुन आदेश मानेनौं हामीले ? राणा विरूद्ध लड्न बोलाउनुभयो । राणाशाही अन्त्य नहुन्जेल लड्यौं । पञ्चायतविरूद्ध लड्न बोलाउनु भयो । पञ्चायत नढलुन्जेल लड्यौं । जनयुद्ध लड्ने आदेश दिनुभयो । जनयुद्ध पनि लड्यौं । कृपया भनिदिनुस् नेतागण, हामीले तपाईंहरूको कुन आदेश मानेनौं ? हामीले तपाईहरूमाथि के अन्याय गर्यौं ? के अपराध गर्यौं ? के पाप गर्यौं ? जसको सजायँ हामी जनतालाई यति निर्ममतापूर्वक दिइरहनु भएको छ ?
कर्णालीको नागरिकले सुन मागेको छैन नेतागण ! अहिले पनि केवल नुन माँगिरहेको छ । मधेसका मुसहर,चमारहरूले दरबार मागेका छैनन् सरकार ! अहिले पनि केवल घरबार मागिरहेका छन् । दलितहरूले मान्छे हुनुको अधिकार मागिरहेका छन् । युवाहरूले आफ्नै देशमा स्वरोजगार/रोजगार मागिरहेका छन् । महिलाले समानता र सुरक्षा खोजिरहेका छन् । हो नेतागण ! हो सरकार !! हामी नागरिकले न्याय, सुरक्षा, शान्ति र समृद्धि खोजिरहेका छौं । के यो हाम्रो अपराध हो ?
तपाईहरूको ब्यक्तिगत अहं तुष्टिका लागि हामी नागरिक तपाईहरूका विचारको शिकार कति दिन भइरहने ? अनि कति समय तपाईहरूको वादको बन्दी बनिरहने ? नेतागण ! तपाईहरूको भर्यांग अब कति वर्ष बन्नुपर्छ हामीले ? अनि तपाईहरूको दासत्वबाट कहिले अमलेख हुन्छौं हामी ? “कि नागरिकले भोट दिएवापत नेताले दिने चोट नागरिकले सही रहनुपर्ने तन्त्रको नाम नै लोकतन्त्र हो ? के हो नेतागण लोकतन्त्र भनेको ?”
तपाईहरू आफूलाई भगवान पनि घोषणा गर्न सक्नुहुन्छ । तर, यथार्थमा तपाईंहरू रंग फेरिरहने रंगीन छेपारो हो । तपाईंहरूको कुरा पत्याइसाध्ये छैन ।धरोधर्म नेतागण ! हजुरहरू हजार जिब्रो भएको शेष नागभन्दा कम हुनुहुन्न ।
हाम्रो भोटले राष्ट्रपति बन्नु भो, प्रधानमन्त्री बन्नु भो, मन्त्री बन्नु भो । हामीलाई शासन गर्ने शासक बन्नु भो । हामी नागरिकको अपेक्षा थियो, हाम्रा नेताहरू शासक होइन; हाम्रा सेवक बनुन् । हाम्रो असल अभिभावक बनुन् । समस्यामा साथ दिने सहृदयी साथी बनुन् ।
युद्ध शब्द आफैँमा भयानक लाग्छ । साह्रै अप्रिय र कर्णकटु लाग्छ । तर बिडम्बना, मानव सभ्यताको अधिकांश इतिहास युद्धले भरिएको छ । नेपालको इतिहास पनि त्यसको अपवाद छैन । पृथ्वीनारायण शाहको नेतृत्वमा भएको नेपाल एकीकरणको युद्ध भनौं वा राणा शासन बिरूद्ध नेपाली काँग्रेसले गरेको लडाइँ वा पन्चायत बिरूद्ध अहिलेका एमाले नेताहरूले गरेको संघर्ष वा पछिल्लोचोटि माओवादीको नेतृत्वमा भएको जनयुद्ध ।
यी सबै युद्ध र आन्दोलनहरूमा गरेर हजारौं हजार मानिसहरूको ज्यान गएको छ । लाखौं लाखको अंगभंग भएको छ । नानीहरू टुहुरा भएका छन्,आमाहरूको काख रित्तिएको छ, चेलीहरूको सिन्दुर पुछिएको छ । घरबार बिहीन भई बिस्थापित हुनेहरूको त कुरै नगरौं । तर पनि समयसँगै सबैले आफूलाई सम्हाल्दै आएका छन् । किनकि, यी सबै देशको लागि थियो; परिबर्तनका लागि थियो ।
सकारात्मक सोंच र कुशल नेतृत्वले यो देश बन्ने जति सम्भावना छ, नकारात्मक सोच र दुर्बल नेतृत्वले बिग्रने खतरा पनि त्यतिकै छ । सम्हालिनुस् । यो आफूले आफैँलाई सम्हाल्ने समय हो । शिखरमा हुनेहरू सधैँ जोखिममा हुन्छन् । शिखर ब्यक्तित्वहरू ब्यक्ति भएर पनि केवल एउटा ब्यक्ति मात्र हुँदैनन् संस्था हुन्छन् । सार्वजनिक पद धारण गरेका व्यक्तिहरू निकै अनुशासित र आदर्शवान हुनु पर्छ । सिक्ने भनेको ठूलाबाट नै हो ।
जनताप्रति इमानदार, सिद्धान्तनिष्ट, इच्छाशक्तिले युक्त, भिजिनरी नेताका लागि नेपाल बनाउने सबैभन्दा सुनौलो मौका थियो । सायदै यस्तो सुनौलो मौका फेरि दोहोरिएला । अस्थिर सरकार नेपालको चुरो समस्या हो । समस्याको चुरो पत्ता लगाएर जनताले स्थिर सरकारका लागि म्यान्डेट दिएको थियो ।
बदलाभावले परिवार,समाज,देश कहिँ पनि शान्ति ल्याउँदैन । बदलाभावको अनिबार्य परिणती हत्या, हिंसा र द्वन्द नै हो । के हामी फेरि अर्को द्वन्द चाहन्छौं ? पक्कै चाहँदैनौं । हामी चाहन्छौं, एकता, शान्ति र समृद्धि ।