काठमाडाै–अहिले नेकपा ठूलो संकटमा छ। विवाद उत्कर्षमा पुगेको छ। तर, पार्टी एकताको स्प्रिट, कार्यकर्ताको भावनालाई सबैले सम्मान गर्नुपर्छ। यसको अर्थ के हो भने अहिलेको विवाद समाधान भनेको समझदारी नै हो। यो भन्दा अर्को विकल्प छैन।
समझदारीका लागि एकताको स्प्रिट, हाम्रो विधान र लामो समयको समुद्र मन्थनपछि भदौ २६ गते आएको निचोडलाई आधार बनाउनुपर्छ। अल्पमत र बहुमतको खेलले कसैलाई फाइदा गर्दैन। त्यो हाम्रो हितमा छैन। त्यसैले अहिलेको समस्या हल गर्न समझदारीको अर्को विकल्प छैन।
अहिले पार्टी एकतालाई अप्ठ्यारोमा पार्न खोजिएको छ। केही पात्र र प्रवृत्तिले यसलाई प्रतिष्ठाको विषय बनाएका छन्। मूल विषय भुलेर प्रतिष्ठाको लडाइँमा लाग्दा हामी कहीँ पुग्दैनौं। अहिले मूल नेतृत्वलाई मिल्न नदिने केही पात्र सक्रिय बनेका छन्। मूल नेतृत्वलाई मिल्न नदिने, भड्काउने र आफ्नो स्वार्थ पूरा गर्ने काम भइरहेको छ। प्रचण्डलाई घेराबन्दीमा पारिएको छ। यसमा पूर्वएमालेकै नेताहरु सक्रिय छन्। जुन हाम्रो पार्टीको उद्देश्य, लक्ष्य र विधिका हिसाबले समेत गलत छ। सँगै एकताको मर्म र भावना विपरीत छ।
पार्टीभित्र यसअघि पनि बबण्डर हुँदै आएका हुन्। अहिले जो–जो व्यक्ति केपी ओलीविरुद्ध लागेका छन्, उनीहरु यसअघि पनि मच्चिएकै हुन्। तर, उनीहरु मच्चिए मच्चिए अन्तिममा थच्चिए। अब पनि त्यस्तै हुने हो। प्रचण्डलाई उकास्ने, तपाईं कार्यकारी अध्यक्ष भएपनि काम गर्न पाउनु भएन भन्ने। अनि ओलीविरुद्ध जुर्मुराउने यस्तो हुँदै आएको छ। तर, दुई अध्यक्ष मिल्नुको विकल्प देखिँदैन र अन्त्यमा त्यही हुन्छ।
जसरी प्रचण्ड कमरेडले ओलीविरुद्ध प्रस्ताव अघि सार्नु भएको छ। त्यो आफैँमा गलत छ। तर, प्रचण्डले प्रस्ताव भनेर पेश गरेको उक्त आरोप पत्रको लिखत तयार अरुले नै गरेका हुन्। पछि उहाँले आफ्नो नाममा पेश गर्नुभएको हो। त्यो गलत दस्तावेज न पार्टीको सम्पत्ति हुनसक्छ, न त त्यसको कुनै अर्थ नै छ।
अब ओलीले त्यसको जवाफ दिइरहनु पर्छ भन्ने मलाई लाग्दैन। उहाँले राजनीतिक विश्लेषण गर्नु हुनेछ, अहिलेको परिस्थितिलाई विश्लेषण गरे निष्कर्ष सचिवालयमा राख्नु हुनेछ। यी काम भए, यी हुन सकेनन्। यी कमिकमजोरी भए, अब यसो गर्न सकिन्छ भनेर उहाँले सचिवालयमा आफ्नो धारणा राख्नुहुनेछ। हामीसँग एकताको विकल्प छैन। अब एकताको महाधिवेशन गर्ने र त्यहीँबाट नेतृत्वको छिनोफानो हुनेछ।
ओलीको राजनीतिक जीवनमा यो किसिमले दुःख दिइएको यो पहिलो पटक होइन। तर, एकता पछि यसरी आरोप र लाञ्छना लगाइएको भने यो पहिलो पटक हो। तत्कालीन एमालेमा उहाँलाई कार्यकर्ताको बीचमा जान दिइएन। २०६९ सालमा सुरेन्द्र पाण्डेले पार्टी बैठकमा ११ बुँदे आरोप लगाउनुभएकै हो। तर, उहाँले तत्काल माफी मागेर फिर्ता लिनुभएको थियो। अहिलेको यो आरोप पत्र तयार गर्दा पनि तिनै पात्र संलग्न भएको सुनिएको छ। लाञ्छना र आरोप लगाएर एकता हुँदैन। त्यसले पार्टी र देशको हित हुँदैन।
अहिलेको देखिएका विवाद साम्य हुनैपर्छ। पार्टी विभाजनको लिखत तयार पारेर हामी कहाँ पुग्छौँ? पार्टी एकता भंग गर्ने कोशिश त भएकै छन् तर हामी त्यसो हुन दिँदैनौँ। केपी ओली र प्रचण्डबीच एकता हुन्छ भनेर धेरै सोचेका थिएनन्। तर, सबैको अनुमानलाई गलत सावित गर्दै उहाँहरुले एकता गर्नु भएको हो। उहाँहरुका आ–आफ्नै विशेषता छन्। गुण, अवगुण पनि होलान्।
तर, उहाँहरुले सकारात्मक परिणाम ल्याएको पनि हामीलाई थाहा छ। अहिले आक्रोश, आवेग र पूर्वाग्रहले प्राथमिकता पाएकाले नकारात्मक स्थिति देखा परेको हो। प्रतिष्ठाको लडाइँ छोडेर विवेकको प्रयोग गर्ने हो भने समाधान निस्कन्छ। अब सकियो मिल्नै सकिँदैन भन्ने स्थितिमा पनि मिलनविन्दु पहिल्याउन सकिन्छ। त्यसका लागि दुई अध्यक्ष एक हुनु पर्छ र आफ्नो अनुभव, उर्जा र ज्ञानको विवेकपूर्ण ढंगले प्रयोग गर्नुपर्छ।
नेकपाको कुनै पनि पंक्तिले पार्टी विभाजन देख्न त के सुन्न पनि चाहेको छैन। हामीले पार्टी एकता देशको समृद्धि, राजनीतिक स्थायित्व र त्यसका लागि बहुमतको सरकार बनाउन गरेको हो। अब विभाजनले हाम्रा सपना पूरा गर्न सक्ला त? पक्कै सक्दैन। भोलि हामीमाथि विश्वास गरेका कार्यकर्ता र जनताले प्रश्न गर्दा जवाफ दिने हिम्मत कोसँग होला र? त्यसै विभाजन आत्मघाती सावित हुनेछ। त्यसतर्फ कोही पनि लाग्न हुँदैन। सबै षड्यन्त्रलाई खारेज गरेर अघि बढ्नुपर्छ।
पार्टी एकता बचाउँदै एकता महाधिवेशनमार्फत नीति र नेतृत्वको टुंगो लगाउनुपर्छ। हामीले त्यसकै लागि प्रयत्न गरिरहेका छौँ। दुई अध्यक्षमात्रै होइन, हाम्रा पार्टीका सबै नेता मिल्नुपर्छ। जब गुटमा समिकरणको खेल हुन्छ, त्यसले भयानकतातर्फ लैजान्छ। अहिले भइरहेको त्यही हो। नेपालको कम्युनिष्ट आन्दोलन र अन्य पार्टीमा पनि गुट हाबी भएका छन्।
अहिले यसो हेर्नुस् त माधव नेपाल, झलनाथ खनाल, बामदेव गौतमदेखि नारायणकाजी श्रेष्ठसम्मका फरक–फरक पात्र र फरक–फरक प्रवृत्ति। उहाँहरु टुटफुटदेखि गुटमा रमाउने नेताहरु होइन। कति त टुटफुटमा आफैँ पनि संलग्न हुनुभएको छ। उहाँहरुको समिकरणले खतरा पैदा गरेको छ। यो पार्टी हितका लागि बडो खतरनाक छ।
गुटको समिकरण भएपछि विचारको बहस हुँदैन। त्यसैले यी सबै कुरा त्यागेर समझदारीमा अघि बढ्ने हो र एकता महाधिवेशन पछि नीति नेतृत्वको टुंगो लगाउने हो। #साभार काठमाडाै प्रेस