शुक्रबार, पुस २६, २०८१
  • होमपेज
  • शिक्षा
  • त्रिविका स्थगित परीक्षा अब हुने

त्रिविका स्थगित परीक्षा अब हुने

  • शुक्रबार, कार्तिक २१, २०७७
त्रिविका स्थगित परीक्षा अब हुने

लामो पर्खाइपछि त्रिभुवन विश्‍वविद्यालय (त्रिवि) ले विद्यार्थीको परीक्षा गराउने भएको छ । कोभिड १९ को कारणले चैतमा रद्द भएका परीक्षाहरु हुन लागेका हुन् । कोरोना महामारीबीच काठमाडौं विश्‍वविद्यालय (केयू) र पूर्वाञ्चल विश्‍वविद्यालय (पीयू)ले अनलाइनबाट परीक्षा लिइसकेका छन् । तर ८ लाख विद्यार्थी भएको त्रिविले पुरानै शैलीमा परीक्षा लिन लागेको हो ।

त्रिविमा हुन लागेका परीक्षाबारे जानकारी दिँदै परीक्षा नियन्त्रक पुष्पराज जोशीले नेपाल सरकारले नै परीक्षा लेऊ भनेपछि हामीले लिन लागेको भन्दै उनले स्‍नातक चौथो वर्षको परीक्षाको कार्यतालिका निकालेको जानकारी दिए । मंसिरको दोस्रो साताबाट सुरु हुने परीक्षा वैशाखसम्म सम्पूर्ण विषय तथा स्‍नातक र स्‍नातकोत्तर र वार्षिक तथा सेमेस्टर प्रणाली सबै सकाउने प्रयत्‍न रहेको उनले बताए ।

विगतमा एउटा परीक्षा गराउन ९० देखि सय सेन्टर भए पुग्‍नेमा यसपटक दोब्बर नै परीक्षा सेन्टर रहने नियन्त्रक जोशीले जानकारी दिए । भन्छन्, ‘‘भौतिक दूरी कायम गराएर परीक्षा लिँदै छौं । स्वास्थ्यको मापदण्ड हेरेर गर्दा सेन्टरको संख्या थप्‍न पर्छ ।

यस्तै, कोरोना संक्रमित विद्यार्थी परीक्षा दिन आउने हो भने त्यस्ता विद्यार्थीलाई सबै विद्यार्थी आइसकेको १५ मिनेटपछि मात्र परीक्षा केन्द्रमा जान दिने उनले बताए । सो संक्रमित विद्यार्थीलाई प्रश्नपत्र दिँदा शिक्षकलाई पनि फेस सिल्ड, स्यानिटाइजरलगायत समग्रीसहित खटाउने उनले बताए । कोरोना संक्रमित विद्यार्थीले पछि परीक्षा दिन्छुभन्दा पनि दिन मिल्ने व्यवस्था गर्न सकिने उनले जानकारी दिए ।

केयू र पीयूका हजारौँ विद्यार्थी संख्याको दाँजोमा त्रिविमा लाखौं हुने भएकाले अनलाइन या अन्य प्रणालीबाट परीक्षा गराउन नसकिने जोशी बताउँछन् । त्रिवि प्राज्ञिक परिषद्को असोज २७ को बैठकले चौथो वर्षका नियमित तथा आंशिक तथा परीक्षार्थीहरुका लागि यसपटक मात्र आफू बसिरहेको जिल्लामा पायक पर्ने परीक्षा केन्द्रबाट परीक्षा दिन सक्ने सुविधा दिएको छ । जोशी भन्छन्, “काठमाडौंमा पढिरहेका तथा जिल्लामा बसिरहेका विद्यार्थी कोही परीक्षा दिनबाट नछुटुन् भनेर यस्तो निर्णय गरेको हो । काठमाडौं आउँदा क्‍वारेन्टिन बस्नुपर्ने, भनेका बेला कोठा पाउन नसक्ने हुँदा यही ठीक हो ।” बल्खुस्थित परीक्षा नियन्त्रक कार्यालय अनुसार देशभर मनाङबाहेक ७६ वटा ठाउँमा परीक्षा केन्द्र उपलब्ध छन् ।

‘‘आर्थिक दायित्व बढेको छ । अर्को वर्ष परीक्षा गर्ने शैली परिवर्तन हुनसक्छ । पूरै ३ घण्टा परिक्षा हुन्छ, शनिबार र बिदाका दिन पनि परिक्षा गर्छौं,’’ उनले भने ।

व्यवस्थापन संकायमा मात्रै त्रिविमा २८ वटा प्रोग्राम छन् । मंसिरको तेस्रो साताबाट व्यवस्थापन संकायका परीक्षा हुन लागेको प्रा.डा. सहायक डिन ध्रुवकुमार गौतमले जानकारी दिए । उनले चैतमा लकडाउनअगावै केही विषयका परीक्षा भइरहेको स्मरण गर्दै अधुरो छाडिएका परीक्षा पहिला सक्ने उनले बताए । उनी भन्छन्, “तिहारअघि रुटिन निकाल्छौं । वर्ष ग्याप नहोस् भनेर महत्त्वपूर्ण परीक्षाहरु पहिले सकाउँछौँ ।” उनले जिल्लामा बसेका विद्यार्थीले पायकपर्ने ठाउँमा परीक्षा दिन सकिने विषयमा पनि छलफल चलिरहेको तर निर्णय हुन बाँकी रहेको बताए ।

कक्षा १२ को परीक्षा आफ्नै विद्यालयमा हुने
लामो समय रोकिएको कक्षा १२ को परीक्षा ४० प्राप्तांकको मात्र हुने भएको छ । परीक्षा आफ्नै विद्यालयमा हुने र परीक्षा अवधि डेढ घण्टा बनाइएको प्रवक्ता दीपक शर्माले बताए । यस्तै उनले भौतिक दूरी कायम गरी स्वास्थ्य मापदण्ड पूरा गरी परीक्षा गरिने बताए । मंसिर ९ गतेबाट १२ को परीक्षा हुन लागेको हो । परीक्षा आफूलाई पायक पर्ने ठाउँबाट दिन पाउने सुविधा दिएको बताउँदै उनले त्यस्ता विद्यार्थीको संख्या ट्रेस गरिरहेको बताए । उनी भन्छन्, “क्याम्पसलाई जानकारी गराएर त्यस्ता विद्यार्थीको जानकारी लिएर विवरण राखेका छौँ । कोरोना संक्रमितलाई पछि परीक्षा दिने व्यवस्था गर्दैछौँ ।”

चर्चामा

सम्बन्धित समाचार