शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • राजनीति
  • खुमलटारमा प्रधानमन्त्रीका ‘दूत’हरुको ओइरो

खुमलटारमा प्रधानमन्त्रीका ‘दूत’हरुको ओइरो

  • शुक्रबार, कार्तिक १४, २०७७
खुमलटारमा प्रधानमन्त्रीका ‘दूत’हरुको ओइरो

काठमाडौं —  सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली शुक्रबार बिहान खुमलटार पुगेका छन् ।

नेकपा अध्यक्षद्धयको सम्वाद टुटेपछि प्रधानमन्त्री केपी शर्मा ओली निकट नेताहरु खुमलटार पुगिरहेका छन् । ज्ञवाली पछिल्लो तीन दिनमा खुमलटार पुग्ने प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली निकट तेस्रो नेता हुन् । यसअघि बुधबार संसदीय दलका उपनेता सुवास नेम्वाङ र अर्थमन्त्री एवं पार्टी महासचिव विष्णु पौडेल र बिहीबार प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल पुगेका थिए ।

नेताहरुले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीसँग सम्वाद गर्न आग्रह गर्दै आएका छन् । प्रचण्डले भने आफू कन्ट्याक्ट ट्रेसिङमा परेकाले बालुवाटार नजाने जवाफ दिँदै आएका छन् ।

शुक्रबार खुमलटार पुगेका नेकपा स्थायी कमिटी सदस्य समेत रहेका मन्त्री ज्ञवालीले प्रचण्डसँगको भेटवार्ता नियमित भएको बताए । ‘एक जना स्थायी कमिटी सदस्यले आफ्नो पार्टी अध्यक्षलाई भेट्नु सामान्य कुरा हो, त्यस्तो कुनै उल्लेख्य कुरा भएन’, ज्ञवालीले भने ।

स्रोतले भने प्रचण्डसँग भएको भेटमा ज्ञवालीले दुई अध्यक्षको सम्वादलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका थिए । कात्तिक ४ मा नेकपाका अध्यक्षद्वय ओली–प्रचण्डबीच कर्णाली विवाद समाधानबारे लामै कुरा भएको थियो ।

तर आफूसँग भएको सहमति विपरीत ओलीले निर्णय लिएको भन्दै प्रचण्डले भेटवार्ताको निम्तो अस्वीकार गर्दै आएका छन् । विशेष गरी मन्त्रिपरिषद् पुनर्गठन, राजदूतहरुको सिफारिस र कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध पार्टीमा अविश्वास प्रस्ताव आएपछि प्रचण्ड ओलीसँग सम्वादमा बस्न मानिरहेका छैनन् ।

ओली र प्रचण्ड बीचको मतभेदकै कारण कात्तिक १५ मा निर्धारित केन्द्रीय कमिटी बैठक एक महिना पछाडि सारिएको छ । गएको भदौ २६ को स्थायी कमिटी बैठकले चैतमा निर्धारित एकताको महाधिवेशनको तयारी थाल्न कात्तिक १५ मा केन्द्रीय कमिटी बैठक बस्ने निर्णय गरेको थियो ।

चर्चामा

सम्बन्धित समाचार