बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • समाज
  • २४ घण्टाभित्र प्रदेश १ मा कोरोनाबाट नौ जनाको मृत्यु

२४ घण्टाभित्र प्रदेश १ मा कोरोनाबाट नौ जनाको मृत्यु

  • बिहिबार, अशोज २९, २०७७
२४ घण्टाभित्र प्रदेश १ मा कोरोनाबाट नौ जनाको मृत्यु

विराटनगर : विभिन्न अस्पतालमा उपचाररत र होम आइसोलेसनमा गरी पछिल्लो २४ घण्टाभित्र प्रदेश १ मा कोरोना भाइरस संक्रमित नौ जनाको मृत्यु भएको छ ।  प्रदेशभित्र एकै दिनमा कोरोनाका कारण मृत्यु भएको यो संख्या अहिलेसम्मकै धेरै हो ।

धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत पाँचजना, विराटनगरको कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा दुईजना, विराट नर्सिङ होम एवं विराटनगर अस्पतालमा एक र धरानमा होम आइसोलेसनमा एकजनाको ज्यान गएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयले प्रदेशभित्र दैनिक मृत्यु हुने र नयाँ थपिएका संक्रमितको संख्या प्रत्येक दिन चार बजे सार्वजनिक गर्ने गरेको छ ।

मृत्यु हुनेमा सुनसरीको धरानका चार, इटहरीका एक, मोरङको विराटनगरका एक, सुन्दरहरैँचाको एक र तेह्रथुमका दुई जना छन् । तेह्रथुमका ३१ वर्षीय पुरुषको बिहीबार बिहान ७:१५ बजेतिर उपचारका क्रममा बीपी प्रतिष्ठानमा मृत्यु भएको छ । प्रतिष्ठानका सह–प्रवक्ता डा. आशिष श्रेष्ठका अनुसार मृगौलामा समस्या, मधुमेह र उच्च रक्तचापका बिरामी रहेका पुरुषको रिपोर्ट विराटनगरस्थित कोशी अस्पतालको प्रयोगशालाबाट पोजेटिभ आएको हो ।

उनलाई थप उपचारका लागि कोशीबाट धरान पुर्‍याइएको थियो । कोरोना पुष्टिसँगै बिरामीलाई असोज ११ गते प्रतिष्ठानको कोभिड–१९ अस्पतालमा भर्ना गरेर उपचार थालिएको उनको भनाइ छ ।

त्यसैगरी, इटहरी उपमहानगरपालिका–२० की ७५ वर्षीया वृद्धा महिलाको बिहीबार बिहान १२:५ बजेतिर उपचारकै क्रममा मृत्यु भएको छ । श्रेष्ठका अनुसार उच्च रक्तचापको समस्या रहेकी वृद्धामा असोज २८ गते कोरोना संक्रमण पुष्टि भएपछि उपचारका लागि प्रतिष्ठानमा भर्ना गरिएको थियो । वृद्धाको उपचारकै क्रममा आकस्मिक कक्षमै मृत्यु भएको उनले बताए ।

त्यस्तै धरान उपमहानगरपालिका–९ का दुई जना संक्रमितको प्रतिष्ठानमै मृत्यु भएको छ । प्रतिष्ठानकै प्रयोगशालामा असोज २५ गते कोरोना संक्रमण पुष्टि भएका ५८ वर्षीय पुरुषको कोभिड –१९ अस्पतालमा बुधबारराति ११:५५ बजेतिर मृत्यु भएको हो । असोज २८ गते कोभिड अस्पतालमा भर्ना भएका बिरामीमा कुनै दीर्घ रोग भए/नभएको जानकारी हुन नसकेको प्रतिष्ठानले जनाएको छ ।

धरान– ९ कै कोरोना संक्रमित ४४ वर्षीया महिलाको बुधबार अपरान्ह ३:१५ बजेतिर उपचार गर्दागर्दै मृत्यु भएको सह–प्रवक्ता डा. श्रेष्ठले जानकारी दिए । महिलाको पनि दीर्घ रोगबाट जानकारी नभएको जनाएको प्रतिष्ठानले असोज २७ गते पीसीआर रिपोर्ट पोजिटिभ आएको बताएको छ । असोज २८ गते महिलालाई कोभिड अस्पतालमा भर्ना गरी उपचारमा राखिएको थियो ।

उता तेह्रथुम दाङ्पा–१ का ४९ वर्षीय पुरुषकोसमेत प्रतिष्ठानको आकस्मिक कक्षमा बुधबार बेलुका उपचारका क्रममा मृत्यु भएको थियो । उनलाई जिल्ला अस्पताल धनकुटाबाट थप उपचारका लागि प्रतिष्ठान ल्याइएको थियो । सह–प्रवक्ता डा. श्रेष्ठका अनुसार मृतक सबैको शवको व्यवस्थापन नियमानुसार हुनेछ । प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु हुनेको संक्रमितको संख्या ५८ पुगिसकेको उनको भनाइ छ ।

त्यस्तै धरान उपमहानगरपालिका–१६ का करिब ६० वर्षीय संक्रमित पुरुषको आफ्नै घरमा मृत्यु भएको छ । कोरोना पुष्टि भए पनि होम आइसोलेसनमै रहेका पुरुषको बुधबार साँझतिर मृत्यु भएको जानकारी दिए पनि उपमहानगरपालिकाले थप कुरा खुलाएको छैन ।

विराटनगरमा उपचाररत कोरोना भाइरस संक्रमित एक महिला र दुई पुरुष गरेर तीन जनाको मृत्यु भएको छ । विराट नर्सिङ होम एवं विराटनगर अस्पतालमा उपचाररत मोरङको सुन्दरहरैँचा नगरपालिका–५ की ४० वर्षीया एक महिलाको बुधबार साँझ ७ बजेतिर मृत्यु भएको छ । मुटु सम्बन्धी समस्या भएर उपचारका लागि गत मंगलबार ल्याइएकी महिलालाई श्वासप्रश्वासको पनि समस्या थपिएपछि स्वाब संकलन गरेर पीसीआर परीक्षण गराउँदा रिपोर्ट पोजेटिभ आएको हो ।

महिलामा मंगलबार साँझनै कोरोना देखिए पनि नर्सिङ होमले थप उपचारका लागि कोभिड अस्पतालमा लैजान नदिँदा भोलिपल्ट मृत्यु भएको आरोप आफन्तले लगाएका छन् । आफन्तका अनुसार महिलामा मुटुसम्बन्धी पुरानै समस्या थियो । तर नर्सिङ होमले भने आधिकारिक रुपमा मृत्युको जानकारी दिएको छैन ।
यसैबीच विराटनगरकै कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा उपचाररत दुई जना संक्रमित पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा विराटनगर महानगरपालिका–४ का ५० वर्षीय र सुनसरीको धरान उपमहानगरपालिका–१५ का ६६ वर्षीय पुरुष रहेका छन् ।

उपचार केन्द्रका व्यवस्थापक ज्ञानबहादुर बस्नेतका अनुसार विराटनगरका पुरुषलाई पीसीआर परीक्षण गराउँदा असोज २१ गते रिपोर्ट पोजिटिभ आएको थियो । त्यही दिन राति अस्पताल भर्ना गरिएका उनको बिहीबार बिहान ३:३० बजेतिर मृत्यु भएको जानकारी बस्नेतले दिए ।

स्वास्थ्य अवस्था गम्भीर बनेर गएपछि पुरुषलाई भेन्टिलेरमा राखिएको थियो । मृतकमा मधुमेहको पुरानै समस्या रहेको बस्नेतले बताए । त्यस्तै गत सोमबार कोरोना पुष्टि भए पनि होम आइसोलेसनमा रहेका धरानका वृद्ध पुरुषलाई श्वासप्रश्वासको समस्या बढेपछि उपचारका लागि बुधबार कोभिड अस्पताल भर्ना गरिएको उनले बताए । उनको उपचारकै क्रममा बुधबार राति ९ बजेतिर मृत्यु भएको जानकारी बस्नेतले दिए । मृतकमा मधुमेह, उच्च रक्तचाप लगायतका स्वास्थ्यसम्बन्धी पुरानै समस्या रहेको उनको भनाइ छ । प्रदेश १ मा मृत्यु हुने कोरोना संक्रमितको संख्या हालसम्म एक सय २२ पुगेको छ । #अन्नपुर्ण

चर्चामा

सम्बन्धित समाचार