शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • प्रदेश २
  • महोत्तरीका आठ पत्रकारकाे कोभिड–१९ पुष्टि

महोत्तरीका आठ पत्रकारकाे कोभिड–१९ पुष्टि

  • मङ्लबार, अशोज २७, २०७७
महोत्तरीका आठ पत्रकारकाे कोभिड–१९ पुष्टि

महोत्तरीमा कोभिड–१९ सङ्क्रमण पुष्टि भएका सञ्चारकर्मीको सङ्ख्या आठ पुगेको छ । आज एकैदिन थप चार जना सञ्चारकर्मीमा कोभिड–१९ सङ्क्रमण पुष्टि भएपछि यो सङ्ख्या आठ पुगेको हो । यसअघि नै चारजनामा सङ्क्रमण पुष्टि भएको थियो ।

आज सङ्क्रमण पुष्टि भएका चारैजना बर्दिवासस्थित रेडियो सुनगाभामा कार्यरत सञ्चारकर्मी हुन् । निकेश खनाल, सरस्वती भुजेल, मनोज थापामगर र आशा तोलङ्गेले आपूmमा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको बताए । चार दिनअघिदेखि सामान्य टाउको दुख्ने र ज्वरो आउने लक्षण भएपछि स्वाब परीक्षण गराउँदा चारैजनामा सङ्क्रमण पुष्टि भएको रेडियो सुनगाभाका प्रबन्धक निकेश खनालले जानकारी दिए । सम्बन्धित चारैजना आफैँले यसको पुष्टि गरेका छन् ।
यसअघि राससकर्मी गोपालप्रसाद बराल र कान्तिपुरकर्मी सुनिता बराल पिसिआर परीक्षणबाट कोभिड–१९ सङ्क्रमण पुष्टि भएपछि अहिले ‘होमआइसोलेसन’मा रहेका छन् । गोपालको गत बिहीबार र सुनिताको गत शनिबार सङ्क्रमण पुष्टि भएको हो । यसैगरी अन्नपूर्णकर्मी राजकरण महतो र न्यूज–२४ का ललनकुमार मण्डलमा कोभिड–१९ पुष्टि भएको थियो ।

यद्यपि महतो र मण्डल दुवै सङ्क्रमणमुक्त भइसकेका छन् । महतोमा असोज–१० गते र मण्डलमा गत भदौमै स्वाब परीक्षणबाट सङ्क्रमण पुष्टि भएको थियो । जिल्लाका यी सबै सञ्चारकर्मीले बर्दिवास अस्पतालमा स्वाब परीक्षणका लागि दिएका हुन् ।

महोत्तरीमा पछिल्लोपटक एकजना नगरप्रमुखमा पनि कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ । जिल्लाको भङ्गाहा नगरपालिकाका प्रमुख सञ्जीवकुमार साहमा सोमबार अबेर राति कोभिड–१९ सङ्क्रमण पुष्टि भएको हो । नगरप्रमुख साह आफैँले सोमबार अबेर राति आफ्नो पिसिआर जाँचको नतिजा पोजेटिभ आएको सार्वजनिक गरेका हुन् । महोत्तरीमा हालसम्म एक हजार ६०३ मा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ । यहाँ १५ जनाको कोभिड–१९ सङ्क्रमणले ज्यान गएको स्वास्थ्य कार्यालय महोत्तरीले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार