शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • समाज
  • खाद्य कम्पनीकै खाद्य वस्तुमा छैन ‘एक्सपायरी डेट’

खाद्य कम्पनीकै खाद्य वस्तुमा छैन ‘एक्सपायरी डेट’

  • सोमवार, अशोज २६, २०७७
खाद्य कम्पनीकै खाद्य वस्तुमा छैन ‘एक्सपायरी डेट’

सरकारको पूर्ण स्वामित्वमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले नै ‘एक्सपायर डेट’ नराखी खाद्य सामग्री ‘प्याकेजिङ’ गरेर बिक्री वितरण गर्ने गरेको पाइएको छ । काठमाडौं महानगरपालिकाको कृषि विभागले आइतबार गरेको बजार अनुगमनका क्रममा सो तथ्य बाहिरिएको हो ।

महानगरपालिकाका कृषि विभागका प्रमुख हरिबहादुर भण्डारी नेतृत्वको अनुगमन टोलीले कम्पनीको काठमाडौं थापाथलीस्थित खाद्य गोदाममा अनुगमन गरेको थियो । उपभोक्ता संरक्षण ऐन २०७५ बमोजिम कुनै व्यापारिक कम्पनी वा व्यापारिक फर्मले खाद्य वस्तु प्याकेजिङ गरी आम उपभोक्तालाई बिक्री वितरण गर्दा उत्पादन मिति र एक्सपायर मिति दुवै राखेर मात्र बिक्री वितरण गर्नुपर्ने मापदण्ड छ । तर, सरकारी निकायले नै खाद्य वस्तुलाई प्याकेजिङ गरी एक्सपायर मिति नराखी वर्षौंदेखि उपभोक्तालाई खाद्य वस्तु बिक्री गरी ठग्दै आएको पाएको छ ।

बजार अनुगमनका क्रममा कुनै व्यापारी कम्पनीले उपभोक्ता संरक्षण ऐनबमोजिम व्यापार व्यवसाय नगरेको पाएमा कानुनी कारबाही गर्ने अधिकार वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागलाई छ । कानुनी कारबाही गर्ने अधिकार पाएका विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदी नै खाद्य व्यापार कम्पनीका प्रमुख कार्याकारी अधिकृत हुन् ।

विभागका प्रमुख भण्डारीले खाद्य व्यापार कम्पनीमा अनुगमका क्रममा व्यापार कम्पनीले प्याकेजिङ गरेर बिक्री गर्ने कुनै पनि खाद्य वस्तुमा एक्सपायर मिति नराखेको पाइएको बताए ।

भण्डारीका अनुसार खाद्य कम्पनीले बिक्री गर्दै आएको दाल, चामल, सिमी, फापरलगायतका कुनै पनि खाद्य वस्तुमा एक्सपायर मिति नै राखिएको छैन । सरकारी खाद्य व्यापार कम्पनी नै भद्रगोल तरिकाले उपभोक्तालाई खाद्य सामग्री बिक्री वितरण गरिरहेको पाएको उनले बताए । आजको राजधानी दैनिकमा समाचार छ ।

चर्चामा

सम्बन्धित समाचार