शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • समाज
  • भारतमा बस्दा बच्चा जन्माए, नेपाल आएपछि जंगलमा फालिदिए

भारतमा बस्दा बच्चा जन्माए, नेपाल आएपछि जंगलमा फालिदिए

  • मङ्लबार, अशोज २०, २०७७
भारतमा बस्दा बच्चा जन्माए, नेपाल आएपछि जंगलमा फालिदिए

सोमबार बिहान साढे ६ बजे सल्यानको एक जंगलमा २८ दिने नवजात शिशु बेवारिसे अवस्थामा फेला परे। शारदा नगरपालिका-३ घोरुलोटेको जंगलमा मर्निङ वाक गर्न निस्किएका केही स्थानीयले शिशुलाई फेला पारेका थिए। शिशुको लुगा लगाइएको थियो भने वरपर लुगाका पोकाहरू पनि थिए। स्थानीयले तत्कालै प्रहरीलाई खबर गरे।

केहीबेरमै प्रहरीले बेवारिसे शिशु फेला परेको भन्दै सूचना पनि जारी गर्‍यो। तर कोही सम्पर्कमा आएनन्। किनकी ती शिशुलाई चिन्ने कोही थिएनन्।

कोही सम्पर्कमा नआएपछि प्रहरीले केही दिनयता भारतबाट नेपाल प्रवेश गरेकाहरूको विवरण हेर्‍यो। हेर्दै जाँदा प्रहरीले ती शिशुलाई गड्डाचौकी नाकाबाट नेपाल प्रवेश गराइएको फेला पार्‍यो।

२८ दिनका शिशुलाई एक जोडीले नेपाल प्रवेश गराएको देखिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डिएसपी) गोविन्द थापाले जानकारी दिए। तर उनीहरू श्रीमान–श्रीमती भने होइनन्।अहिले प्रहरीले सोही ठाउँकी ३५ वर्षीया शान्ता परियार र वडा नं. २ पानीखोलाका ३८ वर्षीय दानबहादुर भण्डारीलाई पक्राउ गरिसकेको छ। प्रहरीले बच्चाकी आमालाई उनको माइतीबाट पक्राउ गरेको हो भने बुबा भण्डारीलाई क्वारेन्टिनबाटै पक्राउ गरेको हो।

‘बच्चा बोकेर आएको रेकर्ड थियो। तर पछि बच्चाविहीन भएको पाइएपछि शंका गरेर सोधपुछ गर्दा उनीहरू समातिएका हुन्,’ डिएसपी थापाले भने, ‘हामीले कनेक्सन खोज्दै जाँदा फेला पारेका हौं।’

उनका अनुसार शिशुसहित उनीहरू तीन दिन क्वारेन्टिनमै बसेका थिए। बच्चा भएको भन्दै आमा परियारलाई पछि होम क्वारेन्टिनमै बस्न पठाएको थियो। भण्डारी भने क्वारेन्टिनमै बसे।

परियार आइतबार सल्यानको श्रीनगरमा पुगेकी थिइन्। उनीहरू दुई जना बीचको पूर्वयोजना अनुसार नै परियारले ती शिशुलाई आइतबार साँझ ६ बजे जंगलमा छाडेर माइत गएकी थिइन्।ती शिशुको सोमबार १२ घण्टापछि मात्रै उद्दार भएको हो। परियार ‘डिभोर्स’ भइसकेकी महिला हुन् भने दानबहादुर भण्डारी विवाहित पुरूष हुन्।

प्रहरीका अनुसार उनीहरू दुबै जना गत वर्ष कात्तिकमा काम गर्न भारतको उत्तराखण्ड गएका थिए। त्यहाँ उनीहरू सँगै बसे।

यस वर्ष भने उनीहरू दशैं मनाउन भन्दै नेपाल फर्किएका थिए। प्रहरीले ती शिशुलाई बेवारिसे छाड्नुको कारण सोध्दा बाबुआमाले अर्को बच्चासहित देखिँदा ‘बेइज्जत हुने’ भएकाले बाध्य भएको प्रतिक्रिया दिएका छन्।

‘मेरो घरमा पनि बच्चाबच्ची, श्रीमती छन्। अब मसँग विवाह गर्छौ भने तिम्रो पनि विवाह भइसक्यो हाम्रो बेइज्जत हुन्छ, गाउँसमाजमा अप्ठेरो हुन्छ त्यसैले बच्चालाई कतै राखिदिएर घर जानू भन्ने सल्लाह भयो’ डिएसपी थापाले दानबहादुरको बयानलाई उदृत गर्दै भने।

शिशुको स्वास्थ्य अवस्था भने सामान्य रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। ती शिशुको उद्दार गरी जिल्ला अस्पताल सल्यानमा राखिएको छ।

प्रहरीले पक्राउ परेका दुबै जनामाथि थप अनुसन्धान अघि बढाएको छ। उनीहरूमाथि प्रहरीले मुलुकी अपराध संहिता ऐन २०७४को दफा १८४ अनुसार हेरचाह गर्नुपर्ने मान्छेलाई बेवारिसे फाल्न नपाइने कसुरमा अनुसन्धान अघि बढाएको डिएसपी गोविन्द थापाले बताए। यस कसुर अनुसार तीन वर्षसम्म कैद र ३० हजार जरिवाना हुने उल्लेख छ।

चर्चामा

सम्बन्धित समाचार