शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • समाज
  • ल्याब नै नभएका अस्पतालले गरे स्वाब संकलन

ल्याब नै नभएका अस्पतालले गरे स्वाब संकलन

  • मङ्लबार, अशोज ६, २०७७
ल्याब नै नभएका अस्पतालले गरे स्वाब संकलन

सरकारले कोरोना संक्रमण जाँचका लागि पीसीआर परीक्षणको शुल्क २ हजार तोकेपनि राजधानीका निजी अस्पतालहरुले बिरामीहरुबाट चर्को शुल्क लिने गरेका छन् । गत भदौ २८ गते नियमित प्रेस ब्रिफिङका क्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले पीसीआर परीक्षणको शुल्क २ हजार रुपैयाँ कायम भएको बताएका थिए । सुरुमा ५५ सय रुपैयाँ र त्यसअछि ४४ सय रुपैयाँ कायम गरिएको थियो । तर निजी अस्पताल र ल्याबहरुमा सरकारको सो निर्णय कार्यान्वयन हुन सकेको छैन ।

काठमाडौंको स्वयम्भुस्थित मनमोहन मेमोरियल अस्पतालले पीसीआर परीक्षणको शुल्क ४ हजार ९ सय लिने गरेको छ । यस्तै सितापाइलामा रहेको शुभेच्छा अस्पतालले ५५ सय रुपैयाँ लिने गरेको छ । केही निजी अस्पताल बाहेक अधिकांश निजी अस्पतालले पीसीआर परीक्षणको फरक–फरक शुल्क लिने गरेका छन् ।

एसी जडान गर्ने मजदुर अरुण लामा र उनका साथी विभिन्न कार्यालयहरुमा एसी फिटिङ गर्न जानुपर्ने थियो । त्यसका लागि पीसीआरको नेगेटिभ रिपोर्ट पनि चाहिने भनेपछि उनीहरु सोमबार सुरुमा स्वम्यम्भुमा रहेको मनमोहन मेमोरियल अस्पतालमा गए । उनीहरुले पीसीआर परीक्षणको २ हजार रुपैयाँ मात्र लाग्ने थाहा पाएका थिए ।

उनीहरुले २ हजारमा परीक्षण गर्न मिल्दैन भनेर सोधे । तर अस्पतालका कर्मचारीले उक्त रकममा परीक्षण गर्न नसक्ने बताएपछि उनीहरु सीतापाइलामा रहेको अर्को अस्पताल सुभेच्छा इन्टरनेशनल अस्पतालमा गए । त्यहाँ पनि उनीहरुलाई ४५ सय रुपैयाँ लाग्ने बताइयो । त्यसपछि उनीहरु काठमाडौंको सिनामंगलमा रहेको केएमसी अस्पतालमा गए । त्यहाँ भने उनीहरुको २ हजार रुपैयाँमा पीसीआर परीक्षण भयो ।

ल्याबनै नभएका अस्पताल स्वाब संकलन गर्दै

स्वयम्भुमा रहेको मनमोहन मेमोरियल अस्पताल सामुदायिक अस्पताल हो । पीसीआर परीक्षणको ल्याब नै नभएको यो अस्पतालले ४९ सय रुपैयाँ लिएर स्वाब संकलन गर्छ । संकलन गरेको स्वाब सेन्टर डाइग्नोसिस सेन्टर नाम गरेको निजी ल्याबमा पठाउने गर्छ ।

रातोपाटीको सम्पर्कमा आएका मनमोहन अस्पतालका एक कर्मचारी शिव केसीले अस्पतालमा पीसीआर मेसिन नभएको र बाहिरको ल्याबमा लैजाँदा ४ हजार लिने बताए । ४ सय रुपैयाँ मनमोहन अस्पतालले लिने र ३ सय गाडी भाडा भनेर जोडेको छ । सरकारले २ हजार रुपैयाँ तोकेपनि निजी अस्पतालले ५ हजारबाट नघटाएकोले बढी रकम परेको उनले बताए ।

सरकारी अस्पतालमा स्वाब पठाएको पनि ११ सय चार्ज

सितापाइलामा रहेको शुभेच्छा इन्टरनेश्नल हस्पिटलको पनि आफ्नै ल्याब छैन । तर सो अस्पतालले निजी तथा सरकारी ल्याबमा संकलन गरेको स्वाब पु¥याएर सेवाग्राहीलाई पीसीआर रिपोर्ट दिने गरेको छ । सो अस्पतालले टेकु स्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको ल्याबमा स्वाब दिएर सेवाग्राह्रीसँग ११ सय रुपैयाँ लिने गरेको छ । रातोपाटीको सम्पर्कमा आएकी सो अस्पतालकी एक कर्मचारीले स्वाब संकलन गरेर टेकुमा पठाउँदा ११ सय रुपैयाँ लाग्ने र त्यसको नतिजा आउन भने ३ देखि ५ दिनसम्म कुर्नुपर्ने बताइन् ।

छिट्टै अर्थात ६ घण्टाभित्र रिपोर्ट चाहिने हो भने भने ५५ सय रुपैयाँ लाग्ने बताइन् । २ हजारमा हुने परीक्षणका लागि किन ५५ सयभन्दा उनले निजी अस्पतालको ल्याबमा स्वाब लगेर परीक्षण गर्नुपर्ने भएकाले सो मूल्य परेको दावी गरिन् । सरकारले पीसीआर परीक्षणको मूल्य २ हजार तोकेपछि निजी अस्पताल सञ्चालकहरुले आफ्नो लागत समेत नउठ्ने भन्दै उचित शुल्क समायोजनका लागि सरकारको ताकेता गरिरहेका छन् ।

केही निजी ल्याब तथा अस्पतालले २ हजारमा परीक्षण गरेपनि अधिकांश निजी अस्पताल तथा ल्याब सञ्चालकहरुको बैठकले सरकारले अघिल्लोपटक तय गरेको ४४ सयबाट केही रकम आफैले घटाएर ३८ सय रुपैयाँमा परिक्षण गर्ने गरेका छन् । ल्याब स्थापना गर्न खर्चिलो हुने र २ हजार रुपैयाँमा पिसिआर परीक्षणका क्रममा प्रयोग हुने सामग्रीहरु किट, रिएजेन्ट लगायतका सामग्रीहरु नै नआउने उनीहरुको तर्क छ ।

प्रवक्ता जागेश्वरको तर्क : निजीमै किन जानुपर्यो त ?

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतम सरकारले तोकेको पीसीआर परीक्षणको २ हजार रुपैयाँ रिफेरेन्स अर्थात सन्र्दभ मूल्य मात्र भएको दावी गर्छन् । उनले परीक्षण गर्ने निजी अस्पताल तथा ल्याबले लागतको औचित्य सावित गरेमा २ हजारभन्दा बढी लिन सक्ने उल्लेख गरे ।

उनले भने– ‘२ हजार शुल्क भनेपनि उहाँहरुले आफ्नो लागतको औचित्य सावित गर्नसक्नुहुन्छ भने अलिकति बढी पनि लिन सक्नुहुन्छ । सरकारी अस्पतालमा त भवन आफ्नै हुन्छ, रिएजेन्ट सरकारले किनिदिएको हुन्छ, मेसिन सबै आफ्नै छ, कर्मचारीलाई तलब पनि सरकारले दिएको हुन्छ, त्यसकारणले सरकारी अस्पतालले २ हजारमा परीक्षण गर्न सक्छ । तर निजीलाई त्यो रकमले पनि पुग्दैन भने त्यसको औचित्य सावित गरेर बढी रकम पनि लिन सक्छन् तर उनीहरुले म्यानपावर कति, रिएजेन्ट कति भनेर औचित्य सावित चाहीँ गर्न सक्नुपर्छ ।’

उनले प्राइभेटले अस्पतालले ४ हजार, ४५ सय लिन नमिल्ने बताउँदै २ हजारमा पनि परीक्षण गर्ने केही निजी अस्पताल पनि रहेको उल्लेख गरे । उनले प्रतिप्रश्न गर्दै भने–‘त्यस्तो महंगो ठाउँमा किन जाने ? प्राइभेटमै जान किन पर्या रैछ । सरकारी अस्पतालहरुकै पीसीआर परीक्षण गर्ने पूर्ण क्षमता छ सरकारीमै आए हुन्छ ।’ उनले २ हजारभन्दा बढी रकम लिने निजी अस्पतालाई कारवाही गर्ने स्वास्थ्य मन्त्रालयको कुनै अधिकार नभएको बताउँदै औचित्यभन्दा बढी रकम लिनेलाई वाणिज्य विभागले कारवाही गर्न सक्ने बताए ।

सरकारको द्धैद्य चरित्र
गत भदौं २८ गते मन्त्रालयका प्रवक्ता समेत रहेका डा.जागेश्वर गौतम आफैंले पीसीआर परीक्षणको मूल्य घटाएर २ हजार भएको र त्यो भन्दा बढी लिन नपाइने बताएका थिए । यता निजी अस्पतालहरुले भने पीसीआर ल्याब स्थापना गर्न नै करोड हाराहारी खर्च लाग्ने, परीक्षणका लागि आवश्यक पर्ने किट, रिएजेन्ट लगायतका सामग्रीको मूल्य महङ्गो भएकोले सो रकममा परीक्षण गर्न नसक्ने भन्दै मन्त्रालय धाइरहेका छन् ।

अहिले उनै प्रवक्ता गौतम तोकिएको सो मूल्य सन्र्दभ मूल्य भएको र औचित्य पुष्टि गरे जति पनि मूल्य लिन पाउने बताइरहेका छन्, जसले अन्यौलता मात्र सिर्जना गरिरहेको छ ।राताेपाटीबाट

चर्चामा

सम्बन्धित समाचार