• होमपेज
  • समाचार
  • नेपालले १ अर्बमा किनेका रेल त्रिपाल ओढाएर पार्किङमा

नेपालले १ अर्बमा किनेका रेल त्रिपाल ओढाएर पार्किङमा

  • सोमवार, अशोज ५, २०७७
नेपालले १ अर्बमा किनेका रेल त्रिपाल ओढाएर पार्किङमा

जनकपुर-जयनगर रुटमा चलाउन शुक्रबार तामझामसहित नेपाल आइपुगका रेलहरु अहिले पार्किङमा छन् । नेपाल रेल्वे कम्पनीका अनुसार यी रेल सुनसरीको इनरुवामा पार्किङमा राखिएका छन् ।

रेलको माथिल्लो भागलाई त्रिपालले ढाकिएको छ । करसहित करिब १ अर्ब बढी रकम खर्चेर ल्याएको रेल तत्कालकै अवस्थामा चल्न नसक्ने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय स्रोतले बताएको छ ।

महामारीका कारण भारतसँगको सीमा नाका बन्द रहेको र अहिलेसम्म भारतले ड्राइभरसहितको जनशक्ति पनि नदिएकाले रेल चलाउन नसकिएको कम्पनीलाई उद्धृत गर्दै मन्त्रालयले जनाएको छ ।

नेपालले नै तलब सुविधा दिने गरी भारतले २६ जना दक्ष जनशक्ति पनि पठाउँदैछ । त्यसबाहेक रेल्वे कम्पनीले पनि गत हप्तामात्रै कम्पनीका लागि डेढ सयभन्दा बढी कर्मचारीको भर्ना खुलाएको छ ।

यिनै कारण नियमित सेवा दिने गरी महँगो मूल्यमा किनिएको नयाँ रेल कहिलेदेखि चल्छ भन्ने निश्चित छैन । जनकपुर-जनयनगर रुटमा सञ्चालन गर्न २ वटा रेल भारतको मद्रासमा बनाएर नेपाल ल्याइएको थियो । यी रेल केही महिनादेखि लकडाउनका कारण भारतको हाजीपुरमा रोकिएको थियो ।

सन् २०१९ को मे महिनामा ८४ करोड ६५ लाख रुपैयाँमा भारतको सरकारी कम्पनी कोंकण रेल्वे कर्पोरेसनसँग २ वटा रेल किन्ने सम्झौता भएको थियो । भन्सार र मूल्य अभिवृद्धि कर तिर्दासम्म यी रेल किन्न १ अर्ब ३ करोड रुपैयाँ खर्च भएको छ ।

३५ किलोमिटरको जनकपुर-जयनगर रेलमार्गमा ब्रोड गेज विस्तारका लागि सिभिलतर्फका सबै काम २०७५ सालमा नै सकिएको थियो । सरकारले २०७५ को पुसबाट नै जनकपुर-जयनगर रुटमा रेल चलाउने घोषणा गरेको थियो । तर, विभिन्न प्राविधिक ढिलाइको कारण देखाउँदै रेल किन्न ढिलाइ भयो ।

चर्चामा

सम्बन्धित समाचार