“गिदी धुन मन छ”

  • शुक्रबार, अशोज २, २०७७
“गिदी धुन मन छ”

मात्र एक पटक
एक्लै निर्वस्त्र भएर
पवित्र गंगा जलमा गएर
निधार माथिको खप्परलाई
धारिलो कुनै हतियारले
एकै छासमा छिनाएर
खप्पर भित्र भएको त्यो
थिलथिलो आफ्नै गिदीलाई
रिठो र पाँगरका दानाले
निकै जोड-जोडले घोलेर
त्यसैको फिँजले उगाली
एक पटक राम्ररी धुन मन छ
साबुन र सेनिटाइजरले पखाल्न मन थियो
तर,
त्यसले सम्भव देखिन किनकि
घातक सेनिटाइजर बजारमा आएको छ
मैले हल्ला सुनेको छु जसले बिगार्न सक्छ
साबुनपनि उस्तै त होला नि हैन र ?
त्यो भन्दा उत्तम त रीठो र पाँगर नै होला
जसमा प्राकृतिक स्वच्छ फिँज हुन्छ
कुनै निर्मित मेसिनले प्रसोधन नगरेको ।
गिदीरुपि दिमागमा दिमागरुपि मस्तिष्कमा
बाल्यकाल देखि अहिलेसम्म भरिएका
राम्रा र नराम्रा सबै कुराको छानबिन गरि
राम्रा जति त्यही गिदि मै राखेर
नराम्रा सबै कुराहरू पखालेर
गंगा जलमा बगाउन मन छ
र फेरि,
उस्तै गरि खप्पर मिलाउन मन छ ।
ततपश्चात:
सकारात्मक विचार कै खातिर
समाज सेवागर्दै अघिबढ्न सकुँ
सधैं सत्यको बाटो रोज्न सकुँ
सत्यता कै भक्ती गाउन सकुँ
न्यायको सत्यमुर्ती बन्न सकुँ
सफलतालाई अंगाल्न सकुँ
असत्यको भिडमा एक्लै होस्
तै पनि मनमा उत्साह थपियोस्
उर्जा थपियोस् हौसला थपियोस्
जसकारण मेरो जीवन सार्थक बनोस् ।

चर्चामा

सम्बन्धित समाचार