बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • समाज
  • घरैमा बच्चा जन्माउँदा ज्यान गयो, अस्पताल जाँदा भर्ना हुनै गाह्रो

घरैमा बच्चा जन्माउँदा ज्यान गयो, अस्पताल जाँदा भर्ना हुनै गाह्रो

  • बुधबार, भदौ २४, २०७७
घरैमा बच्चा जन्माउँदा ज्यान गयो, अस्पताल जाँदा भर्ना हुनै गाह्रो

काठमाडौं । चन्द्रागिरि-९, काठमाडौंकी २२ बर्षीया सरला खवास भदौ १७ गते साँझ सात बजेतिर सुत्केरी भइन् । काठमाडौंमा निशेधाज्ञा थियो । कोरोनाको सन्त्रास पनि उस्तै । एम्बुलेन्स खोजेर अस्पताल पुर्‍याउन सकस थियो । परिवारजनले अस्पतालमा भन्दा घरमै सुत्केरी गराउनुलाई सुरक्षित ठाने ।

सरलाले सन्तान त जन्माइन् । तर, उनमा थप जोखिम देखिन थाल्यो । आधा रातसम्म साल झरेन । त्यसपछि भने अस्पताल जानुको विकल्प रहेन ।

सरलाका जेठाजु रामचन्द्र भन्छन्, ‘ट्याक्सीलाई खबर गर्‍यौँ । तर, फकर्ंदा समस्या हुन्छ भनेर जानै मानेनन् । घर नजिकैको गाडीलाई बल्लतल्ल मनायौँ । बुहारीलाई गाडीमा राख्दा रातको १२ बजिसकेको थियो ।’

सरलाको अवस्था खराब हुँदै गइरहेको थियो । परिवारले उनलाई परोपकार प्रसुती तथा स्त्री रोग अस्पतालमा पुर्‍याए ।

अस्पतालकी निर्देशक संगीता मिश्र भन्छिन्, ‘उहाँ हामीकहाँ नियमित जाँच गराउने बिरामी हुनुहुन्थेन । तर, हामीले हेर्‍यौँ । हामीले हेर्दा उहाँको ‘ब्लड डेथ’ भैसकेको थियो ।’

अर्थात, उनको प्राण बाटोमै छुटिसकेको थियो ।

देशको राजधानीकै बासिन्दा सरलाले समयमै अस्पताल पुग्न नसक्दा कलिलै उमेरमा मृत्युवरण गर्नुपर्‍यो ।

दाहसंस्कारपछि कोरोना पोजेटिभ रिपोर्ट

सरलाको मृत्यु त भयो, अब शव व्यवस्थापन कसरी गर्ने ? अस्पतालले बिहानको ६ बजेतिर स्वाव संकलन गरेर परीक्षणका लागि पठायो । शव अस्पतालबाट लैजानका लागि प्रशासनले परिवारलाई अनुमति थियो ।

सरला सुत्केरी हुनुअघि उनमा न ज्वरो थियो, न खोकी । कोरोनाको कुनै लक्षण नभएकाले संक्रमण छैन भन्नेमा आफन्त ढुक्क थिए । रामचन्द्र भन्छन्, ‘हामीसँग पीपीई केही थिएन, मास्क लगाएर उनलाई स्वयम्भु लग्यौँ र जातीय परम्पराअनुसार अन्त्येष्टि गर्‍यौँ ।’

तर, अर्को दिन अर्थात १९ गते विहान ११ बजे अस्पतालबाट रामचन्द्रलाई फोन गयो । अस्पतालले फोन गर्नुको तात्पर्य थियो कि सरलामा कोरोना पोजेटिभ छ ।

रामचन्द्रले अनलाइनखबरसँग भने, ‘कोरोना संक्रमित भएको खबरले हामी भयभित भयौँ । उनको अन्त्येष्टिका लागि ३०/३५ जना उपस्थित भएका थियौँ । गाडीमा अस्पताल लाने-ल्याउने गरिएको थियो ।’

यस्तो खबरले दाहसंस्कारपछिको कर्मकाण्ड पनि रोकियो । रामचन्द्र थप बोल्छन्, ‘मन्त्रालयबाट फोन आयो । वडाअध्यक्ष घरमै आएर परीक्षणका लागि नाम टिपाउन भन्नुभयो । तर, अहिलेसम्म कसैको पनि परीक्षण भएको छैन ।’

वडाले सोमबार परीक्षण गर्ने खबर दिएका थिए । तर, सोमबार वडा कार्यालयले मृतकको परिवारलाई अर्को सूचना दियो, परीक्षणका लागि अझै एक/दुई दिन पर्खिने ।

सरलाका जेठाजु रामचन्द्र अनलाइनखबरसँग भन्छन्, ‘हामी डराएर बाहिर निस्कन सकेका छैनौँ । चाँडो परीक्षण भए त ढुक्कसँग कर्मकाण्ड सक्नतर्फ लाग्ने थियौँ ।’

गर्भवतीलाई अस्पताल पाउनै सकस

सरला मात्र होइन, स्वास्थ्य मन्त्रालयको परिवार कल्याण महाशाखाका अनुसार पछिल्लो पाँच महिनामा ८० जना सुत्केरीको मृत्यु भैसकेको छ । कोरोनाका कारण अस्पतालले भर्ना नगरेर रेफर गर्दा अधिकांशको मृत्यु हुने गरेको महाशाखाको अध्ययनले देखाएको छ ।

एकातर्फ कोरोनाको डरले अस्पताल नपुग्दा र अर्कोतर्फ अस्पताल पुर्‍याउनका लागि पनि सवारी साधन उपलब्ध नहुँदा पनि गर्भवतीहरुलाई निकै गाह्रो पर्ने गरेको निर्देशक डा. मिश्र बताउँछिन् ।

२४ साउनमा राति तीन बजे सिन्धुलीकी १७ वर्षीया गर्भवतीलाई प्रसुती अस्पतालमा परिवारजनले ल्याइपुर्‍याएका थिए । त्यतिबेलासम्म गर्भवतीको अवस्था निकै गम्भीर भैसकेको थियो ।

सुत्केरी व्यथाले च्यापेपछि उनलाई सिन्धुलीबाट जनकपुरको प्रादेशिक अस्पतालमा पुर्‍याइएको रहेछ । तर, उक्त अस्पतालले भर्ना लिनुको सट्टा धुलिखेल अस्पतालमा रेफर गर्‍यो । धुलिखेल अस्पतालले पनि भर्ना लिएन ।

सुत्केरीको अवस्था नाजुक भैसकेको थियो । गर्भवतीका आफन्तले बिन्ती गर्दा पनि कोरोनाको डरका कारण भर्ना लिन अस्वीकार गर्‍यो । त्यसपछि बिरामीलाई काठमाडौंको थापाथलीस्थित प्रसुती अस्पतालमा पुर्‍याइयो । डा. मिश्र भन्छिन्, ‘शनिवारको दिन थियो । हामीकहाँ ल्याउदासम्म बिरामीको शरीरमा हेमोग्लोबिनको मात्र दुई प्रतिशत मात्र बाँकी थियो ।’

मिश्र अगाडि भन्छिन् ‘बिरामीलाई तत्काल रगत चढाएर अप्रेशन गर्‍यौं । अप्रेशन गर्न केही घण्टा मात्र ढिलो भएको भए ज्यान जान्थ्यो ।’

गत हप्ता ६ वटा अस्पतालले भर्ना नलिएपछि बिराटनगरकी गर्भवती सविना थापाले ज्यान नै गुमाउनुपरेको थियो । सविनाले सातौं अस्पताल धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आकस्मिक कक्षमा प्राण त्यागेकी थिइन् ।

संक्रमित महिलालाई झन् सकस

बुटवल देवीनगरकी एक गर्भवतीलाई अस्पतालले गत १९ भदौमा सुत्केरी हुने मिति तय गरेको थियो । तर, उनलाई श्रावण अन्तिम साता कोरोना संक्रमण पुष्टि भयो । त्यसपछि नियमित जाँच गरिरहेको निजी अस्पतालले संक्रमणपछि उनको वास्तै गर्न छोडिदियो ।

गर्भवतीका परिवारले लुम्विनी प्रादेशिक अस्पतालमा खबर गरे । तर, उक्त अस्पतालले पनि संक्रमितलाई सुत्केरी गराउने कुनै व्यवस्था नरहेको र १० दिनसम्म केही नहुने प्रतिक्रिया दियो ।

‘एकातिर मिति नजिकिँदै थियो, अर्कोतर्फ संक्रमित भएकाले गर्भवती निकै डराउनुभएको थियो’, गर्भवतीका आफन्त दुर्गा सापकोटाले अनलाइनखवरसँग भनिन्, ‘लामो समय हामीले एम्बुलेन्स पनि पाउन सकेनौँ । बल्ल बल्ल १ भदौमा नेपालगञ्जको कोहलपुर मेडिकल कलेजमा पुर्‍यौँ ।’

जटिलता आएपछि पाँच भदौमै गर्भवतीको सिजरियन डेलिभरी गर्नुपर्ने भयो । ‘हामीले यहीँ राखेको भए ठूलो दुर्घटना हुन सक्दोरहेछ । यति लामो सयमसम्म पनि डेलिभरी गर्ने वार्ड नबनाउँदा अरु कतिले दुःख पाए होलान्, कतिको ज्यान गयो होला ?’, स्वास्थ्यकर्मीसमेत रहेकी सापकोटाले अनलाइनबरसँग भनिन् ।

अहिले भने लुम्बिनी अस्पतालमा संक्रमितको पनि सुत्केरी गराउन थालिएको छ ।

गर्भवतीमा कोरोनाको अतिरञ्जित त्रास !

मिडवाइफ सोसाइटी अफ नेपालकी अध्यक्ष डा. लक्ष्मी तामाङले कोरोनाको अनावश्यक सन्त्रास र यातायातको असुविधाका कारण गर्भवतीहरुले चरम दुःख भोगिरहेको बताउँछिन् ।

‘शुक्रबार मात्र महाकुलुङ गाउँपालिका सोलुको स्वास्थ्य चौकीमा डेलिभरी हुन नसकेपछि प्राइमरी स्वास्थ्य चौकीमा पुर्‍याउन खोज्दा बाटोमै सुत्केरीको मृत्यु भयो’, डा. तामाङले भनिन्, ‘राति हेलिकप्टरका लागि फोन गर्दा उठेन । उठेपछि उल्टै हप्काइ खेप्नुपर्‍यो । साल अड्केर अस्पताल समयमै पुर्‍याउन नसक्दा अत्यधिक रक्तश्रापले मृत्यु भयो ।’

अधिकांश सुत्केरी महिलाको अत्यधिक रक्तश्रापका कारण मृत्यु हुने गरेको डा. तामाङ बताउँछिन् ।

पछिल्लो समय कोरोनाको डरका कारण गर्भवतीहरु अस्पताल जान नमानेर घर वा गाउँकै स्वास्थ्य संस्थामा सुत्केरी हुनेको संख्या बढेको पनि उनले सुनाइन् ।

‘तारेकोश्वरकी एकजना गर्भवतीले कोरोनाको डरका कारण अस्पताल जान नमानेको खबर पाएँ । ती गर्भवतीले कुनै हालतमा हस्पिटल नजाने, मरे पनि घरमै मर्ने अड्डी लिएकी थिइन्’, डा. तामाङले भनिन्, ‘यसरी मानिसमा कोरोनाको अतिरञ्जित भ्रमका कारण पनि गर्भवतीहरु अस्पताल जान डराइरहेको अवस्था छ ।’

नेपाल सरकारको रिफरल मेकानिज्म नभएको र दुर्गम ठाउँमा एम्बुलेन्सको अभावका कारण पनि गर्भवतीहरुले दुःख पाइरहेको डा. तामाङले बताइन् । उनले भनिन्, ‘नेपाल सरकारको कुनै स्वास्थ्य संस्थामा रिफरल प्रणालीको विकास गर्न सकेको छैन ।’

डा. तामाङ थप्छिन्, ‘एउटा लेभलमा उपचार सम्भव नभएपछि त्योभन्दा माथिल्लो लेभलमा पठाउनुपर्छ भन्ने खालको मेकानिजम नै छैन । रिफर गर्नुपर्ने बिरामीलाई एउटा स्वास्थ्य संस्थामा अधिकतम दुई घण्टासम्म राखेमा बिरामीको ज्यान जाने खतरा हुन्छ ।’

लकडाउनका कारण नियमित परीक्षणका लागि अस्पताल पुग्ने गर्भवतीको संख्यामा पनि कमी आएको छ । डा. मिश्रका अनुसार प्रसुतीको ओपिडीमा १० प्रतिशतले बिरामीको संख्या घटेको छ ।’ तर, गर्भवती हुन आउनेको संख्यामा भने त्यति अन्तर नआएको उनको भनाइ छ ।

पछिल्लो पाँच महिना (चैत-साउन) मा ८ हजार ३९८ जनाको सुत्केरी भएको छ । अघिल्लो वर्षको सोही अवधिमा ७ हजार ३३२ जनाको डेलिभरी भएको डा. मिश्र बताउँछिन् ।

गर्भवतीहरु जोजिमपूर्ण अवस्थामा मात्रै अस्पताल आउने गर्दा उपचारमा थप जटिलता खेप्नुपरेको उनको भनाइ छ । सुरक्षित रुपमा सुत्केरी गराउनका लागि स्वास्थ्य संस्थामै पुर्‍याउनुपर्ने डा. मिश्रको सुझाव छ । साभार

चर्चामा

सम्बन्धित समाचार