बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • फुटबल
  • ‘मेसी बार्सिलोनामै बस्छन्’

‘मेसी बार्सिलोनामै बस्छन्’

  • शुक्रबार, भदौ १९, २०७७
‘मेसी बार्सिलोनामै बस्छन्’

बार्सिलोना : अर्जेन्टिनी स्टार लियोनल मेसीले बार्सिलोना छाड्ने निर्णय गरेपछि तरंगित बनेको विश्व फुटबल अझै सेलाएको छैन। कप्तान लियोनल मेसी र उनको भविष्यलाई लिएर चर्चा र परिचर्चा हुने क्रम जारी नै छ।

मेसीको भविष्य र उनको बार्सिलोनासँगको सम्झौताका विषयमा मेसीका बुवा एवं एजेन्ट जर्ज मेसीले बार्सिलोनका अध्यक्ष जोसेफ मारिया बार्तोमेउसँग भेट गरेका छन्। बार्तोमेउसँग भएको भेटमा समस्या समाधानका लागि दुवै पक्ष सहमतिमा पुग्ने विषयमा छलफल भएको बताइएको छ।

बार्तोमेउसँगको भेटवार्तापछि मेसीका बुवाले मेसी बार्सिलोनामै बस्ने उल्लेख गरेको फुटबल सम्बन्धी समाचार संस्था गोल डटकमले जनाएको छ। ‘विवादको विषयमा क्लब र हामी बसेर निष्कर्षमा पुग्ने प्रयास गरिरहेका छौं। तर मेसीले बार्सिलोना छाड्ने छैनन्,’ जर्जले भनेका छन्।

३३ वर्षीय मेसीले बार्सिलोनासँगको २० वर्षे यात्रा टुंग्याउने घोषणा यसअघि नै गरिसकेका छन्। च्याम्पियन्स लिग फुटबलको क्वार्टरफाइनलमा जर्मन च्याम्पियन बायर्न म्युनिखसँग ८–२ गोलको लज्जास्पद हार खेपेपछि मेसीले क्लब अध्यक्ष जोसेफलाई फ्याक्समार्फत पत्र लेखेर क्लब छाड्ने जानकारी गराएका थिए। बार्सिलोनासँग मेसीको सम्झौता सन् २०२१ जुनसम्म छ। अहिले बार्सिलोना र मेसीबीच सम्झौताकै विषयमा विवाद चलिरहेको छ। बार्सिलोनाले सकभर मेसीलाई बाहिर पठाउन चाहेको छैन। मेसीले भने फ्री–टान्सफरमा अन्यत्र जाने बल गरिरहेका छन्।

६ पटकका कीर्तिमानी बालोन डी’ओर अवार्ड विजेता मेसीलाई अनुबन्ध गर्न अहिले युरोपका चर्चित क्लब लागिपरेका छन्। उनलाई अनुबन्ध गर्ने होडमा प्रिमियर लिग क्लब म्यानचेस्टर सिटी अगाडि देखिएको छ। फ्री–ट्रान्सफरमा क्लब छाड्न नपाएमा मेसीलाई भित्र्याउने क्लबले बार्सिलोनालाई ७० लाख पाउन्ड तिर्नुपर्ने हुन्छ।

चर्चामा

सम्बन्धित समाचार