ओखलढुंगा– कोरोना संक्रमणको आशंका गरिएका नेपाली सेनाका एक जवानमा कोरोना नभएको पुष्टि भएको छ । अरिदमण गण ओलखढुंगाका एक जवानमा कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि स्वाब संकलन गरेर परीक्षण गर्दा कोरोना नभएको पुष्टि भएको हो । जिल्लाका २ अस्पतालबाट रेफर गरिएका जवानमा यसअघि कोरोना भएको आशंका गरिएको भएपनि आधिकारिक रिपोर्ट भने आएको थिएन । तर आईतबार आज उनको स्वाब परीक्षणका क्रममा आधिकारिक रिपोर्ट आएकाले उनमा कोरोना नभएको पाईएको जिल्ला स्वास्थ्य प्रमुख सुमन तिवारीले जानकारी दिए ।
उनमा रुघा, खोकी र ज्वरोको लक्षण देखिएपछि गत चैत्र ७ गते जिल्ला अस्पताल रुम्जाटारमा भर्ना गरिएको र त्यहाँबाट पनि थप उपचारका लागी चैत्र ८ गते ओखलढुंगा सामुदायिक अस्पतालमा रेफर गरिएको थियो । ओखलढुंगा सामुदायिक अस्पतालले समेत शंकास्पद बिरामी भएको भन्दै भदौ ९ गते काठमाडौं रेफर गरेको हो ।
ती जवानलाई नेपाली सेनाको हेलिकप्टर चार्टड गरेर छाउनीस्थित नेपाली सेनाको अस्पलतामा उपचारका लागि लगिएको थियो । उपचारका क्रममा शंकास्पद बिरामी भएको भन्दै अस्पतालले गत बिहीबार बेलुका थ्रोट स्वाब संकलन गरेर परीक्षण गर्दा आईतबार परीक्षण रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य प्रमुख तिवारीको भनाई छ ।
यसअघि बिरामीमा कोरोना पोजेटिभ देखिएको भन्दै जिल्लामा एक्कासी हल्ला भएपछि स्थानीय प्रशासनले ती व्यक्तिको उपचारका संलग्न दुई अस्पतालमा आकस्मिक बाहेकका सबै सेवा बन्द गराएको थियो । अस्पतालले बिरामीको सम्पर्कमा आएका स्वास्थ्यकर्मीलाई समेत क्वारेन्टिनमा राखेका थिए । तर उनमा कोरोना नभएको रिपोर्ट आएसँगै दुबै अस्पतालले आफ्नो नियमित सेवालाई निरन्तरता दिएको अस्पताल स्रोतले जनाएको छ । ती जवानमा कोरोना देखिएको गलत हल्ला फैलिएपछि जिल्ला सदरमुकाम ३ दिन देखि त्रासपूर्ण बनेको थियो भने मानिसहरुको आवतजावत ठप्प बनेको थियो ।
सूचना दिने व्यक्ति चिप्लिदाँ फैलियो गलत सूचना
बिहिबार बेलुका बिरामीका कुरुवाले बिरामीलाई कोरोना देखिएको भन्दै अस्पतालका कर्मचारीलाई फोन गरे । शुक्रबार बिहान सो विषयलाई लिएर जिल्ला अस्पतालका कर्मचारीहरुमा हल्लाखल्ला मच्चियो । अस्पताल प्रमुखले ओखलढुंगा सामुदायिक अस्पतालमा समेत सचेत हुन खबर गरे । सञ्चारमाध्यमले आधिकारिक बुझ्न खोज्दा स्वास्थ्य प्रमुखले सम्भावनाको जवाफ फर्काए । आधिकारिक ब्यक्तिबाट नै सूचनामा चिप्लिएपछि स्थानीय प्रशासनले समेत दुई अस्पताललाई सचेत रहेन निर्देशन दियो ।
अस्पतालमा खैलाबैला मच्चियो र सम्पर्कमा आएका स्वस्थ्यर्मीहरुलाई क्वारेन्टिनमा राखियो । तर तथ्यविहिन हल्लाको पछाडि लाग्दा ३ दिनदेखि २ अस्पतालको स्वास्थ्यसेवा प्रभावित भयो । यस बाहेक जिल्ला सदरमुकाममा बसोवास गर्ने आम नागरिकहरु समेत त्रसित बनेका थिए । फोनबाट आएको खबरले आधिकारिकता बिनै हल्ला फैलियो प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलले भने ।