शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • राजनीति
  • भत्किएको पुल विप्लवका कार्यकर्ताले बनाइदिए, तर जनप्रतिनिधिलाई छैन मतलब

भत्किएको पुल विप्लवका कार्यकर्ताले बनाइदिए, तर जनप्रतिनिधिलाई छैन मतलब

  • सोमवार, भदौ १, २०७७
भत्किएको पुल विप्लवका कार्यकर्ताले बनाइदिए, तर जनप्रतिनिधिलाई छैन मतलब

नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका कार्यकर्ताले जिल्लाको रास्कोट नरपालिका–९ फुगाडमा भत्किएको कच्ची पुल निर्माण गरेका छन् ।

गत साउन १३ गतेको बाढीले फुगाडमा नेपाली सेनाले निर्माण गरेको बेलिब्रिज सहित झोलुङ्गे पुल बगाएको ठाउँमा विप्लवका नेता तथा कार्यकर्ताहरुले जनश्रमदान गरी पुल मर्मत सम्भार गरेका हुन् ।

गत साउन १३ गते अविरल वर्षासँगै फुगाडमा आएको बाढीले कर्णाली करिडोरको रास्कोट नगरपालिका र पचालझरना गाउँपालिका जोड्ने बेलिब्रिज र झोलुङ्गे पुल बगाएपछि रास्कोट नगरपालिका, पचालझरना गाउँपालिका, पलाँता गाउँपालिकादेखि बाजुरासम्म जाने स्थानीय नागरिकहरुलाई खोलो तर्न समस्या परेको थियो ।

खोला आसपासका मानिसहरुले फलामे रडले मान्छे तारेको तीन सय र भारी तारेको ५ सय रुपैयाँ तिरेर ज्यानै जोखिममा राखेर खोलो तर्नु पर्ने बाध्यता थियो । विप्लवका कार्यकर्ताले पुलबाट बगाएका फलामको डण्डा र आसपासमा ढुंगाको गड बनाइ डोरीले अड्काएर कच्ची पुल निर्माण गरिदिएपछि अब बाटोमा हिँड्ने पैदल यात्रीहरुले सहजै खोलो तर्नसक्ने भएका छन् ।

स्थानीय सुजन बोहोराका अनुसार फुगाडमा बाढीले पुल बगाइदिएपछि पानीको भेलमा फलामको लडाको सहारामा खोला तर्दा ज्यानै जोखिम हुन्थ्यो । विप्लवका नेता तथा कार्यकर्ताहरु आएर कामचलाउ पुल बनाइदिएपछि सहजै खोलो तर्न सकिने भएको हो ।

नेकपाका जिल्ला इन्चार्ज कर्णबहादुर भण्डारीको नेतृत्वमा जिल्ला सेक्रेटरी मनीला ऐडी रणदीप, विप्लवका जनबर्गीय संगठनका प्रमुखहरु लगायत नेता तथा कार्यकर्ताहरुको जनश्रमदानमा नागरिकको सहजताका लागि पुल निर्माण गरिएको नेकपाले जनाएको छ ।

नेकपा जिल्ला सेक्रेटरी ऐडीले आफ्नो पार्टी गाउँ गाउँमा जनश्रमदान सहित बाढी पहिरो पीडितहरुको उद्धारमा निरन्तर खटिने बताए । ‘जनतालाई सास्ती भइरहेका बेला कथित जनप्रतिनिधिहरु गाउँ छाडेर सहरतिर मस्ती गरिरहेका छन् । हामी नागरिकको साथमा गाउँ गाउँमा खटिएका छौँ । फुगाडमा पुल बगेको महिना दिन बित्दा पनि कुनै सरकारले चासो देखाएनन्,’ उनले भने ।

चर्चामा

सम्बन्धित समाचार