शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • राजनीति
  • काँग्रेसको भावी सभापतिका लागि १० नेताको दौडधुप

काँग्रेसको भावी सभापतिका लागि १० नेताको दौडधुप

  • मङ्लबार, साउन २०, २०७७
काँग्रेसको भावी सभापतिका लागि १० नेताको दौडधुप

काठमाडौं । नेपाली काँग्रेसमा भावी सभापतिका लागि करिब एक दर्जन आकांक्षी देखिएका छन् । २२ असारको केन्द्रीय समिति बैठकले सबै तहको अधिवेशनको मिति परिमार्जन गरी महाधिवेशन आगामी फागुन ७–१० मै गर्ने निर्णय लिएपछि आकांक्षीको दौडधुप सुरु भएको छ ।

जसले काँग्रेसमा महाधिवेशनको सरगर्मी ह्वात्तै बढेको छ । कोरोनासंक्रमणले महाधिवेशनको गतिविधिमा चार महिना ब्रेक लागे पनि साउन पहिलो साताबाट क्रियाशील सदस्यता वितरण र नविकरण जारी छ । कोरोना संक्रमणको जोखिमलाई मध्येनजर गरी चैत पहिलो साताबाट महाधिवेशनका गतिविधि थाती राखिएकोमा २२ असारको केन्द्रीय समिति बैठकले फेरि अगाडि बढाउने निर्णय लिएको थियो ।

कोरोना महामारीको जोखिम अहिलेभन्दा बढेन भने निर्धारित मितिमै महाधिवेशन हुने गरी काँग्रेसमा गतिविधि भइरहेको छ । सदस्यता वितरण, सदस्यता नवीकरण सुरु भएसँग पार्टीको भावी सभापतिका आकांक्षीहरूले दौडधुप बढेको छ । आकांक्षीहरुबीच आ–आफ्नो अनुकूल वातावरण सिर्जना गर्न आन्तरिक छलफल र मिडियामार्फत् प्रचारबाजी चलिरहेको छ । सभापतिमा दोहोरिने मनसायका साथ पार्टी सभापति शेरबहादुर देउवा मनोनयन र नियुक्तिमा केन्द्रित भएको पाइन्छ ।

१३ औँ महाधिवेशनमा सभापति देउवासँग पराजय भोगेका वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्णप्रसाद सिटौलाले कार्यकर्तासँगको भेटघाट र सार्वजनिक अभिव्यक्तिमार्फत् फेरि उम्मेदवार बन्ने छनक देखिन्छ । यस्तै उपसभापति विमलेन्द्र निधि, महामन्त्री शशांक कोइराला, नेताहरु प्रकाशमान सिंह, अर्जुननसिंह केसी, रामरशण महत, शेखर कोइराला र गगन थापाबाट भावी सभापतिको आकांक्षा प्रकट भएको छ । वर्तमान परिदृष्यले काँग्रेसमा स्थापित तीन वटा गुटबाट १० जना नेता सभापतिको आकांक्षी रहेको देखाएको छ । यद्यपि अहिलेसम्म कसैले पनि आधिकारिक रूपमा घोषणा नगरेकाले कसको आकांक्षा कहाँ पुगेर कुन ब्रागेनिङमा टुङ्गिन्छ, पत्तो छैन ।

दश नेताको दौडधुप

अहिलेसम्म सभापति देउवा भावी सभापतिका लागि आफै उम्मेदवार बन्ने मुडमा रहेको उनीनिकट नेताहरु बताउँछन् । देउवाले पार्टीका विभाग र विभिन्न निकायमा सदस्यहरू समेत धमाधम थपिरहेका छन् ।

देउवाका पछिल्ला कदम प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय अधिवेशनबाट चुनिने ४ हजार १ सय २५ महाधिवेशन प्रतिनिधिमाथि प्रभाव जमाउन केन्द्रित देखिन्छ । अहिले केन्द्रीय विभागमा परिरहेका नेता तथा कार्यकर्तामा अधिकांश क्षेत्रीय प्रतिनिधि भइसकेका र फेरि पनि चुनिएर आउने सम्भावना भएकाहरू हुन् ।

यस्तै देउवाले फागुन १९ गते ३० र बुधबार ४ सय ७९ पुराना नेता तथा कार्यकर्तालाई ज्येष्ठ राजनीतिज्ञ सभामा ल्याउने कदमलाई पनि महाधिवेशनसँग जोडिएको छ ।

पार्टीका सक्रिय राजनीतिमा नरहेका पूर्वसभामुख, पूर्वमन्त्री तथा सांसददेखि पार्टीको पूर्वदाधिकारी तथा कार्यकर्तालाई देउवाले राजनीतिज्ञ सभामा मनोनय गरेका थिए । उनीहरुलाई महाधिवेशन प्रतिनिधि चुनेर पठाउन महत्त्वपूर्ण भूमिका खेल्न सक्ने पात्रका रुपमा हेरिन्छ । यसले देउवामा फेरि सभापति बन्ने उत्कट आकांक्षा दर्शाएको छ ।

यसैगरी, वरिष्ठ नेता पौडेलले समेत आफू निकट नेताहरूमार्फत सभापतिका लागि आफू तयार रहेको सन्देश दिँदै आइरहेका छन् । सभापतिको सन्देश दिने गरी नेता पौडेलले अनामनगरमा सम्पर्क कार्यालय खोलेपछि कार्यकर्तासँगका भेटघाटमा पनि बाक्लिएको छ ।

पछिल्लो समय उनी सभापति देउवाका हरेक निर्णय विरुद्ध आक्रमक देखिन थालेका छन् । देउवाभन्दा एक वर्ष जेठा पौडेलले उमेरका आधारमा मूल्याङ्कन नहुने बताएका थिए ।

देउवा र पौडेलबाटै काँग्रेसमा पुनर्ताजकी सम्भव नभएका विश्लेषण भइरहँदा पौडेलले शनिबार एक कार्यक्रमा भने, ‘उमेर समूह एउटै हुँदैमा योगदान, चरित्र र क्रियाकलाप एउटै छ त ? पदमा हुँदा शक्ति दुरूपयोग ग¥यो वा गरेन खोज्नुप-यो । म चुनौती दिन चाहन्छु मैले दुरूपयोग केहि गरेको छैन, खोज्नुहोस् ।’

पारिवारिक विरासतबाट राजनीतिमा उदाएका शशांक, प्रकाशमान र शेखरले सभापतिमा आकांक्षा देखाइरहँदा पौडेलले ‘धुलोबाट आएको नेतालाई छोड्न तयार’ रहेको भन्दै विरासतको राजनीति नस्वीकार्ने सन्देश दिए ।

‘युवा नेता छोड् छोड् भन्छन् । म प्रतिक्षामा छु । भारतमा मोदी कसरी आए ? उनीभन्दा सिनियर नेता थिए त्यहाँ पनि । माटो, धुलोबाट उठेको नेता आओस् छोड्न तयार छु,’ पौडेलको भनाइ थियो ।

१३ औँ महाधिवेशनमा पार्टीमा तेस्रोधारको नेतृत्व गर्दै आएका नेता सिटौलाले समेत पार्टी नेतृत्वका लागि आकांक्षा दर्शाएको पाइन्छ । उनले महाराजगञ्जमा भेटघाटका लागि कार्यालय नै खोलिसकेका छन् । सिटौलालले कार्यर्तासँगको छलफललाई पनि तीव्रता दिएको उनको सचिवालले बताएको छ ।

केही महिनाअघि गृह जिल्ला झापाबाट सिटौलाले १४ औँ महाधिवेशनमा पनि सभापतिका लागि आफ्नो उम्मेदावरी रहने उद्घोष गरेका थिए ।

केन्द्रमा आफ्नो गुट अस्तित्व कायम गर्दै जिल्ला तहबाट महाधिवेशनको शक्ति आर्जनमा केन्द्रित देखिन्छन् । यस्तै उपसभापति निधिसमेत सभापतिका लागि आफू तयार रहेको सन्देश दिन प्रयासरत छन् । संस्थापन पक्षसँगै उनले संस्थापन इतर पक्षसँग पनि छलफल र संवाद बढाइरहेका छन् । केही दिनअघि निधिले आफूलाई भेटेरै सभापतिमा सघाउन आग्रह गरेको शशांक कोइरालाको दाबी छ ।

तर निधिले देउवासँगको छलफल र सहमति बेगर सार्वजनिक रुपमा सभापति प्रकट गर्न सकिरहेको अवस्था छैन । १४औँ महाधिवेशनमा देउवा आफै उम्मेदवार भए निधिले आफू उम्मेदवार हुने नहुनेबारे छलफल गर्ने बताउँदै आइरहेका छन् ।

यता महामन्त्री डा. शशांक कोइरालाले समेत आफू पार्टी नेतृत्वका लागि तयार रहेको बताउँदै आइरहेका छन् । पार्टीभित्रको गुट उपगुट अन्त्यका लागि आफू उपयुक्त पात्र भएको उनको जिकिर छ ।

उनले पौडेल समूहमा उपगुट निर्माण गरि भावी सभापतिका लागि कसरत बढाइरहेको पाइन्छ । शशांकले हालै मात्र भेटघाटका लागि भनेर महाराजगञ्जस्थित निवाससँगै जोडिएको एक घर भाडामा लिएका छन् ।

काँग्रेस पूर्वमहामन्त्रीसमेत रहेका नेता सिंहले पनि आगामी महाधिवेशनमा आफू पनि नेतृत्वको आकांक्षी रहेको उद्घोष गरिसकेको अवस्था छ । पौडेल समूहमा रहेका सिंह पनि उपगुट निर्माण गरि भावी सभापतिका लागि महोल सिर्जना केन्द्रित देखिन्छन् । उनले बिजुली बजारमा निर्वाचनका समयमा खोलेको सम्पर्क कार्यालयलाई भेटघाटको थलो बनाएका छन् ।

तर चाक्सीबारीस्थित सिंह निवासमा भेटघाट र चहलफल बढी छ । पार्टी नेतृत्वमा पुग्ने अभिलासासहित गत हिउँदमा देश दौडाहमा निस्किएका सिंह यतिबेला आन्तरिक भेटघाट र छलफलमा व्यस्त भएको पाइन्छ ।

यस्तै काँग्रेस केन्द्रीय सदस्य डा. शेखर कोइरालाले पनि १४औं महाधिवेशनमा नेतृत्वको आकांक्षा पालेका नेता हुन् । पौडेल समूहमा रशेका शेखर पनि गुट निर्माणमा संघर्षरत छन् । उनले केन्द्रदेखि जिल्लासम्म पहुँच विस्तार गर्दै लगेको देखिन्छ ।

उनले कोरोना संक्रमणका बीचमा उपत्यका बाहिर नेता कार्यकर्तासँगको भेटघाटलाई सामाजिक दुरी कायम गरेरै निरन्तरता दिइरहेका छन् ।

संस्थापन इतर पक्षबाट सभापतिको एकल उम्मेदवार तय गराउन सक्रिए देखिएका नेता अर्जुननरसिंह केसी पनि सभापतिको आकांक्षी मानिन्छन् । काँग्रेस केन्द्रीय कार्यसमितिमा आफूभन्दा सिनियर नेता नभएको दाबी गर्दै नेता केसीले १४ औँ महाधिवेशनमा आफ्नो उम्मेदावरी स्वाभाविक हुने तर्क राख्छन् ।

नेता केसीको निवासमा पनि नेता कार्यकर्ताको चहलपहल बढ्दो छ । केही दिनअघि सभापति देउवाविरुद्धको मोर्चाबन्दी पनि नेता केसीकै निवासबाट तय गरिएको थियो ।

१३ औँ महाधिवेशनमा देउवा टिमबाट महामन्त्रीमा पराजित भएका केसी गत आम चुनावपछि पौडेल समूहमा जोडिएका थिए ।

यस्तै पूर्वसहमहामन्त्री रामशरण महतले पनि आफूलाई सभापतिका रुपमा गर्दै आएका छन् । उनले पनि मिडिया र सभा समारोहमा सभापतिका आकांक्षा दर्शाउँदै आएका छन् ।

यस्तै काँग्रेस युवा नेता गगन थापाले समेत आफू सभापतिको आकांक्षी हुन सक्ने सन्देश दिएका छन् ।

साउन १० मा राजधानीमा काँग्रेसका १३ युवा नेता सम्मेलित कार्यक्रममा आफू पार्टी नेतृत्वका लागि तयार रहेको संकेत गरेका थिए ।

१३ औँ महाधिवेशनमा सिटौला समूबाट महामन्त्रीको उम्मेदवार भएर पराजित भएका थापाले युवा नेताहरु नेतृत्वमा आउन हिम्मत गर्नुपर्ने बताएका थिए । ‘हामीमध्ये तपाईंहरु कसैले हिम्मत गर्नुहुन्छ भने पनि ठीक छ, म सहयोग गर्छु । मलाई सहयोग गर्ने हो भने म अघि बढ्न तयार छु,’ थापाको भनाइ थियो ।

महामन्त्रीको कसरतमा रहेका थापा बलियो टिममा स्पेस पाउने सम्भावना कमजोर देखिएपछि सभापतिमै उम्मेदवारी दिनेगरी आन्तरिक रणनीति बनाइरहेको उनी निटस्थहरु बताउँछन् । रातोपाटीबाट साभार

चर्चामा

सम्बन्धित समाचार