शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • समाज
  • बस्तीमाथिको जमिन चिरिएपछि रातभर निदाउँदैनन् स्थानीय

बस्तीमाथिको जमिन चिरिएपछि रातभर निदाउँदैनन् स्थानीय

  • आइतवार, साउन १८, २०७७
बस्तीमाथिको जमिन चिरिएपछि रातभर निदाउँदैनन् स्थानीय

विद्युत् प्राधिकरणको ड्याम, नहर र भीषण वर्षाका कारण त्रिपुरासुन्दरी गाउँपालिका–३, ड्याम साइडका १६ घर भासिएर उच्च जोखिममा परेका छन् । जमिन भासिएसँगै बस्तीमा जोडिएको टाउके खेत, पाखोबारी र जङ्गल बगिसकेको छ ।

उक्त बस्तीका कृष्णमान श्रेष्ठले बस्ती उच्च जोखिमा परेपछि विस्थापित हुनु परेको बताए । रातको समयमा १६ घरपरिवारका सय जनाभन्दा बढी विद्युत् प्राधिकरणको ट्रसमा त्रिपालले बारेर बस्दै आएका छन् । बस्तीमाथिको खेतबारी र वन जङ्गल गरी ७० रोपनी जमिन चिराचिरा परेर दुई मिटरको गहिराइसम्म फाटेको श्रेष्ठले जानकारी दिए । जमिन भासिने र फाट्ने भएपछि उक्त खेतबारीमा स्थानीयले बाली लगाउन छाडेका छन् ।

नेपाल विद्युत् प्राधिकरण सुनकोसी जलविद्युत् आयोजनाले सोही बस्तीमुनि ड्याम र नहर बनाएपछि बस्ती भासिएको स्थानीय श्रेष्ठले जानकारी दिए । चार पुस्ताभन्दा बढी समयदेखि बसोबास गरेका बस्ती भासिएपछि स्थानीयवासीलाई कहाँ गएर बस्ने भन्ने चिन्ताले सताउन थालेको छ । २०७१ सालको भीषण जुरे पहिरोले पनि उक्त बस्ती जोखिममा परेको थियो ।

अहिले पनि बस्तीमाथि रहेको टेकानपुर–तौथली सडकको पानीको भेल ठेकेदारले ह्युमपाइप राखेर बस्तीमाथिबाटै झारिदिएपछि सो बस्ती झन् बढी जोखिममा रहेको स्थानीय शिवराम श्रेष्ठले दुखेसो गरे । त्यसैगरी, ओरियन्ट म्याग्नेसाइडको रोप वे टावर ढल्न लाग्दा पनि उक्त बस्ती थप खतरामा परेको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा चित्र मिजारले लेखेका छन् ।

चर्चामा

सम्बन्धित समाचार