बुधबार, बैशाख २६, २०८१
  • होमपेज
  • शिक्षा
  • एसईईको नतिजा एक साताभित्र प्रकाशन गरिने

एसईईको नतिजा एक साताभित्र प्रकाशन गरिने

  • मङ्लबार, साउन १३, २०७७
एसईईको नतिजा एक साताभित्र प्रकाशन गरिने

राष्ट्रिय परीक्षा बोर्डले एक साताभित्र माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा सार्वजनिक गर्नेगरी तयारी गरेको छ । त्यसका लागि देशभरबाट सम्पूर्ण विवरण आइसकेको र अहिले हार्डकपी एवं सफ्टकपी रुजुको काम भइरहेको बोर्डका परीक्षा नियन्त्रक रामराज खकुरेलले बताए ।

शिक्षा पत्रकार समूहले आयोजना गरेको एक कार्यक्रममा परीक्षा नियन्त्रक खकुरेलले भने, “२५ वटा समूह बनाएर विहीवारदेखि हार्डकपी र सफ्टकपी रुजुको काम भइरहेको छ । यसैसाता नतिजा प्रकाशनको तयारी गरेका छौं ।”  विगतमा देशभरका विवरण बोर्डमा ल्याएर मार्क लेजर तयार पार्दा केही प्राविधिक त्रुटि देखिने गरेकोमा यसपटक विद्यालय आफैंले लेजर तयार पारेकाले त्रुटि कम हुने अनुमान गरिएको थियो ।तर, विद्यालयले पठाएका विवरण जिल्लास्थित शिक्षा इकाइहरुमा सच्चिएर बोर्डमा आइपुग्दासमेत केही त्रुटि पाइएका छन् । एसईई मूल्यांकनका सन्दर्भमा विद्यालयहरु र इकाईहरुसमेत गम्भीर नदेखिँदा केही जिल्लामा समस्या देखिएको खकुरेलले बताए ।  विद्यालयहरुले आन्तरिक मूल्याङ्कन पठाउँदा लापरबाही पाइएको हो । आफैँले वर्षभरी पढाएका विद्यार्थीको आन्तरिक मूल्याङ्कन पठाउँदा समेत विद्यालयहरुबाट विषय फरक पर्ने, ऐच्छिक विषय चढाउँदा समस्या, सैद्धान्तिक र प्रयोगात्मक अङ्क दिँदा त्रुटि पाइएको हो ।

यस बर्ष ४ लाख ८२ हजार २ सय १९ विद्यार्थी एसइई परीक्षामा सहभागी हुँदै थिए ।  कोभिड १९ को महामारीका कारण परीक्षा सुरु हुनु एकदिनअघि ५ चैतमा परिक्षा स्थगित गरिएको थियो ।

सरकारले कोभिड–१९ का कारण परीक्षा लिन सक्ने स्थिति नभएपछि विद्यालयको आन्तरिक मूल्यांकनका आधारमा नतिजा प्रकाशन गर्ने निर्णय लिएको हो । यसका लागि राष्ट्रिय परीक्षा बोर्डले निर्देशिका समेत जारी गरेको छ । शिक्षा विकास तथा समन्वय इकाइ रुपन्देहीका प्रमुख दिपेन्द्र ढकालले जिल्लाका ३ सय १७ विद्यालयमध्ये १५ वटाले पूर्णांङ्कभन्दा बढी अङ्क प्रदान गरेको पाइएको बताए ।

कुनैले सैद्धान्तिक, कुनैले प्रयोगात्मकतर्फको अङ्क दिन छुटाएका, कतै विषय विवरण गलत भर्ने गरेको पाइएको भन्दै ढकालले विद्यालयहरु गम्भीर नहुँदा समस्या आएको उल्लेख गर्दै भने, “विवरण सही नहुँदा तीनवटा विद्यालयको अङ्क सफ्टवेयरमा अपलोड नै भएन । पछि पत्र लेखेर हार्डकपी नै बोर्डमा पठाउनुपर्‍यो ।”  जयन्ती मावि महावु–१, खरीगैरा दैलेकी प्रअ सरिता गुरुङले यसपालीको एसईई मूल्याङ्कन विद्यालयको प्रतिष्ठा र विश्वनीयतासँग गाँसिएकाले आफ्नो विद्यालयले निर्देशिका बमोजिम नै मूल्यांकन विवरण इकाइमा पठाएको बताइन् ।

चर्चामा

सम्बन्धित समाचार