• होमपेज
  • समाज
  • बाजुरामा दुई आर्थिक वर्षमा १७ महिलामाथि जबरजस्तीकरणी, सुदुर पश्चिममा ३ सय ४७

बाजुरामा दुई आर्थिक वर्षमा १७ महिलामाथि जबरजस्तीकरणी, सुदुर पश्चिममा ३ सय ४७

  • सोमवार, साउन १२, २०७७
बाजुरामा दुई आर्थिक वर्षमा १७ महिलामाथि जबरजस्तीकरणी, सुदुर पश्चिममा ३ सय ४७

बाजुरामा २ अार्थिक बर्षमा १७ महिलाहरू जबर्जस्ती करणी भएकी छन । तर यो दुई वर्षको अवधीमा सुदूरपश्चिममा जबरजस्तीकरणी घटनामा समेत बृद्धि हुदै गएको एक तथ्याड्कले देखाएको छ। प्रदेश प्रहरी कार्यालय दिपायल तथ्याड्क अनुसार निर्मला हत्या प्रकरण भएको आर्थिक वर्ष २०७५/७६ मा ९ वटै जिल्लामा एक सय ५२ बालिका, महिला तथा बृद्धामाथि जबरजस्तीकरणी गरिएको घटना प्रहरीकोमा पुगाएका छन् भने आर्थिक वर्ष २०७६/७७ मा एक सय ९५ वटा मुद्दा दर्ता भएको छ।

कञ्चनपुरमा मात्र अघिल्लो वर्ष ३० वटा करणी सम्बन्धीका मुद्दा परेकोमा गत वर्ष बृद्धि हुँदै त्यो संख्या ४० पुगेको छ। करणीमा पर्ने १६ वर्ष उमेर समूहका किशोरी तथा बालिका सबैभन्दा बढि रहेका छन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरिक्षक अमरबहादुर थापाक्षेत्रीले सबैभन्दा बढि १६ वर्ष मुनिका किशोरी तथा बालिकामाथि जबरजस्तीकरणी हुने गरेको देखिएको बताए।

उनले गत वर्ष ४० पीडित न्यायका लागि पुगेकोमा १६ वर्षमुनिका २० जना, १५ देखि २५ वर्ष उमेर समूहका १९ र २६ देखि ३६ वर्ष उमेर समूहका एकजना पीडित रहेको बताए। सुदूरपश्चिममा सबैभन्दा बढि जबरजस्तीकरणीका मुद्दा रहेको कैलालीमा आर्थिक वर्ष २०७५/७६ मा ८२ बालिका, महिला तथा बृद्धा न्यायका लागि प्रहरी सम्म पुगेकोमा गत वर्ष उक्त संख्या बढेर ९२ पुगेको छ।

यस्तै कैलाली र कञ्चनपुरपछि सबैभन्दा धेरै बाजुरामा दुई आर्थिक वर्षमा १७, अछाममा दुई वर्षमा १६, बैतडीमा १५, डडेल्धुरामा १५, दार्चुला र डोटीमा १४ र बझाडमा १२ वटा मुद्दा रहेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ। प्रदेशमा महिलाप्रती हेर्ने दृष्टिकोणमा परिवर्तन नहुनु, दण्डीहिनता मौलाउदै जानु, प्रहरीप्रतीको विश्वसनीयतामा कमी हुदै जानु लगायतका कारण अपराधिक मनोवृत्तिलाई बल पुगेको बुझाई महिला अधिकारकर्मीहरुको रहेको छ।

सोही कारण सुदूरपश्चिम लैंगिक हिंसामा कमी आउन नसकेको निर्मला हत्या प्रकरणमा विगत दुई वर्षदेखि न्यायिक आन्दोलनमा सक्रिय अधिकारकर्मी मीना भण्डारी बताउँछिन्। उनले दण्डहिनता हिंसा, बलात्कार जस्ता जघन्य अपराध बढ्नुको प्रमुख कारण भएको बताईन्। तर प्रहरीले भने गत विगतमा भएका त्रुटीहरुलाई सिकाईका रुपमा लिदै जघन्य प्रकृतिका लैंगिक हिंसा न्युनिकरणमा गम्भीर रुपमा काम गर्दै आएको दावी गर्ने गरेको छ।

खासगरी निर्मला हत्या प्रकरणलाई प्रहरी संगठन भित्र सिकाईका रुपमा लिदै सोही अनुसार जबरजस्तीकरणी लगायतका अपराधिक गतिविधी निरुतासाहित गर्न योजनाबद्ध रुपले काम गरिरहेको बताईएको छ। कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरिक्षक थापाक्षेत्रीले महिला सम्बन्धीका कुनैपनि घटना संवेदनशिल हुने भएकाले सोही अनुसार गम्भीर रुपमा काम गर्दै आएको बताए।

सकभर त्यस्ता प्रकृतिका घटना पुनः दोहोरिन नदिनतर्फ प्रहरी सचेत र सजग रहेको बताउँदै समुदाय प्रहरी साझेदारी कार्यक्रम मार्फत जनचेतनामुलक कार्यक्रम समेत चलाउँदै आएका जनाए। तथ्याड्कमा संख्यात्मक रुपमा महिला हिंसा सम्बन्धीका मुद्दा बढेको देखिनुलाई जनचेतना स्तरमा समेत बृद्धि भएको रुपमा विश्लेषण गरिएको छ।

चर्चामा

सम्बन्धित समाचार