बिहिबार, मंसिर २०, २०८१
  • होमपेज
  • विचार/ब्लग
  • अबको युग सर्वजन हितको हो

अबको युग सर्वजन हितको हो

  • सोमवार, साउन १२, २०७७
अबको युग सर्वजन हितको हो

बडाले जे गरयो काम हुन्छ त्यो सर्व सम्मत

छैन शंकरको नङ्गा मगन्ते भेष निन्दित ।

यो श्लोक कविशिरोमणि लेखनाथ पौड्यालको नैतिक दृष्टान्त कविताको हो ।

हामीलाई नैतिक शिक्षा सिकाउने उक्त श्लोकको पहिलो पंङ्तिले भन्छ, बडा वा ठूलाले गरेको जेजस्तो कर्म भएपनि समाजले हुबहु रुपमा स्वीकार गर्नुपर्छ । त्यो त्याज्य छैन, ग्राह्य छ । सर्व स्वीकार्य छ । हुन्छ, किनकी ठूलाले गरेको कर्म हो । राम्रो नराम्रो भन्ने हुदैन । न त प्रश्न नै उठाउनु पर्छ । ती ठूलाबडाको परिधिभित्र भने नेपाली समाज, संस्कार र मूल्य मान्यताअनुसार मानिआएका हरेक तह र तप्काका पद प्रतिष्ठाले उच्च व्यक्ति पर्दछन । आजको सन्र्दभमा ठूला बडा हुने र मान्ने÷नमान्ने मानक के हो त्यो भने सार्वजनिक विर्मशको विषय अवश्य हो ।

कविताको दोस्रो पंङ्तिले प्रष्टोक्ति दिदै भन्छ कि भगवान मानिएका शंकरको नग्न रुप पनि निन्दित छैन । उनको कुनै पनि प्रवृति लोकजन र जगतमा तिरष्कृत र घृणित छैन केवल छ प्रशंसनीय किनकी उनी देवता हुन । यसरी समाजमा ठूला बडाले गरेको जुनसुकै किसिमको कु(कर्म) पनि उनै भगवानरुपी शंकरको जस्तै हो । ठूलाबडा र शंकर भगवान कर्मका दृष्टिमा बराबर हुन । त्यो कर्मको प्रतिफल सर्वजन हिताय होस् या दुर्जन हिताय त्यो ठूला बडाले गरेको हो त्यसैले, स्वीकार्य छ । त्यसमा भिन्न मत अभिमत प्रकट गर्नु हुन्न । जे जस्तो छ त्यही रुपमा आम नागरिकले ग्रहण गर्नुपर्छ ।  यस्तो किसिमको सोच हाम्रो समाजमा संस्कारको रुपमा विकास हुदै गयो । ग्रहण गर्ने हरेक व्यक्तिको जीवनको अभिन्न पाटो बन्दै गयो र बनाइयो । पुनरावृति, अनुकरण, अन्धानुकरण हुदै देवत्करणसम्म पनि गरेको पनि यदाकादा पढन र देख्न पाइन्छ । ती बडाहरु कति समयसम्म रहे वा किन त्यसो गरियो भन्ने कुरा पनि कहिलेकाही समिक्षाको विषय बनेन ।

हामी ठूला बडा हुने र बनाउने यस्तो नैतिकता सिकाउने शिक्षा दशकौदेखि पढदै पढाउदै आइरहेका छौ । नैतिक शिक्षा दिने माध्यम फरक हुन सक्छन । ती कथा होलान । कविता या यस्तै अन्य अरु विषयहरु । यद्यपि यो नैतिक दृष्टान्त कविता विद्यालयमा पठनापाठनको विषय पनि बनाइयो । पढाइयो । अझै पनि उक्त श्लोक अस्तित्व मै छ । जसले हरेक व्यक्तिको जीवनलाई मार्ग दर्शन गर्दछ । त्यो शिक्षा कस्तो हुनुपर्छ यो कुराको हेक्का राख्नु पर्ने विषय होइन र ?। भनिन्छ, व्यक्ति व्यक्तिबीचको सामाजिक सम्बन्धको विस्तारित रुप समाज हो । अब विचार गरौ उक्त नैतिक शिक्षा जस्तै अन्य शिक्षाबाट अभिप्रेरित व्यक्लिे बनाउने समाजको रुप कस्तो होला ? भावी समाज र त्यसको संरचना कस्तो बन्ने र बनाउने भन्ने जग अहिले निर्माण हुने होइन र ? आज हामीले जसलाई ठूला बढा भनेर मान्दै आयौ या मान्न लगाइयो तिनको कर्म र त्यसको प्रतिफल के साच्चै ठूला बडाको जस्तै छ ? या यो श्लोकमा भनेजस्तै सर्व स्वीकार्य छ ? छ भने हामीलाई आफू बाचेको समाजप्रति किन यति धेरै अनुत्तरित प्रश्नहरु छन ? ती प्रश्नहरुको जवाव कस्ले दिने ? तपाई हामी सबै त्यसको हिस्सेदार होइनौ र ? देशका नागरिक हुन वा पद प्रतिष्ठाले ठूला बढा भनेका व्यक्ति तिनको मूलभूत चरित्र कस्तो हुने । बनाउने भन्ने कुरामा त्यो राज्यले अबलम्बन र अख्तियार गरेको शिक्षाले मुख्य भुमिका खेल्ने होइन र ?

यसकारण हाम्रो शिक्षा प्रणालीमा व्यापक परिवर्तन र पष्किारको आवश्यकता देखिन्छ । हाम्रो शिक्षा प्रणालीका कतिपय राम्रा कुरा भएपनि सारमा भन्दा काम नलाग्ने विषयवस्तुको चाङ नै बढी छन । नैतिकताका नाममा सिकाइने यस्ता रटान हुन या विद्यायलय वा विश्व विद्यालयमा अध्ययन अध्यापन गरिने विषयले व्यक्तिको प्रतिभालाई भन्दा विषयवस्तुलाई बढी जोड दिएको पाइन्छ । तीनै विषयवस्तु अन्तमा गएर हरेक व्यक्तिको मनोवैज्ञानिक संरचनालसँग अन्र्तघुलन भइ जीवनशैलीको हिस्सा बन्न जान्छन । उस्तै परे समय र सन्दर्भसँग सम्बन्ध र संगति नमिल्ने भएपनि पुर्खाले मान्दै आएको संस्कार संस्कृतिको दर्जा दिदै सिर्जनालाई साथ दिदैनौ ।

यसकारण, समग्र रुपमा भन्दा आम नागरिक किन शिक्षाले निर्देश गरेको मार्गअनुसार चलेनन यो मूलभूत प्रश्नको उत्तरको खोजी हुन बाकी नै छ । गरिएको छैन । यदि छ भने त्यो खोजी वा शोध अपूर्ण जस्तो देखिन्छ । त्यो प्रश्न भनेको हाम्रो सोच, मनोवृति, संस्कार, संस्कृति, समाज र जीवनका अभिन्न अङ्ग मानिएका मूल्य मान्यता र यसको संरचना केले बनेको हुन्छ ? यिनीहरुको विकास के कसरी र कुन रुपमा हुदैछ या हुनु पर्ने भन्ने हो । यो संरचना निर्माणमा कुनै न कुनै विचार र दर्शनको भुमिका र स्थान पक्कै पनि रहन्छ होला । त्यसो भए त्यो दर्शन के हो ? राज्य र उसका नागरिकले कस्तो विचार अंगिकार गर्ने त्यो कुरा शिक्षा प्रणालीले निर्धारण गर्ने होइन र ? चाहे त्यो शिक्षा औपचारिक होस् या अनौपचारिक रुपबाट आर्जन गरिएको होस् । जुनसुकै कुरा पनि व्यक्तिको व्यवहारको तहमा आएपछि विस्तारै समाजले बैधता दिन्छ । स्थायीत्व खोज्छ । फलस्वरुप यो चक्र लामो समयसम्म चलिरहन्छ । अन्तमा मान्यताका रुपमा स्थापित हुन्छ । जुन मान्यताले कालान्तरमा गएर सत्ता र राज्यको चरित्रसम्म असर गर्न सक्छ ।

सबै मान्छे हरेक किमिका गुणहरु विकास हुने क्षमता जन्मजात रुपमा नै लिएर आएको हुन्छ ।  जो जैविकीय गुण हुन । माया, प्रेम, घृणा, ईष्र्या, लोभ, मोह, आवेग, संवेग र उन्माद, डर र त्रास आदि इत्यादि । यी स्थायी स्वभाव हुन । यस्ता गुण एवं स्वभावलाई समाज, संस्कार र शिक्षादिक्षाले एवं मूल्यमान्यताले परिष्कृत गर्न मलजल गर्छ । हुन त कसले कुन स्वभावलाई मन मस्तिष्कमा राख्ने र हृदयमा उब्जाउने भन्ने व्यक्ति विशेषको कुरा हो । तर पनि मान्छे सामाजिक प्राणी हो । समाज अनुकूल आचरण र व्यवहार गर्नु पहिलो कुरा हो । जसले स्वयं र समाजलाई हानी नोक्सानी गर्दछ त्यस्ता स्वभावलाई कसरी नियन्त्रण गर्ने भनेर घरपरिवार छरछिमेक हुदै विद्यालयमा पनि सिक्दै र सिकाइदै आएको छ । यो प्रक्रिया निरन्तर चलिरहेको छ । केही स्वभाव यस्ता हुन्छन जसको अधिक विकास भइ  अव्यवहारिक प्रयोग भयो भने स्वय् व्यक्ति र समाजका लागि घातक सावित हुन्छ । त्यस्ता स्वभाव भएका व्यक्ति यदि राज्य सञ्चालनको प्रमुख जिम्मेवारी पाएका व्यक्ति हुन भने त त्यसले देशको भविष्यलाई संकटमा पार्छ । स्वभावका व्यक्तिले जसरी देशका नागरिकको भविष्य उज्यालो हुन्छ । नराम्रा स्वभावले अन्धकार ।

अहिले कुनै एउटा व्यक्ति विषेशको चित्त दुखेको कारणले न्याय प्रणालीमा पर्न सक्ने सम्भावित असरले सिङ्गो नेपाली समाज तरङ्गित भएको छ । यो त एउटा प्रतिनिधि चित्त दुखाइको कुरा हो । यसरी ठूला बडा मानिएका व्यक्तिहरुको चित्त दुर्जन हितायका लागि दुख्दा आज न्याय प्रभावित होला भोलि अर्काको चित्त यसरी नै दुखेर राज्य नै प्रभावित भयो भने त्यसको जिम्मा कसले लिने ? यस्तो किसिमको संस्कारको सत्तालाई स्वीकार गर्न कसले लगायो ? त्यसैले जोकोहीले पनि व्यक्तिगत स्वार्थलाई फलिफाप हुनै भन्दा समग्र नागरिकको भलाइको लागि उसको पद र प्रतिष्ठाले आर्जन गरेको ज्ञान र विवेको प्रयोग गर्नु पर्ने हुन्छ ।

झन सार्वजनिक पद धारण गर्ने राज्यकोषबाट सेवासुविधा लिने व्यक्तिले राज्यको समग्र हितप्रति संवेदनशील हुनु पर्ने होइन र ? कि व्यकितगत लोभ लाचर मोहका लागि सर्वजन हिताय भन्दा दुर्जन हिताय गर्ने ? के न्यायलाई न्यायधीशको चित्तले निर्देशित गर्ने नजिर बसाल्ने हो ? राज्यको न्याय प्रणाली यसरी चल्छ र ? यसै गरी विकासका योजना मन्त्रीका चित्तले चलाउने कि विधि र पद्धतिले ? यो वा त्यो रुपमा व्यक्तिको आवेग र उन्मादको प्रतिफलले नागरिक पीडित हुनु हुदैन । विश्व इतिहासमा केही उदारण एवं प्रतिनिधि पात्र पनि छन । जसले राज्य शक्ति र सत्ताको आवेग र उन्मादको सहाराले काम गरेका थिए । जस्तै, हिटलर, मुसोलिनी, दादा इदी अमिन र कर्णेल गद्याफी । हिटलरका कारण विश्को रुप कुरुप भएको होइन र ? बर्बरता र ज्याजतिले सिमा नाघेको होइन र विश्वयुद्धको नाममा ? सिङ्गो मावन सभ्यता एकैपटक लज्लित र घृणित भएको होइन र ? आफनै कर्मको परिणति देखेर आफै त्रसित भएको होइन र मान्छे ? दुःखी र भयभित भएको होइन र आफनो सन्ततिको भविष्को बारेमा सोचेर ? शारीरिक र मानसिक लगायतका अन्य पीडाले आक्रान्त भएपछि आक्रोशित भएको होइन र  मान्छे अंगाल्दै आएको स्थापित मान्यताप्रति ?

यसकारण अबका बडा हरेक क्षेत्रका हुनेछन । ती बडा भनेका तपाई हामी सबै हुनेछौ । सायद यस्ता बडाको सोच र चिन्तन व्यवहार र जीवनशैली सिङगो मानव समाज र सभ्यताको लागि कल्पवृक्ष सरह हुनेछ । हरेक कर्मको सुरुवात र अन्त्य मानवीय धर्मलाई केन्द्रमा राखेर हुनेछ । नकि नातागोता, आफन्तवाद र कृपावाद जस्ता विषयलाई मानवीयताको परिभाषा र परिधि मानिनेछ । यसैले मानव सेवाका नाम हुने हरेक छद्यमभेषी कर्मलाई तिरष्कार र इन्कार गर्न सक्ने सक्षम नागरिक निर्माणमा राष्ट्र लाग्नु आवश्यक छ । त्यो जोकोही व्यक्ति राज्यकोष प्रयोग गरोस वा व्यक्तिगत स्वयंम हित विपरित छ भने पनि प्रयोग गर्न कयौ पटक सोच्ने चेत भएको नागरिक बनाउने शैक्षिक चिन्तन र संस्कारको विकास गरौ र जग  बसालौ । तब त्यो मानव समाज साच्चिकै अझ सुन्दर, समुन्नत, सुखी र समृद्ध समाज हुनेछ ।

चर्चामा

सम्बन्धित समाचार