मङ्लबार, मंसिर ११, २०८१
  • होमपेज
  • समाज
  • एसिड आक्रमण : कहिले कति घटना ?

एसिड आक्रमण : कहिले कति घटना ?

  • शनिबार, साउन १०, २०७७
एसिड आक्रमण : कहिले कति घटना ?

काठमाडौँ — एसिड प्रहारको घटनाको सूचना पाउनेबित्तिकै संलग्नको खोजीमा जुटेको प्रहरीले धेरै अलमलिनु परेन । सीसीटीभी फुटेज, प्रत्यक्षदर्शी र पीडितको प्ररम्भिक बयानकै आधार पर्याप्त भयो ।

घटनामा पीडित पवित्रा कार्कीको मोबाइलको कल डिटेल पनि निकालेको प्रहरीका लागि अनुसन्धानका सूत्र पर्याप्त भए । बाफलमा सामान किन्न गएकी उनलाई ३ घण्टाको बीचमा मात्रै मोहम्मद आलमले आफ्नो र मुन्ना महमदको मोबाइलबाट ३७ पटकभन्दा बढी मिस्डकल गरेको खुलेको प्रहरीले जनाएको छ । घटनालगत्तै दुवैलाई पक्राउेयता प्रहरी अन्य तथ्यमाथि पनि अध्ययन गरिरहेको छ । डल्लुका गार्मेन्ट सञ्चालक ४७ वर्षीय आलम र उनका भारतीय कामदार महमद पक्राउ घटनाको तीन घण्टापछि नै परेका हुन् । प्रहरीका अनुसार आलमको योजनामा मुन्नाले एसिड प्रहार गरेका हुन् । तयारी झोलालगायत सामान उत्पादन गर्ने आलमको कारखाना र कार्कीको डेरा नजिकै छ । उनकी दिदी पनि केही वर्ष पहिले आलमकै कारखानामा काम गर्थिन् । अरू जागिर नपाउँदा एक महिना जति उनले पनि त्यहीँ काम गरेकी थिइन् । होटलमा लेखा कर्मचारीको काम पाएपछि भने उनले आलमको गार्मेन्ट छाडेकी थिइन । उनले प्रहरीलाई बताएकी छन्– आलमको हेराइ ठीक लाग्दैनथ्यो । कुराकानीबाट नियतमा खोट बुझेपछि उनले फेसबुक र म्यासेन्जरबाट आलमलाई ब्लक मात्रै गरेकी थिइनन्, मोबाइलमा कल नै रिसिभ गर्न पनि छाडेकी थिइन् ।

आलम श्रीमती र १९ वर्षकी छोरी तथा १७ वर्षका छोरासँगै बस्छन् । एसिड प्रहार गर्ने मुन्ना पनि श्रीमती र ८ महिनाकी छोरीसहित डल्लुमै बस्छन् । पक्राउपछि आलमले प्रहरीसँगको प्रारम्भिक बयानमा प्रेम प्रस्ताव अस्वीकार गरेको रिसको झोंकमा योजना बनाएरै एसिड प्रहार गर्न लगाएको बताएका छन् । घटनाको केही वर्ष अघिबाटै प्रेम प्रस्ताव राखेको उनले बयान दिएका छन् । ‘घटनाअघि युवतीलाई पसलमा लैजाने, त्यसपछि कालिगडलाई एसिड लिएर बाफलमा छोड्ने र घटनापछि कालिगडलाई सुरक्षित स्थानसम्म लैजाने योजना आलमले दिउँसै बनाएका रहेछन्,’ बिहीबार राति घटनाको अनुसन्धानमा खटिएका महाशाखाका एसपी होविन्द्र बोगटीले भने, ‘अपराधको योजनाबारे युवती बेखबर थिइन््, त्यसको फाइदा उठाएर घटना गराए । तर प्रहरीको सावधानीले अपराधमा संलग्नलाई केही घण्टाभित्रै पक्राउ गर्न सकियो ।’

‘उनले रूपको साह्रै घमण्ड गरिन्, मैले मन पराउँथें तर कुनै मतलव नै गर्दिन थिइन्,’ आलमले प्रहरीलाई बयानमा भनेका छन्, ‘रूपको घमण्ड गर्न थालेपछि मलाई असह्य भएर एसिड हान्ने योजना बनाएँ ।’ महानगरीय अपराध महाशाखा र महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले मुन्ना र योजनाकार आलमलाई राति कारखाना र कोठाबाटै नियन्त्रणमा लिएको थियो । राति नै पक्राउ नपरेका भए एसिड हान्ने मुन्नालाई आलमले भारत पठाउने योजना गरिसकेको अनुसन्धानमा संलग्न प्रहरी अधिकारीको भनाइ छ । दुवैलाई थुनामा राखेर कारबाहीका अघि बढाउन शुक्रबार अदालतबाट अनुसन्धान म्याद लिइएको महानगरीय अपराध महाशाखा प्रमुख एसएसपी दीपक थापाले बताए ।

७ वर्षमा २१ घटना, २३ जनामाथि एसिड प्रहार

बिहीबारको घटना काठमाडौंमा पछिल्लो ७ वर्षमा तेस्रो हो । प्रहरी प्रधान कार्यालयका अनुसार २०७१ यताका ७ वर्षमा मुलुकभर एसिड प्रहारका २१ घटना भएका छन् । १९ युवती र ४ पुरुषमाथि एसिड आक्रमण भएको छ । घटनामा संलग्न २७ पुरुष र २ महिला पक्राउ पनि परेका छन् । यो अवधिमा एसिड हान्नेमध्ये २ जनामाथि कर्तव्य ज्यान, १३ जनामाथि ज्यान मार्ने उद्योग, एक जनालाई केही सार्वजनिक अपराध र ४ जनामाथि कुटपिट र अंगभंगमा कारबाही भएको तथ्यांक छ । तर यस्तो आपराधिक मनोवृत्ति भने अझै रोकिएको छैन ।

देशभर २०७१, २०७४, २०७५ र २०७६ मा एसिड प्रहारका ४/४ वटा घटना भए । २०७२ मा २ र २०७३ र बिहीबार १/१ वटा घटना यससँग सम्बन्धित छन् । २०७१ फागुन १० मा वसन्तपुरको झोंसेंमा एसएलसीको ट्युसन पढ्न गएका रामेछाप खनियापानीकी १६ वर्षीया संगीता मगर र रौतहटकी १५ वर्षीया सीमा बस्नेतमाथि एसिड हान्ने जीवन विक एक महिनापछि भारतबाट पक्राउ परेका थिए । २०७६ जेठ २ मा राजधानीको कालोपुलमा राति ८ बजे काभ्रेका विष्णु भुजेलले आफ्नी श्रीमती जेनी खड्कामाथि एसिड प्रहार गरेका थिए । २०७६ भदौ २० मा वीरगन्ज–१३ श्रीपुरकी १५ वर्षीया मुस्कान खातुनमाथि माजिद मियाँ र सम्साद मियाँको योजनामा एसिड प्रहार भयो । यीसहित घटनामा संलग्न अधिकांश पक्राउ परेर कारागारमा छन् ।

एसिड प्रहार गर्नेविरुद्ध के छ कारबाही ?

एसिड आक्रमण गर्नेलाई १८ वर्षसम्म कैद सजाय हुन सक्ने व्यवस्था कानुनमा छ । एसिड हानेर घाइते मानिसको ज्यान गएमा त्यसलाई कर्तव्य ज्यान मुद्दा लाग्ने प्रावधान मुलुकी अपराध संहिता २०७४ मा छ । आक्रमण गरेर शरीर कुरूप बनाउनेमाथि ज्यान मार्ने उद्योग र एसिड प्रहार गरी शरीर कुरूप बनाएका दुई कसुरमा मुद्दा चल्ने संहितामा उल्लेख छ । मुलुकी अपराध संहिता २०७४ को दफा १८३ (२) मा कसैले कसैको ज्यान मार्ने नियतले त्यस्तो अपराधमा संलग्न हुनु हुँदैन । यस्तो कसुर गर्ने/गराउनेलाई १० वर्ष कैद र एक लाख रुपैयाँसम्म जरिवाना हुन्छ । संहिताको दफा १९३ अनुसार तेजाब वा अन्य रासायनिक जैविक वा विषालु पदार्थ प्रयोग गरी कुरूप पार्नेलाई कसुरको प्रकृति हेरी अनुहार कुरूप पारेमा ५ वर्षदेखि ८ वर्षसम्म कैद र १ लाख रुपैयाँदेखि ५ लाखसम्म जरिवाना र शरीरको अन्य अंग कुरूप पारेमा वा शरीरमा पीडा पुर्‍याएमा ३ वर्षदेखि ५ वर्षसम्म कैद र ५० हजारदेखि ३ लाख रुपैयाँसम्म जरिवाना हुने प्रावधान छ । जरिवानाबापत प्राप्त हुने पूरै रकम पीडितलाई दिनुपर्ने कानुनमा व्यवस्था छ ।

कहिले कति घटना ?

२०७१ : घटना ४, पीडित ४, पीडक ४

२०७२ : घटना २, पीडित २, पीडक ४

२०७३ : घटना १, पीडित १, पीडक १

२०७४ : घटना ४, पीडित ४, पीडक ६

२०७५ : घटना ४, पीडित ५, पीडक ५

२०७६ : घटना ४, पीडित ५, पीडक ५

२०७७ : घटना १, पीडित १, पीडक २
कान्तिपुर दैनीकबाट शाभार 

चर्चामा

सम्बन्धित समाचार