• होमपेज
  • समाज
  • सुदूरपश्चिममा एक वर्षमा ५४४ जनाले गरे आत्महत्या

सुदूरपश्चिममा एक वर्षमा ५४४ जनाले गरे आत्महत्या

  • शुक्रबार, साउन ९, २०७७
सुदूरपश्चिममा एक वर्षमा ५४४ जनाले गरे आत्महत्या

सुदूरपश्चिम प्रदेशमा आत्महत्या विकराल समस्याका रुपमा देखा परेको छ। पछिल्लो चार बर्षको तथ्याङक हेर्दा सुदूरपश्चिम प्रदेशमा आत्महत्या विकराल समस्याका रुपमा देखा परेको हो। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका अनुसार प्रदेशमा माषिक कम्तिमा ४५ जनाले आत्महत्या गरेको देखिन्छ। आर्थिक बर्ष २०७३/०७४ मा ४ सय ३२ जनाले आत्महत्या गरेकामा २०७४/०७५ मा ४ सय ९९ र २०७५/०७६ मा चार सय ९० जनाले आत्महत्या गरेका थिए। गत आर्थिक बर्ष २०७६/०७७ मा पाँच सय ४४ जनााले आत्महत्या गरेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

कार्यालयका अनुसार दुई सय ६३ महिला र दुई सय ८१ जना पुरुषले आत्महत्या गरेका हुन्। झण्डै दुई सय जनाले भने कोरोना भाइरसको जोखिम न्यूनीकरणका लागि जारी गरिएको लकडाउनको अवधिमा आत्महत्या गरको छन्। लकडाउनको अवधिमा पनि महिला भन्दा आत्महत्या गर्नेको संख्या पुरुषको बढि छ।

शहरीकरण पनि कारण
सुदूरपश्चिम प्रदेशमा सवैभन्दा सुगम जिल्ला कैलाली हो भने सबैभन्दा दुर्गम बाजुरा हो। बाजुरा जिल्ला त मानव विकास सुचाङकमा देशभरीमा ७७ औँ जिल्लामा छ। तर आत्महत्याको दर हेर्दा भने दुर्गम जिल्लाको तुलनामा सुगम जिल्लामा धेरै बढि छ।सुदूरपश्चिमका ९ जिल्ला मध्ये सबैभन्दा बढि कैलालीमा आत्महत्या गर्नेको सङख्या छ। ग्त आर्थिक बर्षमा प्रदेशभरी पाँच सय ४४ जनाले आत्महत्या गरेकोमा सबैभन्दा बढि कैलालीमा एक सय दुई महिला र एक सय २१ पुरुष गरी दुई सय २३ जनाले आत्महत्या गरेका छन्। तर बाजुरा जिल्लामा भने ११ महिला र सात पुरुष गरी १८ जनाले मात्रै आत्हत्या गरेका छन्। यो तथ्याङकले शहरमा आत्महत्याको दर बढि रहेको पुष्टि गरेको छ।

यस्तै कञ्चनपुरमा ७३ महिला र ८५ पुरुष गरी एक सय ५८ जना, अछाममा १३ महिला १५ पुरुष गरी २८ जना, डोटीमा १० पुरुष र १६ महिला गरी २६ जना र बैतडीमा १७ महिला र ८ पुरुष गरी २५ जनाले आत्महत्या गरेका छन्। बझाङमा १५ महिला र ८ पुरुष गरी २३ जना, दार्चुलामा १२ महिला र १० पुरुष गरी २२ जना र डडेल्धुरामा १० महिला ११ पुरुष गरी २१ जनाले आत्महत्या गरेका छन्।‘आत्महत्या बिकराल समस्यामाको रुपमा देखा परेको छ,’ जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरिक्षक अमरवहादुर थापाले भने, ‘शहरमा जिविका चलाउन समस्या हुन्छ। सोही कारणले निराशा उत्पन्न भएर आत्महत्यालाई रोज्ने गरिएको छ।’ उनले आत्महत्याको प्रमख कारण भने तनाव नै भएको बताए। शहर बजारमा हुने अभाव र गरीबीले थिचिएर पनि धेरैले आत्महत्याको बाटो रोजेको हुन सक्ने प्रहरीको बुझाई छ।

अवैध सम्वन्ध
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआइजी) उत्तमराज सुबेदीले विगतको भन्दा पछिल्लो समय आत्महत्याको कारण पनि फेरिएको बताए। ‘हिजोसम्म एउटा गरिवी र अर्को असफलता नै आत्महत्याको मुख्य कारण थियो,’ डिआइजी सुवेदीले भने, ‘अहिले विभिन्न कारणले मान्छे डिप्रेसनमा जानेर सोही कारणले आत्महत्या रोज्ने क्रम बढेको छ।’

उनका अनुसार डिप्रेसनमा जानुको कारण कार्य असफलता र गरिवी मात्रै होईन्। ‘लकडाउनका कारण बेरोजगारी बढ्यो र एउटै ठाउँमा बस्नुपर्ने बाध्यता बन्यो। यस्ले पनि डिप्रेसनको समस्या बढेको छ। त्यस्ले आत्महत्या पनि बढाएको छ।’ उनले दिनेश खवरलाई भने।पहाडी जिल्ला र ग्रामिण क्षेत्रको तुलनामा सहरमा आत्महत्या बढि हुनुको अर्को कारणका रुपमा प्रहरीले अवैध सम्वन्ध पनि रहेको जनाएको छ। शहर बजारमा प्रेममा धोका पाएर पनि धेरै युवा युवतीहरुले आत्महत्याको बाटो रोजेको पाईएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ।यस्तै शहरी क्षेत्रमा विवाहित महिला र पुरुषले समेत अवैध सम्वन्ध बनाउने र त्यसबाट निराशा बढ्दै गएपछि आत्महत्याको बाटो रोज्ने गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ।

दुरुत्साहनमा मुद्दा बढे
प्रहरीले आत्महत्या गर्न बाध्य बनाउनेहरूलाई दुरुत्साहन मुद्दा लगाउन थालेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआइजी) सुबेदीले बताए। ‘आत्महत्याका घटना मध्ये झण्डै २० प्रतिशत घटनामा दुरुत्साहन मुद्दा परेको छ,’ उनले भने, ‘अनुसन्धान गर्दा अर्काले दिएको शारीरिक र मानसिक यातनाबाट आत्महत्या गरेको खुलेपछि आत्महत्या गर्न बाध्य बनाएको आरोपमा फौजदारी अपराध संहिता अनुसार दुरुत्साहन मुद्दा लगाउन थालिएको हो।’ दुरुत्साहन गरेकै कारणले आत्महत्या गरेको ठहरिएमा अभियुक्तलाई ५ वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवना हुने व्यवस्था छ।

चर्चामा

सम्बन्धित समाचार