• होमपेज
  • समाचार
  • चिकित्सककै मिलोमतोमा सेती अस्पतालको फार्मेसीमा औषधीको कृत्रिम अभाव

चिकित्सककै मिलोमतोमा सेती अस्पतालको फार्मेसीमा औषधीको कृत्रिम अभाव

  • बिहिबार, साउन ८, २०७७
चिकित्सककै मिलोमतोमा सेती अस्पतालको फार्मेसीमा औषधीको कृत्रिम अभाव

 स्वास्थ्यमा समस्या देखिएपछि सेती प्रादेशिक अस्पताल पुगेका कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्बर ५ गुलरियाका केशवराज पन्तले चिकित्सकले लेखे अनुसारको औषधी फार्मेसीमा पाएनन्। बुधबार अस्पताल फार्मेसीमै भेटिएका पन्तले चिकित्सकले पर्चामा लेखे अनुसारका सबै औषधी नपाएको गुनासो गरे।

‘औषधी छै्रन् भन्दै फर्काइयो। बाहिरबाट किन्नु भनेका छन्।’ उनले भने, ‘फार्मेसीमै औषधी भएको भए बाहिरबाट बढि शुल्क तिरेर औषधी खरिद गर्नुपर्ने थिएन।’ पन्त मात्र नभएर अस्पतालको फार्मेसीमा औषधीका लागि पुग्ने अधिकांश विरामी चिकित्सकले लेखेबमोजिमका सबै औषधी नपाएर निजि मेडिकल धाईरहेका छन्।

फार्मेसीले कम मूल्य पर्ने औषधी वितरण गरिरहेको भएपनि बढि मूल्य पर्नेको हकमा नभएको भन्दै फर्काउन थालेपछि आर्थिक स्थिती कमजोर भएका सर्वसाधारण सबैभन्दा बढि मारमा परेका छन्। कैलारी गाउँपालिका ६ बाट छोराको उपचारका लागि सेती अस्पताल पुगेका केशवबहादुर चन्दले पनि फार्मेसीमा औषधी नपाउने समस्याले सास्ती खेप्नुपरेको सुनाए।

उनले बाहिरबाट औषधी किन्दा बढि शुल्क तिर्नुपर्ने बाध्यता रहेको बताए। तर सेती प्रादेशिक अस्पतालले भने फार्मेसीमा औषधीको अभाव नभएको दावी गर्दै आएको छ। अस्पतालले खरिद गरेका सबै प्रकारका औषधी वितरण गरिरहेको भन्दै कम मूल्य मात्रै बिक्रि गरेको आरोपमा सत्यता नभएको जिकिर गरिएको छ।

सेती प्रादेशिक अस्पतालका फार्मेसी इन्चार्ज भरत कुँवरले औषधीको कुनै अभाव नभएको बताए। उनले अस्पतालले वार्षिक टेण्डर गरी खरिद गरेका सबै प्रकारका औषधी फार्मेसीमा उपलब्ध भएकाले कुनै प्रकारको अभाव नभएको दावी गरेका छन्। तर अस्पतालका चिकित्सकहरुकै मिलोमतोमा औषधीको कृत्रिम अभाव सिर्जना गर्ने काम भईरहेको आरोप लागेको छ।

चिकित्सकहरुले विरामीको उपचारपछि औषधी सिफारिस गर्दा फार्मेसीमा उपलब्ध कम्पनीको नभएर अन्य कम्पनीको औषधीको नाम उल्लेख गर्ने गरेका छन्। सोही कारण फार्मेसीमा चिकित्सकले लेखेअनुसारको औषधी हुँदाहुँदै पनि बिक्रि गर्न नसकिने दावी गरिन थालिएको छ।

चिकित्सकहरु भने कमिसनको चलखेलमा छुट्टै औषधी सिफारिस गरी निजि मेडिकललाई पोस्न थालेको आरोप लागेको छ। उक्त कुरा अस्पतालका फार्मेसी इन्चार्ज कुँवरले समेत स्वीकार गरेका छन्। उनले चिकित्सकहरुले फार्मेसीमा उपलब्ध औषधी भन्दा पनि भिन्न प्रकारको सिफारिस गर्दा नपाईएको कुरा साँचो भएको स्वीकार गरे।

अहिले धेरै विशेषज्ञ चिकित्सक थपिएका कारण उनीहरुलाई फार्मेसीमा उपलब्ध औषधीका बारेमा जानकारी दिन नसकिएकाले केही समस्या देखिएको बताए। तर उक्त विषयमा अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डाक्टर हेमराज पाण्डेसँग समेत कुराकानी भएकाले छिट्टै कुनै निर्देशन हुने उनी बताउँछन्।

सेती अस्पतालले गत वर्ष टेण्डर प्रक्रिया मार्फत तीन करोड ६१ लाख बढिमा नौ सय ८९ प्रकारका औषधी खरिद गरेको थियो। अहिले पनि एक करोड ८ लाख बढि मूल्य बराबरको औषधी स्टक रहेको भएपनि चिकित्सक र निजि मेडिकलहरुको मिलोमतोमा फार्मेसीलाई असफल पार्न लागिपरेको दावी गरिएको छ। अस्पताल भने नयाँ नयाँ चिकित्सक भएको भन्दै बदमासी गर्ने चिकित्सकलाई कारवाहीको दायरामा ल्याउन आनाकानी गरिरहेको गुनासो गरिएको छ।

चर्चामा

सम्बन्धित समाचार