
सुदूरपश्चिममा आज १९ जनामा कोरोना पुष्टि भएको छ। डडेल्धुरा प्रयोगशालामा ११ र धनगढी प्रयोगशालामा ८ गरी आज १९ जनामा कोरोना पुष्टि भएको हो। डडेल्धुरा प्रयोगशालामा भएको परीक्षणमा आज डोटीका सात, डडेल्धुरा र बझाङका दुई÷दुई जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले बताए।
यता सेती प्रादेशिक अस्पतालको प्रयोगशालमा भएको परीक्षणमा पाँच महिला र तीन पुरुष गरी ८ जनामा कोरोना पुष्टि भएको हो। धनगढी उप–महानगरपालिका वडा नम्वर १८ का ४५ र ४८ बर्षीय पुरुष तथा धनगढी उप–महानगरपालिका वडा नम्वर १ का २२ बर्षीय पुरुषमा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए।
उनका अनुसार धनगढी उप–महानगरपालिका वडा नम्वर १४ का १९ र २४ बर्षीय महिला, वडा नम्वर १५ का २४ र २८ बर्षीय महिला र कञ्चनपुरको पुनरवास नगरपालिका वडा नम्वर ५ की ३१ बर्षीय महिलामा कोरोना पुष्टि भएको हो। सेती अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा दुइ सय ३७ जनाको कोरोना परीक्षण भएको श्रेष्ठले बताए। आज १९ जना थपिएसंगै सुदूरपश्चिममा संक्रमितको संख्या चार हजार २८ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सबैभन्दा बढि कैलालीमा नौँ सय ५४, अछाममा ६ सय ४५, बाजुरामा ६ सय १६, डोटीमा पाँच सय ८६, कञ्चनपुरमा चार सय ६३, डडेल्धुरामा दुई सय ९५, बैतडीमा दुई सय ७६, बझाङमा एक सय ७३ र दार्चुलामा २० जनामा कोरोना पुष्टि भएको छ। संक्रमित मध्ये झण्डै एक हजार ६ सय ७० सय बढि डिस्चार्ज भईसकेका छन् भने ८ जनाको मृत्यु भईसकेको छ।
