आदिकवि भानुभक्त आचार्यको जन्मकुण्डलीमा लेखेअनुसार उनको नाउँ देवीभक्त आचार्य थियो । यो बेहोरा उनकी नातिनी विष्णुमायाको ‘भानुभक्त मणिमाला’का कवि परिचयअन्तर्गत प्रस्तुत भएको छ । भानुभक्तले आफ्नै जन्मकुण्डलीबारे कविता लेखेको आधारमा भानुभक्तको शेषपछिको पौने एक शताब्दी भुक्तान हुन लाग्ने बखतमा यस प्रकारका जन्मकुण्डली र सोबारेकै भानुभक्तको कविता कसरी प्राप्त हुन सके ? यी बेहोरा वास्तविक हुन् भनेर कसरी पत्याउने ? तापनि उनको यो जन्मकुण्डली र सो बारेको भनिएको कविता सबैजसोले पत्याइसकेका छन् ।
हुँदाहुँदै भानुभक्तकै लेखोट भनेर उनको जन्मबारेको कवितालाई पनि पत्याउनै पर्ने हिसाबको उपकथा पनि प्रस्तुत गरियो । चाहे यो कविता भानुभक्तले आफै नै लेखे, चाहे या अरूले लेखिदिए; यस प्रसङ्गमा जेजस्ता सत्यासत्य भए पनि जन्मकुण्डलीमा भएका ग्रहनक्षत्रादिको स्थितिका बारेमा सारसंक्षेप पनि विष्णुमायाको सङ्कलन र उनैद्वारा प्रकाशित ‘भानुभक्त मणिमाला’मा यसरी प्रस्तुत गरिएको छ :
श्री शालीवाहन्का समय षडत्रिंशत् भइकन ।
अनी आषाड् मास्को दिन पनि उनन्तिस् गइकन ।।
घटी एक्तिस् माँहा विघटि पनि वत्तिस् परिकन ।
नवांशक् कंठीरव् धनुष परि जो वेस लगन ।।१।।
मिथुन्मा सूर्यै छन् निवनिलय मीन्का विधु अनी ।
महीसुत् बुध् राहू शशि सदनका ई तिन पनी ।।
गुरू भाग्यस्थान्का रविभवनमा गैकन वस्या ।
भृगूजी ता आफ्नै सदन वृषमा गैकन पस्या ।।२।।
मकर्मा सौरी छन् ध्वजसहितका स्वगृहि यँहा ।
वतायाका क्रम्ले ग्रह हरु वस्या कुण्डलि मँहा ।।
भानुभक्तद्वारा नै लेखिएको भनिएको यो अढाइ श्लोककै मेसोमा कुमारीचोक थुनापर्दा त्यस बखतका कमान्डरइनचीफ कृष्णबहादुर राणालाई भानुभक्तले लेखी चढाएको कविताको एक अंश पनि सँगै दाँजेर हेर्नु वाञ्छनीय छ :
चालिस् वर्ष भञा म पुत्र पनि एक् मात्रै छ आठ् वर्षको
आयो काल् व्रतबन्धको नजिकमा बेला यो हर्षको ।
भानुभक्तले ‘चालीस् वर्ष भञा म’ भन्ने कविता १९०९ सालमा लेखेका थिए । १९०९ मा ४० घटाउँदा १८६९ साल हुन आउँछ । त्यसैले पाठकले विष्णुमायाद्वारा प्रस्तुत भानुभक्तको जन्मकुण्डली र त्यसबारेको ‘श्री शालीवाहन्का समय षडत्रिंशत् भइकन’ कविता पत्याउने हो या मोतीरामद्वारा प्रस्तुत गरिएको ‘चालिस् वर्ष भञा म’ भन्ने १९०९ सालमा भानुभक्तले लेखेको कवितालाई पत्याउने हो ? मोतीरामद्वारा प्रस्तुत यो कविता गलत थियो भने भानुभक्तबारे लेख र किताब लेख्ने आचार्यहरूले यसै कविताको सिरानमा रहेको ‘जागीर् छैन धनी म छैन घरको केबल् कुदालो खनी’ उपर झुत्ती खेल्दै ‘जागीर् छैन’ शब्दलाई आधार बनाएर भानुभक्तले जागिर खाएकै थिएनन् भनेर किन मत दिँदै आए ? भन्ने प्रश्नमा बौद्धिक स्वरहरू पनि उचालिएकै पाइन्छ ।
भानुभक्त १८६९ सालमा जन्मे भनेर मोतीरामले भानुभक्तको शेषपछिको २२ वर्षमा लेखेका थिए; तर ‘श्री शालीवाहन्का समय षडत्रिंशत् भइकन’ कविता र पूर्वोक्त जन्मकुण्डलीलाई आड बनाएर भानुभक्त जन्मेको सवा एक शताब्दी जतिपछि भानुभक्तको जन्म १८७१ असार २९ गते नै हो भनी कायम गरियो । एउटा विभूतिले प्राणत्याग गरेको पौने सय वर्षपछि पनि यसरी जन्ममिति सच्याउँदै (र बिगार्दै) जाने प्रचलनलाई उचित मान्न सकिन्छ र ? गैरजिम्मेवारी ढङ्गबाट जन्म, मृत्युबारे नै यसरी उदिन्ने, खोतल्ने र सुम्सुम्याउने तरिकाले पाठकका मनमा भानुभक्तका अनेक सन्दर्भले विश्वासको सङ्कटले कुन्यौ लगाउने गर्छ । तर, जजसले यस विषयमा चलखेल गरे पनि अब भानुभक्त जन्मेको मिति यही नै सदर भयो । नेपाल सरकारले पनि भानुभक्तको द्विशतवार्षिकी मनाई यसै मितिलाई स्वीकार्यो । अर्थात्, आदिकवि भानुभक्त आचार्यको जन्म १८७१ साल असार २९ गते आइतबार नै कायम भयो ।
*
नेपाली भाषासाहित्यका प्रथम महान् नायक भानुभक्त आचार्य साहित्य रचनामा सदैव समर्पित भए । उनी आफ्ना ध्येय र धुनमा एकोहोरो लागिपर्थे भन्ने बेहोरा उनको लेखनले प्रमाणित गरेको विषय हो । अविश्रान्त साधक आचार्यको जीवनको उत्तराद्र्धचाहिँ एक्कासि शिथिल हुन थालेको थियो ।
मोतीराम भट्टका अनुसार छपन्न वर्षको (रङ्गनाथ शर्मा तथा विष्णुमायाका अनुसार चवन्न वर्षको) उमेरमा भानुभक्त आचार्यलाई कालज्वरले मरणासन्न पार्यो । त्यसघडीमा पनि उनले लेखनकार्यलाई जारी राखे । उनले खास गरेर आफ्ना प्रिय मित्र ज्योतिषी सुब्बा धर्मदत्त ज्ञवालीको आग्रहमा ‘रामगीता’ को भावानुवाद गरेका थिए ।
उनले आफ्नो जीवनको अन्त्यकालमा तीन महिना लगाएर सकीनसकी ‘अध्यात्मरामायण’को हृदय मानिने र ‘उत्तरकाण्ड’को अंश भएको ‘रामगीता’ लेखेरै छोडेका थिए । उनी आफैँले लेख्न नसक्ता आफ्ना छोरा रमानाथलाई टिपाएर पनि उनले ‘रामगीता’ तयार पारेका थिए ।
अन्ततः १९२५ साल असोज ६ गते आइतबार आश्विन शुक्लपञ्चमीका दिन भानुभक्त आचार्य स्वर्गीय भए ।
भानुभक्त स्वेच्छित रूपमा मस्र्याङ्दी नदीको सतीघाटअन्तर्गत गाईथुनेघाटमा स्वर्गीय भएका थिए । यस बेहोरालाई प्राध्यापक डा.वासुदेव त्रिपाठीका बाबु प्रेमदत्त त्रिपाठीले पुष्टि पनि गरे । यी प्रेमदत्त भानुभक्तका एक नाति शिवभक्तका सँगाती पनि थिए । भानुभक्तका घरबाट मस्र्याङ्दीघाटमा सामान्य गतिमा हिँडेर जान डेढ घन्टा जति लाग्थ्यो । काठमाडौँमा मर्नुअघि आर्यघाट पु¥याएजस्तै त्यस बेला त्यति टाढा रहेको नदीकिनारमा पुर्याउने पनि प्रचलन गाउँघरमा र खास गरी तनहुँको चुँदीबेँसी रम्घाका आचार्यकुलमा थियो । कुलको परम्पराअनुसार भानुभक्तलाई उनकै इच्छाअनुसार अन्त्य समयमा पवित्र मस्र्याङ्दीतटमा पुर्याइएको हुन सक्छ । आफ्नो मरण सन्निकट ठानी इच्छा गरेअनुसार मस्र्याङ्दी सतीघाटको गाईथुनेघाटमा अर्धजलाशयमा उनले प्राण छाडे । त्यहीँ सतीघाट गाईथुनेमा उनको दाहसंस्कार सम्पन्न भएको जानकारी प्रेमदत्त त्रिपाठीले दिने गर्थे ।
अझ भानुभक्तका छोरा रमानाथलाई त निकै सिकिस्त भएपछि उनकै इच्छाअनुसार बोकाएर कालीगण्डकीका गडगडीघाटमै लगी अर्धजलाशयमा राखेपछि उनको प्राणत्याग भएको कुरा अभिलिखित नै छ ।
*
नेपाली भाषासाहित्यका मर्यादापुरुष भानुभक्त आचार्यको अल्पायुमा नै निधन हुनु नेपाली भाषाका लागि ठूलो क्षति मानिन्छ । उनले आफ्नो जीवनकालमा झन्डै चार दशकभन्दा बढी समयसम्म नेपाली भाषाको सेवा गरे । अत्यन्त लोकप्रिय ‘रामायण’ महाकाव्यलगायतका अन्य मझौला तीन लघुकाव्य तथा साना (फुटकर) र छोटा (मुक्तक) आकृतिका निकै कविताकृति पनि रचना गरी नेपाली भाषाको श्रीवृद्धिका लागि भानुभक्तले गरेको योगदान नेपाली भाषासाहित्यको इतिहासमा स्वर्णीम रहेको छ ।