बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • प्रदेश १
  • बाढीपहिराेबाट १६ सय जनाभन्दा बढी विस्थापित

बाढीपहिराेबाट १६ सय जनाभन्दा बढी विस्थापित

  • आइतवार, असार २८, २०७७
बाढीपहिराेबाट १६ सय जनाभन्दा बढी विस्थापित

म्याग्दी, जाजरकोट र सिन्धुपाल्चोक — हिमालको फेदमा रहेको म्याग्दीको धौलागिरि गाउँपालिका–६ मराङका बस्तीहरू दक्षिणपूर्व फर्केका दर्जनभन्दा बढी पाखामा छरिएका छन् । छिमेकी मालिका गाउँपालिका–७ बिमका बस्ती पनि उसैगरी छिरोलिएका छन् ।

पाँच वर्ष मलेसिया बसेर फर्केपछि सुरक्षित र बलियो जग्गा खोजेर वर्ष दिनअघि मात्र बिम, मल्थानका पूर्णबहादुर परियारले घर बनाएका थिए । भाइ वीरबहादुरको घर तल्लो गरामा थियो । बिहीबार रातभरि पानी दर्कियो । रोपाइँको चटारो थिएन । त्यसैले उनले बिहानै उठ्ने हतारो गरेनन् । श्रीमती गौदेवी र तीन वर्षका छोरा विशेष पनि उठेका थिएनन् ।
शुक्रबार बिहान ६ बजे एक्कासि घरमाथि पहिरो खस्यो, सँगै सुतेका उनीहरूको टाउकोसम्म पुर्‍यो । उनले जसोतसो हात झिके, आफूमाथिका ढुंगामाटो पन्छाए र बाहिर निस्किए । श्रीमती र छोरालाई निकाल्न ढुंगामाटो खोतल्दै गर्दा अर्को पहिरो खस्यो र दुवैलाई बढारेर लग्यो । उनी बाहिर निस्केर चिच्याए तर त्यतिन्जेल तल्लो गराको भाइको चार जनाको परिवारसहित घर पनि

बगिसकेको थियो । ‘सँगै सुतेका श्रीमती र छोरालाई अँगालोबाटै पहिरोले खोसेर लग्यो, भाइको परिवारै बग्यो । के अधर्म गरेको रैछु र यस्तो व्यहोर्नुपर्‍यो ? मेरो पनि आधा हर नचल्ने बनायो,’ अस्पतालको बेडमा रहेका उनले भने । भारी वर्षापछि धौलागिरि–६ मराङका राम्चे, आरवाङ, ठूलोगाउँ, रिख, कल्लेनी, ताकम, मालिका–७ बिमका दुले, बिम, घन्टीवाङलगायतका बस्ती तथा रघुगंगा गाउँपालिकाका विभिन्न ठाउँमा आएको पहिरोमा पुरिएर ज्यान गुमाउनेको संख्या शनिबारसम्म २७ पुगेको छ । स्थानीय प्रगति युवा क्लबका अध्यक्ष चक्र पुनका अनुसार ४ जना अझै बेपत्ता छन् । पशुचौपायालगायत अन्य क्षतिबारे लेखाजोखा हुन सकेको छैन ।

धौलागिरिका दुई र रघुगंगाका एक जनाको शव शुक्रबार भेटिएको थियो । धौलागिरिका १६ र मालिकाका ८ जनाको शव शनिबार भेटिएको जिल्ला प्रहरी प्रमुख डीएसपी किरण कुँवरले बताए । धौलागिरिका ८ र मालिकाका एक जना घाइतेको उद्धार गरिएको छ । उनीहरूको बेनी अस्पताल र पोखरामा उपचार भइरहेको छ । धौलागिरिका बेपत्ता भनिएका तीन जना शनिबार साँझ सम्पर्कमा आएको प्रहरीले जनाएको छ ।

तीनवटा गाउँपालिकाका दर्जनभन्दा बढी ठाउँमा पहिरो खसेका छन् । धेरैजसो घर छुट्टाछुट्टै पहिरोले पुरिएका हुन् । सदरमुकामदेखि ४० किमि टाढाका ती वस्तीमा २४ देखि ३६ घण्टापछि मात्र प्रहरी, सशस्त्र र सेनासमेतको उद्धारकर्मी पुग्न सके । सेनाको हेलिकप्टरबाट उद्धारकर्मीलाई पुर्‍याइएको हो । पैदलमार्ग भने पूर्णरूपमा अवरुद्ध छ ।

उद्धारकर्मीलाई विभिन्न टोली बनाएर परिचालन गरिएको छ । जिल्ला विपद् व्यवस्थापन समितिले बिममा अस्थायी क्याम्प राखी प्रहरी, सशस्त्र, सेना, स्वयंसेवक, उद्धारकर्मी र राहतकर्तालाई परिचालन गरेको छ । राहत र उद्धारमा विभिन्न टोली बस्ती–बस्तीमा खटिएका छन् । ‘शनिबार दिउँसोसम्म पहिरो प्रभावित सबै स्थानमा खोज, उद्धार तथा राहत टोली पुगेको छ । उनीहरूले बेपत्ताको खोजी, सनाखत र घाइतेको उद्धार गरिरहेका छन्,’ प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले भने, ‘भौगोलिक कठिनाइ र प्रतिकूल मौसमले तत्काल पुग्न नसके पनि जति सक्दो छिटो पुग्ने प्रयास गर्‍यौं ।’

बाढीपहिरोले जाजरकोटको बारेकोट गाउँपालिकाका ९ जनाको मृत्यु भएको छ भने ६ जना अझै बेपत्ता छन् । जिल्ला प्रहरी प्रमुख डीएसपी किशोरकुमार श्रेष्ठका अनुसार पहिरोमा परी बारेकोट–४ सार्की गाउँका ५२ वर्षीय गोपाल सार्की, ११ वर्षीय अर्जॅन सार्की, १४ वर्षकी तिर्खा सार्कीर्, ६ वर्षका सुवास सार्की र २० वर्षीय डिल्ली सार्कीको मृत्यु भएको छ । त्यस्तै १४ वर्षीया गौरी सार्की, १६ वर्षीया कविता सार्की, १८ वर्षका वीरेन्द्र सार्की र ३६ वर्षीय कलु सार्कीको मृत्यु भएको छ भने पुष्पा सार्की, लक्ष्मी सार्की र कमला सार्की बेपत्ता छन् ।

खहरे खोलामा आएको बाढीले बगाएर बारेकोट–६, धुमाका २० वर्षीय शान्तबहादुर चलाउने र १० वर्षका प्रचण्ड चलाउने बेपत्ता रहेको डीएसपी श्रेष्ठले जनाए । सानाखोलाले बगाएर जुनीचाँदे गाउँपालिका–११, कोर्ताङका डिल्लीबहादुर चदारा पनि बेपत्ता छन् । गम्भीर घाइते भएका बारेकोट–४, दहका लालबहादुर नेपाली र धुमका रामचन्द्र महतारालाई नेपाली सेनाको हेलिकप्टरबाट उपचारका लागि नेपालगन्ज लगिएको छ । बेपत्ता भएकाको खोजीका लागि नेपाली सेना, प्रहरी र सशस्त्र प्रहरीको टोली खटाइएको छ ।

सार्की गाउँमा पहिरो गएको भूभाग बढी भिरालो हुँदा बेपत्ताको खोजी गर्न समस्या भएको डीएसपी श्रेष्ठले बताए । उनका अनुसार वर्षा र पहिरो खस्ने क्रम जारी रहेकाले उद्धारमा समस्या देखिएको छ । समयमै सतर्कता नअपनाए बारेकोटमा ठूलो धनजनको क्षति हुने जोखिम देखिएको उनको भनाइ छ । सार्की गाउँस्थित घटनास्थल सदरमुकाम खलंगादेखि ९० किलोमिटरको दूरीमा पर्छ ।

सिन्धुपाल्चोकमा २० जना अझै बेपत्ता
बुधबार भोटेकोसी नदीमा बेपत्ता भएकामध्ये एक जनाको शव भेटिएको छ । बाह्रबिसे नगरपालिका–५ जम्बुका १७ र भोटेकोसी गाउँपालिका–५ बुल्कुर्टेका चार जना बेपत्ता भएका थिए । तीमध्ये शुक्रबार साँझ सुनकोसी क्षेत्रमा भेटिएको शव बुल्कुर्टेका फुर्पा तामाङका ६ वर्षीय छोरा साहिलको भएको प्रहरीले जनाएको छ ।शुक्रबार लार्चा खोलामा बेपत्ता भएका तीन जना भने शनिबार जीवितै भेटिएका छन् । भोटेकोसी–३ स्थित लार्चा खोलाले बेपत्ता बनाएका स्थानीय नाक्चे मगर घाइते अवस्थामा फेला परेका छन् । मगरको टाउको र शरीरमा चोट लागेको छ । मगरसहित तीन मजदुर शुक्रबार बिहान ८ बजेतिर लार्चा खोलामा बेपत्ता भएका थिए । ‘मगरको २४ घण्टापछि सकुशल उद्धार भएको छ, उनीसँगै पहिरोमा पुरिएको आशंका गरिएका दुई जना पनि सुरक्षित पाइएका छन्,’ स्थानीय ध्रुव थापाले भने । बुधबार राति साढे १२ बजे भोटेकोसीमा आएको बाढीले जम्बु, खाग्दल, बुल्कुर्टेका ३६ घर बगाएको थियो । २१ जना बेपत्ता भएका थिए । घटनामा मृत्यु भएका दुई जनाको शव बिहीबार बिहान फेला परेको थियो ।

सिन्धुपाल्चोकका प्रहरी नायब उपरीक्षक (डीएसपी) माधवप्रसाद काफ्लेका अनुसार विपद् व्यवस्थापन महाशाखाअन्तर्गत २७ जनाको विशेष तालिमप्राप्त उद्धारकर्मी टोली, नेपाली सेना, प्रहरी र स्थानीय बेपत्ताको खोजीमा जुटिरहेका छन् । ‘घटनास्थल जम्बु, खाग्दल र सम्भावित स्थान भोटेकोसीदेखि सुनकोसी ड्याम क्षेत्रसम्म स्थानीय र बेपत्ताका आफन्तले पनि खोजीमा सघाइरहेका छन्,’ उनले भने । छिमेकी जिल्लाहरू काभ्रे, सिन्धुली, रामेछापको तटीय क्षेत्रमा पनि खोजीका लागि सम्बन्धित जिल्लाका प्रहरीलाई खबर गरिएको उनको भनाइ छ ।

डीएसपी काफ्लेले जम्बुका मात्रै १७ जना बेपत्ता भएको पुष्टि गरे । ‘जम्बुमा एकै नामका दुई जना बेपत्ता रहेछन् । काठमाडौंबाट परिवारजन आएर व्यक्तिगत विवरण देखाएपछि स्थलगत बुझ्दा थाहा पायौं, अब जम्बुका १७ र बुल्कुर्टेका ३ जना बेपत्ता छन्,’ उनले भने । बेपत्ता हुनेमा जम्बुका ७२ वर्षीय भीमबहादुर वाइबा, ७० वर्षीय चीनमाया तामाङ, २९ वर्षीय लीलामाया वाइबा, ८ वर्षीय पासाङडोल्मा वाइबा, २ वर्षीय निमाडोल्मा वाइबा, २५ वर्षीय लक्ष्मण वाइबा, १३ वर्षीया सुनमाला वाइबा, ५५ वर्षीय जनकबहादुर थिङ, २८ वर्षीया सविना तामाङ, ४ वर्षका आकाश तामाङ, ५७ वर्षका तोकबहादुर तामाङ, १८ वर्षकी माइली तामाङ, २५ वर्षका सुवेश तामाङ, २२ वर्षकी सलिना तामाङ, ५५ वर्षका युक्तबहादुर तामाङ छन् । यस्तै, मध्यभोटेकोसी जलविद्युत् आयोजनाका साइट सेक्रेटरी ३५ वर्षका हिमेश शर्मा र जाइकामा कार्यरत इन्जिनियर २४ वर्षका आकाश केसीसमेत बेपत्ता छन् । बुल्कुर्टेका एकै परिवारका ६० वर्षका निमार्दोर्जे तामाङ, ३८ वर्षकी मञ्जु तामाङ र १३ वर्षका पासाङनोर्बु तामाङसमेत सम्पर्कमा छैनन् । बाह्रबिसे नगरपालिका र भोटेकोसी गाउँपालिकाले वर्षा रोकिएलगत्तै एक्स्काभेटर प्रयोग गरी बेपत्ताको खोजी र सडक सम्पर्क जोड्ने कार्य सुरु गरेका छन् ।

३९६ परिवार विस्थापित
बाढी र पहिरोबाट म्याग्दी, जाजरकोट र सिन्धुपाल्चोकमा ३ सय ९६ घरपरिवारका १६ सय जनाभन्दा बढी विस्थापित भएका छन् । म्याग्दीमा ५० वटाभन्दा बढी घरका ८ सय ९६ जना विस्थापित भएका छन् । विस्थापितमध्ये सिवाङ माविमा ८०, दलित सामुदायिक भवन राम्चेमा २ सय ५०, जनविकास आधारभूत विद्यालय अर्वाङमा २ सय र अन्यलाई बिमको किसानी मावि तथा आफन्तकामा राखिएको छ । उनीहरूका लागि ३ देखि ५ दिनलाई पुग्ने ५० बोरा चामल, दाल, नुनतेलसमेतको खाद्यान्न पुर्‍याइएको छ । सिवाङको कल्लेनी र ताकमका विस्थापितलाई धौलागिरि गाउँपालिकाले छुट्टै खाने व्यवस्था मिलाएको मराङका वडाध्यक्ष राजाराम सुवेदीले बताए ।

जाजरकोटको बारेकोट गाउँपालिकाका ३ सय १० घरका ५ सय जनाभन्दा बढी विस्थापित भएका छन् । तीन दिनदेखिको भीषण वर्षासँगै खसेको पहिरोबाट यहाँका ८ बस्तीका बासिन्दा विस्थापित भएका छन् । बारेकोट–४ मैनाका ६०, सार्की गाउँका १०, ५ नम्बर वडाको तोलखानका ९०, कालाखोलीका ३६, पाखाका ४०, भैलोखानाका ३०, वडा १ को धौलाकोटका ३२ र रोकाय गाउँका १२ घरपरिवार अन्यत्र सरेको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत गोविन्दबहादुर सिंहले बताए ।

उनका अनुसार विस्थापितलाई विद्यालय, चौर र गोठलगायत स्थानमा राखिएको छ । गाउँपालिकाका जिरी, करुका, कार्कीजिउला, घर्ती गाउँ, सुवाकोटलगायत डेढ दर्जन गाउँका बासिन्दा पहिरोको उच्च जोखिममा छन् ।

सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका र बाह्रबिसे नगरपालिकाका ३६ परिवारका करिब दुई सय जना विस्थापित भएका छन् । बाढी र पहिरोबाट जम्बुका १४, खग्दलका २१ र बुल्कुर्टेका २ घरपरिवार प्रभावित भएका हुन् । उनीहरूमध्ये धेरैजसो आफ्नै गाउँ फर्किएका छन् भने घरबारविहीन भएकाहरू आफन्तकामा आश्रय लिइरहेका छन् । याे समाचार कान्तीपुर दैनिकमा घनश्याम खड्का, भीमबहादुर सिंह, अनिश तिवारीले लेखेका छन ।

चर्चामा

सम्बन्धित समाचार