शुक्रबार, बैशाख २८, २०८१
  • होमपेज
  • प्रदेश ७
  • सुदूरपश्चिमका व्यवसायी पनि यातायात सञ्चालनको तयारीमा जुटे

सुदूरपश्चिमका व्यवसायी पनि यातायात सञ्चालनको तयारीमा जुटे

  • बिहिबार, असार २५, २०७७
सुदूरपश्चिमका व्यवसायी पनि यातायात सञ्चालनको तयारीमा जुटे

सुदूरपश्चिमका यातायात व्यवसायी पनि सार्वजनिक सवारीसाधन सञ्चालनको तयारीमा जुटेका छन्। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले कोरोना महामारीपछि जारी लकडाउनले बन्द अवस्थामा रहेको सार्वजनिक यातायात सेवा सञ्चालनको मोडालिटी तयार पारी सरकारसँग छलफल गरिरहेका बेला सुदूरपश्चिममा समेत व्यवसायी तयारीमा जुटेका हुन्।

नेपाल यातायात राष्ट्रिय महासंघका सह–कोषाध्यक्ष डम्बर पन्तले कोरोना महामारीपछि बन्द अवस्थामा रहेको यातायात सेवालाई पुनः सञ्चालनका लागि आवश्यक गृहकार्य सुरु गरिएको जानकारी दिए। पन्तले राष्ट्रिय यातायात महासंघले सामाजिक दुरी कायम गरी सेवा सञ्चालन गर्न सकिने मोडालिटी तयार गरी सरकारलाई बुझाएकाले सोही अनुसार सुदूरपश्चिममा समेत व्यवसायीहरु आ–आफ्नो तयारीमा लागेको बताए।

महासंघले सामाजिक दुरी कायम, भाडा हेरफेर, चालक परिचालक र यात्रुको स्वास्थ्य सुरक्षा, स्वास्थ्य परीक्षण लगायत व्यवस्था मिलाउने गरी बनाईएको मापदण्डको खाका सरकारलाई बुझाईसकेको छ। उनले प्रदेश सरकार लगायतका निकायसँग पनि उक्त मोडालिटी बारे छलफल भईरहेको बताए।

यता सुन्दर सुदूरपश्चिम यातायात प्रालीले पनि कोरोना महामारीपछि जारी लकडाउनले बन्द अवस्थामा रहेको सार्वजनिक यातायता सेवा सञ्चालनका लागि आवश्यक तयारी थालिएको जनाएको छ। प्रालीका अध्यक्ष पदम सापकोटाले राष्ट्रिय यातायात महासंघका सर्कुलर अनुसार सेवा सञ्चालनका लागि व्यवसायीहरु तयारीमा लागेको बताए। उनले सकभर साउन ८ गते पछि विशेष सावधानी अपनाउँदै यातायात सेवा सञ्चालन हुनेमा आफू विश्वस्त रहेको जनाए। जारी लकडाउनका कारण गाडीहरु नचलेपछि व्यवसायी मारमा परेका छन्। सरकारले सवारी पास उपलब्ध गराएर रातो नम्बर प्लेटको गाडी चल्न दिएको भन्दै यातायात व्यवसायीहरुले विरोध गर्दै आएका छन्।

चर्चामा

सम्बन्धित समाचार