शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • समाज
  • प्रहरी महानिरीक्षकमा शैलेश थापा क्षेत्रीलाई नियुक्त गर्ने मन्त्रिपरिषद्को निर्णय

प्रहरी महानिरीक्षकमा शैलेश थापा क्षेत्रीलाई नियुक्त गर्ने मन्त्रिपरिषद्को निर्णय

  • मङ्लबार, असार २३, २०७७
प्रहरी महानिरीक्षकमा शैलेश थापा क्षेत्रीलाई नियुक्त गर्ने मन्त्रिपरिषद्को निर्णय

काठमाडौँ — प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) शैलेश थापा क्षेत्री नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी)मा बढुवा भएका छन् । वरीयतामा पहिलो नम्बरमा रहेका क्षेत्रीलाई मंगलबारको मन्त्रिपरिषद् बैठकले महानिरीक्षकमा बढुवा गरेको हो ।

थापालाई महानिरीक्षक बनाउने प्रस्ताव लिएर गृहमन्त्री रामबहादुर थापा बालुवाटार पुगेका थिए । महानिरीक्षकको दौडमा एआईजी हरिबहादुर पाल पनि थिए । थापा र पाल एकै दिन सेवा प्रवेश गरेर बढुवामा पनि सँगसँगै थिए ।

नवनियुक्त महानिरीक्षक थापा हाल प्रहरी प्रधान कार्यालय मानवस्रोत तथा प्रशासन विभाग प्रमुखमा कार्यरत छन् । बढुवासँगै थापा नेपाल प्रहरीको २८ औं महानिरीक्षक बनेका छन् । थापा २०७६ चैत ९ गते नायब महानिरीक्षक (डीआईजी)बाट एआईजीमा बढुवा भएका थिए । ३० वर्षे सेवाअवधिका कारण हालका आईजीपी ठाकुरप्रसाद ज्ञवालीले बिहीबारबाट अनिवार्य अवकाश पाउने भएपछि रिक्त स्थानमा थापालाई बढुवा गरिएको हो ।

महानिरीक्षक ज्ञवाली गएको माघ २८ गते आईजीपीमा बढुवा भएका थिए । ज्ञवालीको कार्यकाल कोरोना संक्रमण विरुद्धको प्रतिकार्य योजनामा खटिँदै गर्दा सकिएको हो । ज्ञवालीले आफ्नो कार्यकालमा खासै उपलब्धिपूर्ण काम नगरे पनि विवादास्पद निर्णय पनि उनको पालामा भएनन् ।

नवनियुक्त आईजीपी थापा सरकारले ३० वर्षे सेवाअवधि यथावत राखे २०७९ वैशाख १९ गतेसम्म सेवामा रहने छन् । थापाले २०४९ वैशाख १९ गते प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका हुन् । ५२ वर्षीय थापा प्रहरीभित्र व्यावसायिक अधिकृतका रुपमा चिनिन्छन् । थापाका एक समकक्षीका अनुसार फिल्ड कमाण्डमा भने उनी कमजोर अधिकृतका रुपमा चिनिन्छन् ।

सेवाको २८ वर्षसम्म उनले फिल्डमा भन्दा प्रहरी प्रधान कार्यालय र प्रहरी प्रशिक्षण प्रतिष्ठान (एकेडेमी)मा बिताएका छन् । थापा बाबु शम्भु थापा २०५१/०५२ ताका डीआईजीबाट अवकाश पाएका अधिकृत हुन् ।

डीआईजीमा बढुवा भएपछि महानगरीय प्रहरी कार्यालय प्रमुखमा सरुवा भएका थापा त्यसपछि पुन महानिरीक्षकको सचिवालय र प्रहरी प्रवक्ता बनेका थिए । एआईजीमा बढुवापछि भने उनी मानवस्रोत तथा प्रशासन विभागमा सरुवा भए ।

चर्चामा

सम्बन्धित समाचार