शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • प्रदेश २
  • रित्तिदै क्‍वारेन्टाइन, भरिदै आइसोलेसन

रित्तिदै क्‍वारेन्टाइन, भरिदै आइसोलेसन

  • सोमवार, असार २२, २०७७
रित्तिदै क्‍वारेन्टाइन, भरिदै आइसोलेसन

सप्तरीमा क्वारेन्टाइनमा बस्ने भन्दा आइसोलेसनमा बस्नेको सङ्ख्या बढेको छ ।सप्तरीको विभिन्न क्वारेन्टाइनमा बस्नेको सङ्ख्या ३०६ मा झरेको छ भने आइसोलेसनमा बस्नेको सङ्ख्या ३२१ पुगेको छ। सोमबार १८ जना संक्रमित थपिए पछि सप्तरीमा संक्रमित हुने ३२१ पुगेको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।

स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनियालाल यादवका अनुसार सोमबार डाकनेश्वरी नगरपालिकाका ८, विष्णुपुर गाउँपालिका ६ र सप्तकोशी गाउँपालिकाका ४ जनामा संक्रमित पुष्टि भएपछि संक्रमित हुने ३२१ पुगेको हो ।

थप १८ जनामा संक्रमण पुष्टि भएसँगै सप्तरीमा संक्रमितलाई राख्न आइसोलेसन केन्द्र र बेड अभाव भएको छ । सप्तरीमा पहिलो पटक वैशाख २९ गते डाक्नेश्वरी नगरपालिका-३ हटेलका १८ वर्षीय किशोरमा फेला परेको संक्रमण हाल सबै १८ स्थानीय तहमा फेला परेको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।

स्वास्थ्य कार्यालय सप्तरीका अनुसार हालसम्म हनुमाननगर कंकालिनी नगरपालिकामा ५४ जना, बलान बिहुल गाउँपालिकामा ४४ जना, तिलाठी कोइलाडी गाउँपालिकामा ४२ जना, बोदे बरसाइन नगरपालिकामा ३४ जना, छिन्नमस्ता गाउँपालिकामा २७ जना, डाक्नेश्वरी नगरपालिकामा २५ जना र राजगढ गाउँपालिकामा २० जना संक्रमित पुगेका छन् । बढी संक्रमित फेला परेका उक्त स्थानीय तहहरु सबै भारतीय सीमानाका सँग जोडिएका स्थानीय तह हुन् ।

यस्तै राजविराज नगरपालिकामा १५ जना, महादेवा गाउँपालिकामा १४ जना, सुरुङ्गा नगरपालिकामा १३ जना, विष्णुपुर गाउँपालिका र खडक नगरपालिकामा ७÷७ जना, सप्तकोशी नगरपालिकामा ६ जना, तिरहुत र अग्नीसाइर कृष्णसवरन गाउँपालिकामा ४÷४ जना, शम्भुनाथ र कञ्चनरूप नगरपालिकामा २÷२ जना तथा रूपनी गाउँपालिकामा १ जना संक्रमित भेटिएका छन् ।

संक्रमितहरु थपिँदै गएपछि राजविराजस्थित साइकृष्णा मेडिकल कलेज एण्ड हस्पिटलमा सञ्चालिन सप्तरीको एक मात्र आइसोलेशन केन्द्रमा हालै मात्र ७५ बेड थप गरेर १७८ वेडको आइसोलेशन केन्द्र बनाइएको छ ।

सप्तरीमा १८ वटै स्थानीय तहमा कोरोना संक्रमित फेला परेको र दैनिक सङ्ख्या वृद्धि हुन थालेपछि पुनः बेड अभाव भएको कोभिड-१९ व्यवस्थापन संयोजक तथा गजेन्द्रनारायण सिंह अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. रणजितकुमार झाले बताए ।

डा. झाका अनुसार संक्रमित ३२१ मध्ये १३९ जनाले कोरोना जितेर घर फर्किएका छन् । हाल २० महिला र १४९ पुरुष गरी १६९ जना आइसोलेसन केन्द्रमा रहेका छन् । बेडको अभावमा बाँकी संक्रमितलाई सम्बन्धित क्वारेन्टाइनमै होल्डिङ गरिएको छ ।

क्वारेन्टाइनमा बस्नेको सङ्ख्या घट्दै गएपछि १८ वटा स्थानीय तहमा रहेको ८६ क्वारेन्टाइनमध्ये आइतबारसम्म ४७ वटा क्वारेन्टाइन पूर्णतया खाली भएका छन् । यसरी खाली भएका क्वारेन्टाइनमध्ये स्तरीय र सुरक्षित स्थललाई आइसोलेसन केन्द्रमा विकसित गर्नुपर्ने स्थानीयको माग छ ।

चर्चामा

सम्बन्धित समाचार