शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • राजनीति
  • राजीनामा मागेपछि परामर्शमा जुटे ओली : तीन विकल्पमा आफु निकटहरुसँग छलफल

राजीनामा मागेपछि परामर्शमा जुटे ओली : तीन विकल्पमा आफु निकटहरुसँग छलफल

  • बुधबार, असार १७, २०७७
राजीनामा मागेपछि परामर्शमा जुटे ओली : तीन विकल्पमा आफु निकटहरुसँग छलफल

पार्टीभित्रैबाट राजीनामा मागेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले निकटकाहरुसँग छलफल थालेका छन् । त्यसका लागि उनले बुधबार एकाबिहानै केही मन्त्री र आफु निकटका स्थायी समिति सदस्यहरु बालुवाटार बोलाएर छलफल गरेका हुन् । त्यसक्रममा उनले आगामी दिनमा कसरी अघि बढ्ने भन्नेमा बपरामर्श गरेको बुझिएको छ ।

मन्त्रिपरिषद बैठक बोलाएको हो भन्ने प्रश्नमा एक मन्त्रीले मन्त्रिपरिषद नभएर मन्त्री र केही नेताहरुलाई अनौपचारिक छलफल भनेर बोलाएको जानकारी दिए । ‘अनौपचारिक छलफल हो, मन्त्रिपरिषद बैठक होइन,’ ती मन्त्रीले रातोपाटीसँग भने ।

मंगलबारको स्थायी समिति बैठका पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका १७ जना नेताहरुले सरकार र पार्टी सञ्चालनमा असफल भएको भन्दै दुवै पदबाट राजीनामा मागेका थिए । पार्टी बैठकमा चर्को आलोचनासहित राजीनामा मागिएपछि खाना खान भनेर निस्केका ओली मंगलबारको बैठकमा पुनः फर्केनन् ।

बैठकबाट निस्केपछि ओलीले मुख्यसचिवलाई राष्ट्रपति कार्यालय पठाएका थिए । त्यसपछि पनि उनले आफु निकटका व्यापारी व्यवसायीहरुसँग बेलुुका अबेरसम्म छलफल गरेका थिए ।

ओलीका तीन विकल्प

पार्टीभित्रैबाट राजीनामा मागेपछि अप्ठेरोमा परेका ओलीले अब के गर्लान् ? भन्ने अड्कलवाजी सुरु भएको छ । जानकारहरुका अनुसार उनीसँग तीन विकल्प छन् । निकटहरुसँग परामर्श गर्दा समेत उनले तीनवटा विकल्पमा छलफल गरेको बुझिएको छ । पहिलो विकल्प पार्टीभित्रैबाट राजीनामा मागिएको अवस्थामा राजीनामा दिने र पार्टी फुटबाट जोगाउने, दोस्रो राजीनामा नगरी सेना परिचालन गरेर अघि बढ्ने र तेस्रो आफु पार्टी नफुटाउने अरुले फुटाए काँग्रेससँग मिलेर सरकार बनाउने । यी मध्ये कुन विकल्प रोज्छन् त्यो भने ओलीकै विवेकमा भर पर्ने नेताहरुको भनाइ छ ।

आज के हुन्छ ?

मंगलबारको बैठकमा नेकपा एमाले नामको पार्टी निर्वाचन आयोगमा दर्ता गरेको विषय र ओलीको राजीनामाको विषयमा छलफल भएपनि कुनै निर्णय भएको छैन । सम्भवतः आज ११ बजे पछि बस्ने बैठकमा केही स्थायी समिति बैठकले धारणा राखेपछि ति दुवै विषयमा निर्णय हुने नेताहरुको भनाइ छ । तर त्यसमा ओलीको जवाफ कस्तो आउछ भन्नेमा भर पर्नेछ ।

निरन्तर कुर्सी फेरबदल

नेकपाको जारी स्थायी समिति बैठकमा असार १० गते यता १६ गतेसम्म जम्मा चार दिन बैठक बस्यो । तर तीन दिन कुर्सी फेरवदल गरियो । पहिलो दिन दुई अध्यक्षलाई मञ्चमा छुट्टै कुर्सि राखिएको थियो । जसमा दुई अध्यक्षको आसन मिलाइएको थियो । नौ सचिवालय सदस्यमध्ये दुईलाई मात्रै फरक र आरामदायी कुर्सी अरुलाई सामान्य कुर्सी राखिएको थियो । यो व्यवस्थापनप्रति बरिष्ठ नेताहरु माधवकुमार नेपाल र झलनाथ खनालहरुले विरोध गरे । विरोधपछि दोस्रो दिन पुनः अध्यक्ष बस्नलाई सोफा राखियो भने सचिवालयका अरुलाई काठका कुर्सी राखियो । दोस्रो दिन पनि फरक सोफाको प्रतिवाद भयो र हटाइयो । तेस्रो दिन दोस्रो दिनकै सेटिग अनुसार बैठक चल्यो । चौथो दिनको बैठकमा मञ्च राखिएन । सबै जना तल नै बसेर बैठक चलाए । यसरी बैठकमा कुर्सीबारे निकै चर्चा र फेरवदल भइरह्यो । तर अब ओलीकै राजीनामा मागेपछि उनको कुर्सी के होला भन्ने चर्चा सुरु भएको छ ।

चर्चामा

सम्बन्धित समाचार