सरकारले लकडाउनलाई खुकुलो बनाउन युरोपियन राष्ट्र जर्जियाको नीति अपनाउने तयारी गरेको छ।
आज साँझ पाँच बजे बस्ने मन्त्रिपरिषद बैठकले लकडाउन खुकुलो पार्ने बारेमा निर्णय गर्न सक्ने स्रोतको दावी छ। यसअघि २ बजे बस्न तय भएको मन्त्रिपरिषद बैठक संसद बैठकका कारण ५ बजे सारिएको प्रधानमन्त्रीका प्रेस संयोजक रामशरण बजगाईंले सेतोपाटीलाई जनाकारी दिए।
कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)ले लकडाउन टु लुजडाउनमा जानका लागि जर्जियाले अपनाएको रणनीति अपनाउन सकिने प्रस्ताव तयार पारेको थियो।
सिसिएमसीले जर्जियामा ६ चरणमा लकडाउनलाई खुकुलो पार्दै लगिएको मोडललाई प्रस्ताव गरेको छ। सिसिएमसीले तयार पारेको त्यही प्रस्तावलाई पाँच चरणमा गर्न लागिएको स्रोतले सेतोपाटीलाई बतायो।
सिसिएमसीको प्रस्तावित जर्जिया मोडलमा पहिलो चरणमा निजी कार एवं ट्याक्सी सेवा, डेलिभरी सर्भिस र ओपन एयर मार्केट खुलाउने रहेको छ। त्यस्तै दोस्रो चरणमा निर्माण, निर्माण सामाग्रीको उत्पादन, कारवास एवं अटो सर्भिस खुलाउन प्रस्ताव गरिएको छ।
तेस्रो चरणमा मलबाहेकका खुद्रा एवं होलसेल, प्रकाशन, ओपन मार्केट खोल्ने रहेको छ भने चौथो चरणमा सपिङ मल, रेष्टुराँ, बैंक एवम् वित्तीय सेवा, ब्युटी सैलुन खोल्ने रहेको छ।
पाँचौ चरणमा क्याटरिङ एवं बजार क्षेत्र खोल्ने रहेको छ भने अन्तिम चरणमा मनोरञ्जन, खेल, होटल एवं शैक्षिक संस्थाहरु खोल्ने भनिएको छ।
६ चरणलाई पाँच चरणमा विभाजन गरिएको प्रस्तावमा एउटा चरण र अर्को चरणको समय दुई साताको अन्तर रहने उल्लेख गरिएको छ।
सिसिएमसीको प्रस्तावमा केही तलमाथि रहेपनि यसकै आधारमा मोडालिटी तय हुने स्रोतको दावी छ। सिसिएमसीले ६ चरणमा लकडाउन खुकुलो पार्ने भनेर समेत योजना प्रस्ताव गरेको थियो।