विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का अनुसार बिना लक्षण (एसिम्टोमेटिक) भएका कोरोना संक्रमितबाट भाइरसको संक्रमण कमै फैलने बताएको छ । संगठनका अनुसार प्राप्त तथ्यांकले यो कुरा पुष्टि हुन्छ । यसअघि शोधकर्ताहरुले लक्षण नभएका बिरामीमाथि आशंका जताउँदै आएका थिए । उनीहरुका अनुसार कोरोनाभाइरस नियन्त्रण गर्न लक्षण नभएका बिरामीका कारण अप्ठ्यारो भइरहेको बताउँथे ।
महामारीको शुरुवातमा लक्षण नभएपनि कोरोनाभाइरस एक व्यक्तिबाट अर्को व्यक्तिमा संक्रमण हुने प्रमाण फेला परेको थियो । यस विषयमा बोल्दै डब्लूएचओकी महामारी विशेषज्ञ डा. मारिया भान केर्खोभेले सोमबार लक्षण नभएका बिरामीबाट पनि कोरोनाभाइरस फैलन सक्ने भए पनि विश्वभरमा बढ्दै गएको संक्रमणको कारण उनीहरु नभएको बताइन् । उनका अनुसार युवा तथा स्वस्थ मानिसमा संक्रमणको लक्षण नदेखिने र देखिए पनि हल्कामात्र देखिने बताइन् ।
डा. मारियाले विश्वभरका सरकारको ध्यान संक्रमितको पहिचान गर्न र उनीहरुलाई आइसोलेट गर्नमा हुनुपर्ने बताइन् । त्यस्तै, संक्रमितको सम्पर्कमा आएकाहरुमाथि पनि निगरानी गर्न सुझाव दिइन् ।
डा मारियाका अनुसार लक्षण नदेखिएका बिरामीका बारेमा थप अध्ययन र तथ्यांक आउन जरुरी रहेको कुरा पनि औँल्याइन् ।
डा मारियाका अनुसार अहिले हाम्रो ध्यान लक्षण भएका बिरामीहरुमा हुनुपर्ने पनि बताइन् । उनले भनिन्, ‘यदी हामीले लक्षण भएका बिरामी, आइसोलसन र क्वारेन्टिनको मामिला तथा उनीहरुबाट हुने संक्रमणको मामिलामा नियन्त्रण गर्न सक्यौँ भने महामारीको आँकडा तीव्र गतिमा घट्नेछ,’ उनले भनिन् ।
स्रोत : सीएनएन