अछाम : भारत तथा जिल्ला बाहिरबाट आएकाहरुलाई राख्न स्थानीय तहहरुले सरकारी स्कुलमा बनाइएका अधिकांश क्वारेन्टाइन वर्षासँगै चुहिन थालेका छन् ।
वर्षायाम सुरुसँगै पुरानो जस्ता र अव्यवस्थित भवनमा बनाइएका क्वारेन्टाइनमा पानी चुहिँदा शंकास्पद बिरामीहरु हैरान छन् । साँफेबगर नगरपालिका ९ बुढाकोटको दुन्नाउलामा बनाइएको क्वारेन्टाइनमा बसेका शंकास्पद बिरामी निरन्जन कुँवर भन्छन्, ‘पानी पर्नासाथ छानो चुहिहाल्छ, रातभरी उठेरै जागराम बस्नुपर्छ, कोठामा झ्याल ढोका नै छैन, राति सुत्न पनि डर लाग्छ, चर्पी समेत छैन ।’
खानेपानी समेत नभएको र निगरानीका लागि कोही नआउने गुनासो गर्छन् कुँवर । दुन्नाउलाको उक्त क्वारेन्टाइनमा अहिले ६ जना बसिरहेका छन् । पानी परेपछि भल–बाढी समेत कोठाभित्रै पस्ने गरेको सुनाउँछिन् पार्वती देवी परियार । उनी १४ दिन पहिले भारतको महाराष्ट्रबाट श्रीमान्सँगै गाउँ फर्केकी थिइन् ।
‘कोठा पनि अँध्यारो, राति सुत्ने अवस्था नै छैन, पानी समेत दिने कोही छैन । पुरुषहरु त जता गएर पनी दिशापिसाब गरिहाल्छन्, समस्या महिलालाई छ,’ पार्वतीको गुनासो छ । अव्यवस्थित क्वारेन्टाइनका कारण यहाँ बस्नेहरु जेलभित्रै बसेजस्तो महसुश हुने गरेको गुनासो गर्न थालेका छन् ।
यसवाहेक कोरोना परीक्षणको रिपोर्टमा ढिलाइ हुँदा क्वारेन्टाइनमा बस्ने अवधि पूरा भइसक्दा पनि शंकास्पद बिरामीहरु घर जना पाएका छैनन् । साँफेबगर नगरपालिकाले हालसम्म कोरोना भाइरस रोकथाम नियन्त्रण तथा व्यवस्थापनमा करिब ६९ लाख खर्च भएको जनाएको छ । क्वारेन्टाइन व्यवस्थापन, राहत वितरण, स्वास्थ सामाग्री खरिद तथा आइसोलेशन निमार्णमा करिब ६९ लाख खर्च भएको साँफेबगर नगरपालिका प्रमुख कुलबहादुर कुँवरले बताए । जिल्लामा हालसम्म ६ हजार भन्दा बढी क्वारेन्टाइनमा छन् । पछिल्लो समय भारतबाट आउनेको संख्या बढ्न थालेपछि पुराना क्वारेन्टाइन अपुग हुन थालेका छन् । जिल्लामा १३ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । #अन्नपुर्ण पाेष्ट बाट साभार