धनगढी : सेती प्रादेशिक अस्पताल धनगढीले सुदूरपश्चिमका ६ जना कोरोना सङ्क्रमितहरुलाइ निको नहुँदै घर पठाएपछि गाउँमा त्रास बढेको छ। बैतडीका चार र अछामका दुई जना कोरोना संक्रमितलाई निको नहुँदै पठाइएपछि गाउँमा त्रास बढेको हो।
बैतडीको शिवनाथ गाउँपालिका वडा नम्बर १ का २० वर्षीय र २७ वर्षीय पुरुष तथा वडा नम्बर २ का २० र २२ वर्षीय पुरुषलाई घर पठाएको थियो। उनीहरु सबैलाई घरकै आइसोलेसनमा राखिएको शिवनाथ गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नरेन्द्रसिंह महताले बताए।
‘भारतबाट फर्किएका तर संक्रमण पुष्टि नभएका व्यक्तिलाई गाउँ पठाउँदा त त्रास थियो,’ स्वास्थ्य शाखा प्रमुख महताले भने, ‘अहिले संक्रमितलाई नै निको नहुँदै घर पठाइएपछि झनै त्रास फैलिएको छ। तर पनि हामीले सुरक्षा सतर्कता अपनाउँदै घरमा सुरक्षित राखेका छौ।’
उता अछामको मेल्लेख गाउँपालिकाका दुई जना संक्रमित पनि गाउँ पुगका छन्। गाउँपालिकाका अध्यक्ष लोकवहादुर बोहराका अनुसार उनीहरु दुवै जनालाई घरमै सुरक्षित बस्न भनिएको छ। ‘अस्पतालले निको नहुँदै घर पठाएपछि दुवै जनालाई घरकै आइसोलेसनमा राखेका छौ। वडाका जनप्रतिनिधिलाई नियमित रुपमा निगरानी बढाउन आग्रह गरेका छौ’ अध्यक्षले भने।
अस्पतालले कोरोना निको नहुँदै डिस्चार्ज गरेकोमा उनीहरु धनगढीमै अलपत्र परेका थिए। त्यसपछि फेरी उनीहरुलाई प्रि–आइसोलेसनमा राखिएकोमा दोस्रो दिन गाडीको व्यवस्था भएपछि अस्पतालले पठाएको थियो। #दिनेश खबर